Thursday, September 29

तनावपूर्ण बनेको मैत्रीपूर्ण खेल नेपालले जित्यो, तिन खेलाडीलाइ रातो कार्ड !

१८ माघ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।

दशरथ रंगशालामा सुजल श्रेष्ठको एक मात्र गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा झरेको मरिससलाई १-० ले हरायो ।सुजलले खेलको १०औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाए ।

सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए । लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।

१३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए । मंगलबारको खेलको म्यान अफ दि म्याच चेम्जोङ नै बने । पहिलो हाफमै नेपालले थप गोल गर्ने मौका गुमायो । ३६औं मिनेटमा तेज तामाङले करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । यस्तै ३९औं मिनेटमा दर्शन गुरुङले पुजन उपरकोटीको  फ्रिकिकमा हानेको हेडर पोष्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको अन्त्यतिर मरिससले नेपालमाथि दबाव बनाएपनि गोल भने फर्काउन सकेन । यसअघि शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले ।

दोस्रो हाफको शुरुमै मुख्य प्रशिक्षक अलमुताइरीले डेब्युटान्ट डिफेण्डर नविन गुरुङ र फरवार्ड आशिष लामाको स्थानमा मनिष डाँगी र विमल घर्ती मगरलाई मैदान पठाएका थिए । त्यसपछि पुजनले डिफेन्समा झरेर खेले । दोस्रो हाफमा सुरुवातमै मरिससले नेपालमाथि दबाब बनाएको थियो ।

५२ औं मिनेटमा मरिससका ब्राभिस रासडारिसिङको कर्नरलाई किरणले पन्च गर्दै गोलको खतरा टारेका थिए । तर त्यसमा कास्टल रोडनीले गोल गर्ने अवसर गुमाए । ६२औं मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्ने अवसर गुमाए । यस्तै ६८औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले पन्च गर्दै बचाए ।

दोस्रो हाफमा तनाव, तीन खेलाडीलाई रातो कार्ड –  दोस्रो हाफ तनावपूर्ण बन्दा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलमा तनाव हुनु दुखद भन्दै यसलाई बिर्सनुपर्ने बताए । ‘टेन्सनका लागि दुव‌ै टिमका खेलाडी ५०-५० प्रतिशत जिम्मेवार छन् ।

गेम सकियो, अब त्यो सबै कुरा बिर्सनुपर्छ । म रेफ्रीको निर्णयको सम्मान गर्छु’ उनले भने । मुख्य प्रशिक्षक अल्मुताइरीले आफूले दुबै खेल जित्ने योजनाअनुसार सफल भएको बताए । ‘आज खेलाडीले नडराई खेले । यस जितबाट फिफा वरियताका लागि १० अंक जोड्न सफल भयौं । यो हाम्रा लागि राम्रो हो’ उनले भने ।

मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले तनाव हुनुमा रेफ्रीको दोष भएको संकेत गरे । यद्यपि उनले रेफ्रीबारे आफू टिप्पणी नगर्ने भन्दै कुटनीतिक जवाफ दिए । ‘यो मैत्रीपूर्ण खेल हो । रेफ्रीको विषयमा बोल्न मन लाग्द‌ैन र मेरो खेलाडीको जिम्मा मैले लिनुपर्छ । मैत्रीपूर्ण खेल भए पनि हरेक टोलीले जित्न चाहन्छ’ उनले भने ।

शनिबार भएको खेलमा आफ्ना खेलाडी केही डराए पनि आजको खेलमा सुधार गरेको प्रशिक्षक फ्रान्कोइसले बताए । ‘हामीले राम्रो फुटबल खेल्यौं, केही अवसर पायौं तर गोल गर्न सकेनौं । हामीलाई जित्ने अवसर थियो तर स्कोर भएन’ उनले भने । खेलको अन्तिम समयमा फ्लड लाइटको बत्ती पूरा नबल्दा खेल १० मिनेट रोकिएको थियो ।

त्ययसपछि ८ मिनेटको ईन्जुरी समय थप खेलाइएको थियो । इन्जुरी टाइममा अञ्जन विष्टले पेनाल्टी बक्सबाट गरेको प्रहार मरिससका गोलकिपर मिचेलले बचाए । अनलाइन खवरको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!