Monday, September 19

आफ्नै नेतालाई मन्त्री आलेले ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेपछि ………..

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले फेरि विवादमा तानिएका छन् ।

आफ्नै पार्टीका नेताहरूलाई ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेर तथानाम गाली गरेपछि आले विवादमा तानिएका हुन् । एकीकृत समाजवादीले पहिले मन्त्री भइसकेकालाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेको थियो । तर, एकीकृत समाजवादीको सो निर्णय २४ घन्टा पनि टिकेन ।

यो निर्णयले सो पार्टीमा तीव्र विवाद देखियो । नेताहरू दुई ध्रुवमा विभाजित भए । झलनाथ खनाल, बेदुराम भुसाल, मेटमणि चौधरीलगायतका नेताहरू एकातिर र प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा अर्को कित्तामा उभिए।

यो विषयलाई लिएर नेताहरूबीच आरोप प्रत्यारोप चलेका बेला मंगलबार मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको दाबी गरे ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाएका छन्। ‘मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि हामीलाई तोकिएको थियो। मैले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भनेको थिएँ– हामीले त आठ महिना खान पायौँ।

दुई महिना त ग्रेसमार्क पाइसक्यौ। अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, तर हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरु चिप्ले किराहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।

मलाई कुनै मन्त्रीको लोभ छैन,’ उनले भने। आलेले आफ्नै नेताहरूलाई चिप्ले कीरा र चिप्ले चोर भनेपछि पार्टिका नेताहरु विच नै जुहारी चल्ने देखिएको छ । @ मिडिया डवली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!