Tuesday, September 20

वडाध्यक्षमा ज्वाइँ-जेठानबीच प्रतिस्पर्धा !

१४ वैशाख, बाजुरा ।

बाजुराको बडिमालिका नगरपालिका २ को वडाअध्यक्षमा ज्वाइँ-जेठान बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । ज्वाइँ डम्मरबहादुर महत नेकपा एमाले र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

२०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो पटक पनि आमने-सामने भएका हुन् । २०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित भएका थिए ।

महतले २४२ मत र कार्कीले २३६ मत ल्याएका थिए। हाल बडिमालिका-२ मा ८०२ मतदाता छन् । कार्कीकी बहिनी र महतका कान्छा भाइबीच बैवाहिक सम्बन्ध छ ।

२०७४ सालको स्थानीय चुनावको विषयलाई लिएर ज्वाइँ-जेठानको मुद्दा उच्च अदालत दिपायलसम्म पुगेको थियो । पराजित कार्कीले पुन मतगणनाको माग राख्दै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए ।

पछि उच्च अदालतले मुद्दा खारेज गरेको थियो । कार्की नेपाली कांग्रेस बडिमालिका नगर सभापतिसमेत हुन् भने महत एमाले जिल्ला कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज हुन्।

कार्कीले एक अर्काविरुद्ध चुनाव लडेकै कारण पारिवारिक सम्बन्ध बिग्रन नहुने बताए । ‘पार्टीको निर्णय अनुसार चुनाव लड्नै परयो, खुला प्रतिस्पर्धा हो’, कार्की भन्छन्, ‘चुनाव लडेको विषयलाई लिएर पारिवारिक द्वन्द्व हुँदैन ।’

महतले पनि राजनीति र पारिवारिक सम्बन्ध फरक पाटो रहेको र चुनावले पारिवारिक सम्बन्धमा असर पर्न नदिने बताए । उनीहरुले यसो भने पनि २०७४ सालको चुनाव र अदालतमा मुद्दा मामिला नै भएपछि दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको गाउँलेहरु बताउँछन् ।

पछि परिवारका अरु सदस्यबीच सम्बन्ध सुध्रिए पनि कार्की र महतबीचको सम्बन्ध भने त्यति सुमधुर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!