Thursday, September 29

‘गरिबलाई कहिल्यै रोग नलागोस्’

१५ वैशाख, काठमाडौं ।

सुजाता सुब्बाले इलाम चुरेघाँटीमा सानो होटल चलाएकी थिइन् । उनका श्रीमान् मदनकुमार राई स्कुल बस चलाउँथे । फुर्सदको क्षणमा उनी होटलमा काम सघाउँथे ।

दुई छोराछोरीसहित उनीहरुको लागि सामान्य खर्च जोहो हुन्थ्यो । यसरी नै जेनतेन जीवन चलेको थियो । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने, जायजेथा जोड्ने, सुखको जीवन बाँच्ने सपना साँचेर उनीहरु रातदिन काममा घोटिएका थिए ।

वर्तमानमा जस्तोसुकै झमेला, दुःख, अभाव सहेर पनि भविष्य सुनौलो बनाउने उनीहरुको चाह थियो । एक दिन मदनको खुट्टाको कापमा घाउ भयो । घाउको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया गरियो । तर यसले घाउ निको भएन ।

शल्यक्रिया गरेको घाउ बल्झिन थाल्यो । सुजाताले श्रीमानलाई जिल्ला अस्पताल इलाम पुर्‍याइन् । त्यहाँ थप उपचार गरियो । औषधिपानी गरियो । अस्पतालकै दौडधूपमा दिनहरु बित्न थाले । एकातिर श्रीमान् बिरामी, अर्कोतिर आर्थिक अवस्था कमजोर ।

आयआर्जनको मेलो हरायो । बालबच्चा कसरी स्यहारसुसार गर्ने ? कसरी घरखर्च जुटाउने ? यो भन्दा पनि ठूलो चिन्ता थपियो, श्रीमानको उपचार । उपचार कहाँ गर्ने, खर्च कसरी जुटाउने ?

श्रीमानलाई रोगले झन्–झन् च्याप्दैछ । सरसापट र ऋणपान गरेर उनले श्रीमानलाई झापा दमकको आम्दा अस्पताल पुर्‍याइन् । उपचार गरियो । तर घाउ निको हुने छाँट देखिएन ।

…अनि पहाड खस्यो –  पुनः आम्दा अस्पतालमा मदनको स्वास्थ्य जाँच गरियो । यसपटक अस्पतालले भन्यो, ‘उनको स्वास्थ्यमा गम्भीर समस्या छ । पहिले जुन ठाउँमा शल्यक्रिया गरिएको हो, त्यही लैजानु ।’

अब के गर्ने, कहाँ लाने ? उनीहरुले भेउ पाएनन् । आखिरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए । त्यहाँ पनि सम्पूर्ण स्वास्थ्य जाँच गरियो । ‘त्यतिका अस्पताल पुर्‍याइयो, त्यतिका पैसा खर्च गरियो,’ सुजाताले सुनाइन्, ‘तर घाउ निको नै भएन ।’ रोगी श्रीमानलाई लिएर अस्पतालको चक्कर लगाउनुपर्दा घरबार बिथोलियो ।

अस्पतालमै रातहरु बित्न थाले । बालबच्चा के गर्दै होलान् ? सर्वत्र चिन्ताले छोप्न थाल्यो । यद्यपि, जस्तोसुकै दुःखकष्ट खेपेर पनि श्रीमानलाई निको बनाउँछु भन्ने प्रण गरिन् । श्रीमानको घाउ निको भएपछि पूर्ववत् जीवनको लय फेरिनेछ, घर–व्यवहार सोझिनेछ । उनले यस्तै सोचिन् ।

पाँच वर्ष बितिसकेको थियो, उपचार सुरु गरेको । कहिले कुन अस्पताल, कहिले कुन । जहाँ गएपनि रोग निको हुने होइन । बीपी प्रतिष्ठानले मदनको स्वास्थ्य जाँचको रिपोर्ट निकाल्यो । रिपोर्ट हेरेपछि उनीहरु छाँगाबाट खसेझैं भए, मदनलाई क्यान्सर भएको रहेछ ।

‘त्यतिका हट्टा–कट्टा मान्छेलाई क्यान्सर होला जस्तो लागेको थिएन,’ सुजाता भन्छिन्, ‘रिपोर्ट हेरेपछि मेरो त ओठमुख नै सुक्यो । संसार नै अँध्यारो लाग्यो ।’ अब के गर्ने ? उनीहरुसँग उपाय थिएन ।

त्यस अस्पतालमा क्यान्सरको शल्यक्रिया गर्न उपकरण नभएको बताइयो । उनीहरुको मन त्यसै भारी भयो । अस्पताल धाउँदा धाउँदा घरबार बिग्रिसक्यो, उपचार गर्दागर्दा ऋणको भार बढिसक्यो ।

‘गरिबले उपचार गर्न घरजग्गा बेच्नुपर्छ, बन्धक राख्नुपर्छ, तैपनि पुग्दैन,’ सुजाता भन्छिन्, ‘गरिबलाई कहिले कुनै रोग नै नलागोस् । ज्यानभन्दा पैसा ठूलो भयो ।’

दुर्लभ उपचार ! – अस्पताल धाउँदा धाउँदा यसै हैरान भइसकेका थिए । अब उपचारको लागि अस्पताल खोज्नुपर्ने अर्को चुनौती थपियो । कहिलेसम्म अस्पताल बस्नुपर्ने हो ? रोग निको हुन्छ कि हुँदैन ? कुनै टुंगो छैन । अनि टुंगो छैन, कहाँबाट यत्तिका खर्च जुटाउने ?

कतिपयले सुझाव दिए, मदनलाई काठमाडौंमा लगेर उपचार गर्नुपर्छ । कतिले सुझाए, भारतको दिल्लीमा निको हुन्छ । सुजाताले थप ऋणपान गरिन् । अनि भक्तपुर पुर्‍याइन्, भक्तपुर क्यान्सर अस्पतालमा । भक्तपुरमा पनि शल्यक्रिया गर्ने प्रविधि नभएको बताइयो ।

त्यहाँ मदनलाई किमो दिनुपर्छ भनियो । अब मदनलाई लिएर सुजाता चितवनस्थित भरतपुर क्यान्सर अस्पताल पुगिन् । भरतपुर अस्पतालमा पनि शल्यक्रिया नहुने भयो । खासमा मदनको यौनांगमा क्यान्सर फैलिएको थियो ।

यसअघि यस्तो घटना नआएकाले गर्दा उपचार नै दुर्लभ भयो । श्रीमानलाई जसरी पनि निको बनाएर मात्र घर फर्कन्छु भनेकी सुजाताको मनोबल घट्न थाल्यो । उनलाई आफ्नो संसार नै उजाडिएको अनुभव हुन थाल्यो ।

मदनलाई लिएर उनी पुनः धरान पुगिन् । त्यहाँ एमआरआई नभएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुगिन् । त्यहाँ एमआरआई गरियो । रिपोर्ट बोकेर पुनः उनी धरान गइन् । बीपी प्रतिष्ठानले मदनको रिपोर्टमा ट्युमर देखिएको र त्यसमा जम्मा भएको पानी निकालेपछि मात्रै थप केही भन्न सकिने बतायो । ट्युमरमा जम्मा भएको पानी निकालिसकेपछि मदनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

ऋण खोज्दै कहिलेसम्म उपचार गर्ने ? – यतिबेला मदनलाई पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको छ । त्यहाँ उनको शल्यक्रिया हुने भनिएको छ । मदनको उपचारका लागि आफ्नै होटल धितो राखेर १५ लाख रुपैयाँ लिएकी थिइन् ।

बीएण्डसी अस्पतालमा १२ पटक किमो चढाउँदा १८ लाख ३१ हजार रुपैयाँ खर्च भयो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उनको शल्यक्रिया गरियो । त्यहाँबाट १९ लाख ६१ हजार रुपैयाँको बिल आएको सुजाता बताउँछिन् ।

‘एकातिर ऋणको भार बढ्दै गएको छ, अर्कातिर श्रीमानको सास चाहिएको छ,’ उनी भन्छिन्, ‘उपचारमा ४० लाख खर्च भइसक्यो । तर ज्यान बचाउन अझै ऋण खोज्नुपर्ने छ ।’ आर्थिक अभावका कारण गाउँघरमा साथीभाइले चन्दा उठाएर सक्दो सहयोग गरिरहेका छन् सुजातालाई ।

जिल्ला अस्पतालदेखि झापा, धरान, काठमाडौं, भक्तपुर र ललितपुर धाउनेमा उनी एक्लै थिइन् । अस्पताल चहार्नै क्रममा उनले निकै उकुसमुकुस र सकस व्यहोरेकी छन् । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा क्यान्सर होला भन्ने सोचेकै थिएनन् मदनले ।

घरको नाजुक आर्थिक अवस्थाका कारण हरेस खाइसकेका थिए । तर सुजाताले हरेक पल उनलाई थमथमाउँदै ढाडस दिइरहन्छिन्, ‘जसरी पनि म बचाउँछु ।’ अनलाइन खवर बाट साभार गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!