Tuesday, October 4

पुरूष प्रमुख भए हाकिम, महिला भए नानी !

यमुना अर्याल काफ्ले, घटना १ – कुरा गत वर्ष कोरोना महामारी सुरू हुनुभन्दा केही दिन अघिको मात्रै हो। एक जना चिनेकै दिदीको बढुवा भयो।

दिदीलाई पहिले काम गरिरहेको शाखाबाट थप जिम्मेवारी दिएर अर्को शाखामा प्रमुख बनाएर पदस्थापन गरियो। दिदीलाई बढुवाको चिठी थमाउँदै हाकिम साबले ‘महिला प्रमुखको रूपमा तपाईंको कार्यकाल सफल होस्, आफ्नो जिम्मा राम्रोसँग निर्वाह गर्नुहोला’ भन्दै आशीर्वाद दिएछन्।

साथीभाइहरूको पनि दिदीप्रति स्वभाविक रूपमा सुभेच्छा हुने नै भयो, अझ महिला कर्मचारीहरूले दिदीलाई निकै हौसला दिएछन्। ‘म्याम महिला पनि कार्यालय प्रमुख हुन सक्छन्, उनीहरूले पनि जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने उदाहरण तपाईंले देखाउन पक्कै पनि सक्नुहुन्छ, हाम्रो तर्फबाट शुभकामना छ।’

बिदाइको क्षणमा सबै कर्मचारी, साथीभाइहरूले हौसला दिएको कुराले दिदीको मन कताकता भारी पनि भयो रे। नयाँ कार्यालयको अनुभव कस्तो रह्यो त दिदी ? एक महिनाको कार्यकाल कस्तो बित्दै छ ? समय कतिको बदलिएको पाउनुभयो दिदी ? दिदीको एक महिने कार्यकाल पूरा हुँदै थियो, अनायाशमै जिज्ञासा राखेँ।

एकछिन त दिदी खित्का छाडेर हाँस्नुभयो, ‘हेर बैनी, तिमी हामी बदलियौं होला तर हाम्रो बानी, व्यवहार बदलिएको छैन। हामीले लेखपढ गर्यौं, केही भए पनि  संसार बुझ्ने मौका पायौं तर हाम्रो सोच यति चाँडै बदलिँदैन। हामीले विगतदेखि जे कुरालाई अनुशरण गर्दै आएका छौं ती कुरा सहजै नारा र भाषणमा  सुनाएजस्तो कहाँ बदलिन्छ र ?

जागिरे दौरानमा म पनि आफ्नो फाँटको प्रमुख भएँ त्यो अलग कुरा हो तर म प्रमुख भएर मेरा आमा, हजुर आमालाई उहाँहरूको पुस्तालाई के फरक पर्‍यो त खै ? मेरी आमालाई म हाकिम भएको पत्यार लाग्दैन, तँ ठाँटिएर कहाँ हिँडेकी नानी? हाकिमजस्तो भएर हिँडेकी छेस त! मेरी आमाले मैमाथि छेँड कतिपटक हान्नुहुन्छ, अब उहाँसँग सवाल-जवाफ गर्ने कुरा भएन।

म हाकिम नै हो आमा भने पनि आमालाई सितिमिति विश्वास लाग्दैन। मेरै आमालाई आफ्नी छोरी हाकिम हो, आफ्ना छोरीजस्ता छोरीहरू पनि हाकिम बन्छन् भन्दा पत्यार लाग्दैन। यो कुराको चेत राजधानीमा त केही हदसम्म होला तर बाहिर भेगमा निकै कम छ। हाकिम भन्नासाथ पुरूष नै हुनुपर्छ भन्ने विगतदेखिको मान्यतामा केही फरक पाइएन।

दिदीको एक महिने कामको भोगाइमै समाजको पर्दा राम्रोसँग उघारिएको महसुस गरेँ। दिदी भन्दै जानुभयो, हेर बैनी, म जुन उत्साहले प्रमुख भएर आएँ, यो जिम्मेवारी बहन गर्न साँच्चिकै चुनौती रहेछ। पहिलो कुरा त महिला कार्यालय प्रमुख भएको कुरा पत्याउन पनि समय लाग्दो रहेछ। महिलाको काम, उसको कामको मूल्यांकन त धेरै परको कुरा रहेछ।

दिदीले भोगाइको पोको फुकाउनुुभयो। केही समय पहिलेको  कुरा हो। दुई तीन जना अलि पाका उमेरका पुरूषहरू अफिसको बाहिर घाम तापेर बसिरहेका रहेछन्। मेरो अफिसमा चिया पकाउने बहिनीले धेरैबेरदेखि उभिएको देखेर सोधिछन्, उनीहरूले एकमुष्ट जवाफ फर्काएछन्,’नानी, हााकिम साबलाई कुरेको हामीले।

उहाँ आउने बाटो हेरिरहेका छौं, खै कहिले आउनुहुन्छ?नानीलाई केही जानकारी छ त?’ एक जना पुरूषले प्रतिप्रश्न गरेछन्। चिया पकाउने बहिनी अवाक भइछन्। ‘हाम्रो अफिसमा हाकिम साब आएको दुई घण्टा भइसक्यो, उहाँ आफ्नो कोठामै हुनुहुन्छ। केही काम छ भने भन्नुस् म हाकिम साबलाई भन्दिन्छु’

तीन जना मुखामुख गरेछन्। बहिनीको कुराले छक्क परे कि के हो खै?  ‘दश नबज्दै हामी आइपुगेको, यही बाटो होइन र हाकिम साब आउने? खै हामीले त देखेनौं नानी?’उनीहरूलाई पत्यार नलागेपछि बहिनी मेरो कोठामा आइन्। ‘म्याम हजुरलाई भेट्न तीन जना मान्छे आइरहनुभएको छ, बाहिर दुई घण्टादेखि कुरिरहेको भन्दै हुनुहुन्छ। के गरौं?’

बहिनीको कुराले मन खिन्न भयो। तीनै जनालाई आफ्नो कोठामा बोलाएँ।तीनै जना आए। मेरो सामुन्नेको सोफामा बस्न आग्रह गरें। तीनै जना बसे। उनीहरूलाई चिया ल्याइदिन उनै बहिनीलाई भनें।उनीहरूलाई अझै पत्यार लागेको छैन कि म यो अफिसको हाकिम अर्थात प्रमुख हुँ भन्ने कुरा।चिया पिइरहेको अवस्थामा तीनै जनालाई सोधें।

‘तपाईंहरू कहाँबाट आउनु भएको? के काम थियो?’उनीहरूले आफ्नो काम बताए।फेरि पनि उनीहरूले हामी हाकिम साबलाई भेट्न आएको भने।मैले स्पष्टीकरण दिएँ, ‘यो अफिसको हाकिम मै हुँ, तपाईंको काम कहाँ पुगेको छ? कति भएको छ, म आजै बुझ्छु।’उनीहरू चिया पिउनै छाडेर मेरो मुखमा एकटकले हेरे।

‘ए ….. तपाईं पो हो हाकिम? तपाईं आएको त हामीले अघि नै देखेका थियौं। हामी हाकिम साब कतिखेर आउनुहुन्छ भन्दै बाटो हेरिरह्यौं।’ अघिसम्म हाकिम साबको खोजीमा देखिएका सेवाग्राहीहरू अब नानीको साइनो लगाउन थाले।’हेर्नु न नानी, हाम्रो यो काम अड्किएको छ, कहिलेसम्म होला? लौन पहल गर्दिन पर्‍यो।’

पुरूष प्रमुख र महिला प्रमुखप्रति हेर्ने नजर नै भिन्न भएको पाएँ। पुरूषलाई हाकिम साब तर त्यही  कुर्सीमा बस्ने त्यति नै योग्यता भएकी महिलालाई नानी भन्न थाले। आफ्नो बुवा/काका सरहका मान्छेले नानी भनेकोमा कुनै आपत्ति थिएन तर हाम्रो सोचाइको बिर्को यति साँघुरो गरी कसिदो रहेछ त्यसको बखान गर्नै सक्दिनँ।

यो उनीहरूको विगतदेखिको सोचको निरन्तरता हो। तुरून्त बदलिँदैन। यसमा दु:ख मनाउ पनि छैन तर हामीले अघि सारेका नारा, संविधानमा लेखिएका लेखोटको के अर्थ देखियो त यहाँ? व्यक्तिको पदमा पनि लैंगिकताको झल्को प्रस्टै देखेँ मैले।यो एउटा घटनामात्रै होइन,  कति जना सेवाग्राही त मेरै कोठामा आएर सोध्छन्। बहिनी हाकिम साब हुनुहुन्न भनेर !

कति जनालाई भनौं, यो अफिसको हाकिम म हो भनेर!पदको ओझ त उसको योग्यताले दर्शाउनुपर्ने होइन र? योग्यतामा पनि लिंगको कति ठूलो विभेद? दिदीको भोगाइले एकैछिन भाउन्न बनायो।’दिदी समयले सबै कुरा सिकाउँछ, तपाईं नानी, बहिनी जे/जे भए पनि तपाईंको अफिसको प्रमुख हो, समय लाग्छ मान्छेलाई विश्वस्त हुन तर पक्कै चिन्नेछन्, यो अफिसको हाकिम हाम्री दिदी नै हुन्’ भन्ने कुरा। दिदीलाई  सफल कार्यकालको शुभकामना दिएँ।

घटना २ –  सार्वजनिक सवारी बसमा यात्रा गर्दै थिएँ, चालकको सिट नजिकैको सिट खाली रहेछ, म त्यहीँ गएर बसेँ। चालक महिला हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्दै गएँ, रामेछाप घर बताउने ती महिला चालकको आँट र साहसलाई जति तारिफ गरे पनि कमै हुन्छ। उनै दिदीलाई यो पेशा अंगाल्दाको परिस्थितिबारे सोधें।

दिदी निकै खुलेर बोल्नुभयो।’मैले बस चलाउन थालेको सात वर्ष भयो बैनी। अहिले त महिला पनि चालक छन् भन्दा मान्छे पत्याउँछन्। सुरूसुरूमा कन्डक्टर भाइले मान्छे बोलाउँथ्यो, सिट प्याक नहुन्जेल गाडी रोकेर राख्थें, यतिन्जेलसम्म म नबोली बस्थें, जब म बोल्थें यात्रुहरू ट्वाँ पर्थे। ए भाइ सिट भरियो? मेरो यति कुरा सुनेर कति जना यात्रुहरू ए भाइ रोक रोक भन्दै गाडीबाट ओर्लन्थे।

कन्डक्टर भाइ सम्झाउँथ्यो, ए दाइ अब गइहाल्छ बस्नुस्। तर उनीहरू के के न भएजस्तो गरी झर्थे। बसबाट ओर्लेपछि कुरा गरेको ट्वाक्कै सुन्थें, आइमाइले यत्रो बस चलाएकी छ, कहाँ लगेर ठोकी भने के गर्ने? जे कुरामा पनि आँट गरेर हुन्छ? आइमाइले चलाएको बसमा नचढ्ने, अर्को बस आइहाल्छ नि!  यस्ता कुरा हजारौं पटक कानमा ठोक्किएका छन् तर पनि यात्रा अविराम छ।

कति जना त यसो बसभित्र चढ्ने अनि ए…. भन्दै ओर्लने पनि गरे। धेरै कुरा सुनेपछि मन पनि अतालिँदो रहेछ तर हिम्मत हारिनँ। जसरी पनि गरेर देखाउँछु भने देखाए पनि। अहिले कोही पनि यात्रु ए महिलाले पो चलाएको भनेर मेरो बसबाट झर्दैनन्। तपाईं हेर्नुस न बैनी, आधाभन्दा बढी ट्याम्पु चालक त काठमाडौंमा महिला नै छन्।

सरकारी कार्यालयका बस चालक महिला छन्, क्रेनको लाइसेन्स समेत निकालेकी छु मैले। शारिरीक रूपमा पुरूषभन्दा कुनै कुनै कुरामा कम होऊँला तर महिलाले गर्न नसक्ने भन्ने काम पक्कै छैन। अरूले कुरा सुनाए भनेर हिम्मत हार्ने होइन। मेरो श्रीमानले हौसला दिए, हामी दुवै जना गाडी चलाउँछौं, जिन्दगी राम्रैसँग चलेको छ। समाज बिस्तारै बदलिन्छ पहिले हामी र हाम्रो सोच बदलिनु जरूरी छ।

घटना ३ पोहोरसाल लकडाउन भइरहँदा पनि घर निर्माण कार्य रोकिएन। धेरैदिनदेखि इमाडोलको एउटा बन्दै गरेको घरमा सात आठ जना महिलाले मात्रै काम गरेको देखें। कम्मरमा पेटी बाँधेर, बाँसको भर्‍याङमा चढेर प्लास्टर गरेको, इँटाको गारो लगाएको, पिल्लरमा मसला घोलेर राखेको देखेपछि कौतुहलता भयो। उनीहरू भएकै ठाउँमा गएँ, भलाकुसारी गरें।

तामाङ थरकी ती दिदीले आफूहरू  कुनै पुरूषभन्दा कम नभएको हाकाहाकी बताइन्।’पुरूषसित काममा हिँड्दा थोरै पैसा दिने, काम दिनभरी गराउने, उति काम गर्ने पुरूषले बढी पाउने महिलाले कम ज्याला पाउने व्यवहारले दुखी बनायो। हामी पनि गर्न सक्छौं भनेर महिलाको समूह बनायौं र हामी यसैगरी काम गर्छौं।

कति घरमा त हामीलाई विश्वास गर्दैनन्। महिलाले कस्तो काम गर्लान् र भन्न समेत पछि पर्दैनन्। यही नजिकै दुइटा घर हामीले नै फिनिसिङ गरेको देखेपछि बल्ल यो टोलका मान्छेले पत्याउन थालेका हुन्। महिलाले इँटा र बालुवा डोकामा बोक्नेमात्रै होइन परिआएको खण्डमा घर ठड्याउन पनि सक्छन् भन्ने हामीले देखायौं’, दिदी उज्यालो मोहडामा काम लगाउँदै थिइन्।

यी केही प्रतिनिधि घटना हुन्, हाम्रो समाजमा महिलाप्रतिको दृष्टिकोण फेरिन धेरै समय लाग्छ। धेरै हदसम्म परिवर्तन आएको पनि छ तर कतिपय सहरमै महिला प्रमुखलाई बैनी हाकिम साब खै भन्ने अवस्था आउनु पक्कै पनि दुर्भाग्य हो।

महिला डाक्टर देख्नासाथ बिरामी नजाने, महिलाले चलाएका बसमा यात्रु नचढ्ने, महिलाले उडाएका जहाजमा नचढ्ने, महिलाले चलाएका स्कुलमा बच्चा नपढाउने, महिलाले बनाएका संरचनामा पत्यार नलाग्ने हो भने समाज कसरी बदलिएला र? विश्वास महिलाको काम गराइमा गर्नुस्,  उनीहरूको योग्यतामा गर्नुस् न कि उनीहरूको शारिरीक बनावटमा! सेतोपाटी डट कम बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!