Saturday, October 1

किन भेटिरहेका छन् काँग्रेस नेता शेखरले ओली-प्रचण्डलाई पालैपालो ? भित्री रहश्य यस्तो !

प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित भएको दुई महिना पुग्नै लाग्दा उनीइतर समूहको नेतृत्व गरेका शेखर कोइरालाले राजनीतिक भेटघाट बढाएका छन्।

अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)मा पाँच दलीय गठबन्धन एकमत नभएको र निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति घोषणा गरेको परिस्थितिमा कोइरालाले राजनीतिक भेटघाट बढाएका हुन्।

दुई दिनअघि कोइराला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बिहीबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगे।

कोइरालानिकट स्रोतका अनुसार दुबै भेटमा एमसिसी परियोजना र स्थानीय निकायको निर्वाचनका बारेमा कोइरालाले छलफल गरेका थिए। ओली र दाहालसँगको भेटमा कोइरालाले एमसिसी परियोजनाको समय घर्किन लाग्दा त्यसमा राजनीतिक सहमति खोज्नुपर्ने र प्रतिनिधिसभामार्फत् निकास खोज्नुपर्ने धारणा राखेका थिए।

उनले नेताहरूसँग चुनावी गठबन्धनका विषयमा पनि कुरा गर्ने गरेका छन्। एमाले अध्यक्ष ओली पाँच दलीय गठबन्धन चुनावसम्म नजाओस् भन्ने चाहन्छन्। यता, दाहाल गठबन्धन तीन तहको चुनावसम्मै जाओस् भन्ने चाहन्छन्।

गठबन्धन चुनावसम्म नजाओस् र जाओस् भन्ने दलका शीर्ष नेतासँग कोइरालाको राजनीतिक भेटघाट ‘अर्थपूर्ण’ देखिएको छ। कोइराला सत्तामा निरन्तरता भए पनि चुनावसम्म गठबन्धन नजाओस् भन्नेमा प्रष्ट छन्।

दाहालसँग भेट्दा कोइरालाले कांग्रेसले चुनावमा गठबन्धन नचाहेको बताएको सँगै रहेका नेता अमरेशकुमार सिंहले बताए। ‘सत्तामा कायम रहे पनि चुनावमा कांग्रेस कुनै पार्टीसँग गठबन्धन गर्ने पक्षमा मेरो प्रष्ट धारणा छ,’ कोइरालाले दाहालसँग राखेको भनाइ उद्धृत गर्दै सिंहले  भने।

सिंहका अनुसार दाहालले कोइरालालाई तीनै तहको चुनावसम्मै गठबन्धनलाई अगाडि बढाउन सहयोग मागेका थिए। सिंहका अनुसार प्रधानमन्त्री तथा सभापति देउवाले गठबन्धनको निरन्तरता चाहिरहेका बेला इतर समूहको नेतृत्व गरेका कोइरालाले गठबन्धन नहुने सन्देश लिएर मुख्य दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

कोइरालाका यो सक्रियतामा देउवाको भूमिका मुख्य कारक मानिएको छ। निकट स्रोतका अनुसार महाधिवेशनमा पराजित भए पनि देउवालाई सहयोग गरेरै जाने पक्षमा कोइराला समूह थियो। सभापतिलाई सहयोग गर्ने आफ्नो समूहको प्रष्ट ‘म्याण्डेट’ बोकेर बसिरहेका कोइराला देउवाले कस्तो व्यवहार गर्छन् भनेर पर्खिरहेका थिए।

देउवाले कोइरालाले महाधिवेशनमा हासिल गरेको ४० प्रतिशत मतलाई सम्मान गर्ने दिशामा आएनन्, न देउवासँग फरक मत राख्ने उनको समूहका पदाधिकारीलाई नै स्वीकार गर्न सकेका छन्।

‘मिलेर जाँदा देउवाले राजनीतिक ‘स्पेश’ दिनुहोला भनेर उहाँ पर्खिरहनु भएको थियो, महाधिवेशनपछि न देउवासँग भेट भएको छ न, फोनमा कुराकानी नै,’ कोइरालानिकट एक नेताले भने, ‘आफ्नो समूहबाट निर्वाचित पदाधिकारी र उनीहरूको फरक मतलाई समेत देउवाले स्वीकार नगरेपछि उहाँले फरक ढंगले राजनीतिक ‘स्पेश’खोजेर सक्रियता बढाएको मैले बुझेको छु।’

उनका अनुसार अहिले देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलाई साथमा लिएर देउवाले जसरी छलफल गरिरहेका छन्, ४० प्रतिशत मत हासिल गरेका कोइरालालाई सम्झेका छैनन्। न पार्टीको मनोनयन हुँदा ‘सम्मानजनक’ स्थान नै देउवाले दिएका छन्।

त्यसैले पनि कोइराला देउवाको व्यवहारसँग चिढिएर छुट्टै राजनीतिक ‘स्पेश’ बनाउन लागिपरेको ती नेताले बताए। कोइराला गठबन्धनलाई साथमा लिएर कांग्रेस चुनावमा जान हुँदैन भन्ने पक्षमा  अडान लिइरहेका छन्। यसमा उनले दुई तीन थरी धारणा राख्ने गरेका छन्।

चुनाव राजनीतिक पार्टीका लागि परीक्षणको समय हो। कांग्रेस एक्लै चुनावमा जाँदा कोइरालाले राम्रो जनमत देखेका छन्। पार्टीको परीक्षण र पार्टीको एकल हैसियत के हो भन्ने जान्नका लागि पनि कोइराला गठबन्धनबेगरै कांग्रेस चुनावमा जानुपर्छ भनिरहेका छन्।

‘यो उहाँ र उहाँको समूहभित्र उठेको आवाज पनि हो र फरक मत पनि हो, यो फरक मतमा सभापति देउवाले पार्टीभित्र छलफल गर्न चाहनुभएको छैन, उहाँ एकल ढंगले गठबन्धन भन्दै हिँड्नुभएको छ,’ ती नेताले भने, ‘विधि र प्रक्रियासम्मत तरिकाले सभापति जाने नदेखेपछि उहाँले स्पेश खोज्नुभएको हो, गठबन्धनको शतप्रतिशत विरोध गर्नुभएको होइन।’

ती नेताका अनुसार स्थानीय तहकै निर्वाचनमा यसअघि पनि कांग्रेसले अरू दलसँग गठबन्धन गरेको हो। तर, शतप्रतिशत नतिजा देखिएन र कम्युनिष्टहरूसँग चुनावी तालमेल गर्दा ‘धोका’ भएकाले गठबन्धनमा जानु हुँदैन भन्ने कोइरालाको धारणा छ।

‘स्थानीय तहको निर्वाचनमा पहिले पनि कहीँकतै गठबन्धन भएको हो, त्यसरी जाने कुरामा उहाँको विमति छैन, तर सिंगो पार्टी गठबन्धनमा जाँदा आउने परिणामले पार्टी पंत्ति र कार्यकर्तामा पहिलेको निराशा नछाओस् भन्ने चाहनुहुन्छ,’ ती नेताले भने।

यसैगरी, स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै गए पनि परिणाम प्रतिकूल आए गठबन्धन अगाडि जान सक्दैन, त्यसले गठबन्धनका दलहरूसँग असमझदारी झन् बढेर जान्छ र राष्ट्रिय राजनीति फेरि अलमलमा पुग्छ भन्ने कोइरालाको विचार छ।

कोइरालाको यो विचारसँग कांग्रेस पदाधिकारी पनि सहमत छन्। कोइराला समूहबाट महामन्त्री जितेका गगन थापा पार्टीभित्र गठबन्धनलाई चुनावसम्म लैजान हुँदैन भन्ने मत बलियो रहेको बताउँछन्।

‘कोइराला समूह मात्र होइन, गठबन्धनलाई चुनावसम्म लैजानु हुँदैन भन्नेमा सभापतिजीको साथमा रहेका नेताहरू पनि हुनुहुन्छ,’ थापाले  भने, ‘त्यसकारण, समूहभित्रका सबै मतमाथि पार्टीमा छलफल होस् भन्ने चाहन्छौं।’

थापाले सिंगो पार्टीपंक्तिमा छलफल नभएकन गठबन्धनलाई एकल तरिकाले लैजाने सभापति देउवाको सोचले गठबन्धनका कसैलाई नाफा र कसैलाई घाटा भए पनि त्यसले कांग्रेस राजनीतिलाई थप क्षयीकरण गर्ला/नगर्ला भनी अहिले नै पार्टीभित्र छलफल हुनुपर्ने बताए।

‘म महामन्त्री हुँ, म हिजो जुन समूहबाट निर्वाचित भए पनि अहिले पदाधिकारी हुँ, हामीले पार्टीभित्रका सबै मतलाई समेटेर जानुपर्छ भन्ने धारणा राख्छु,’ थापाले भने, ‘शेखर दाइको सक्रियता के कसरी प्रस्तुत भइरहेको छ भन्नेतर्फ म गहिराइमा जान चाहन्नँ।’

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। बैठकमा स्थानीय निकायको चुनाव, एमसिसी, १६ जिल्लाको अधिवेशन, भ्रातृ संगठनहरूको अधिवेशनलगायत विषयमा छलफल भएको थियो।

‘बैठकमा गठबन्धनबारे कुरा उठेपछि सभापतिजीले रुलिङ गर्नुभयो, गठबन्धनको बारेमा कुरा नगर्नुस् भन्नुभयो,’ उपसभापति धनराज गुरुङले सँग भने।सेतोपाटीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!