Thursday, September 22

च्यातिएको सरकारी नेकपा र उस्को कथाब्यथा

नरेन्द्रजंग पिटर – च्यातिएको सरकारी नेकपाको आधिकारिक नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्थात डवल नेकपा नै हो । अध्यादेशका बाछिटालाग्दा पार्टी नै नबनी पार्टी च्यातियो । च्यातिनु र फुट्नु वा फाट्नु फरक कुरा हुन । फुटलाई दुवैपक्षले स्वीकारेनन् । तव यो डवल नेकपा नरहेर चौवर नेकपा बन्यो । जव कुनै पार्टी फुट्छन तव एकअर्कासंग सिद्दान्त, विचार, नीति, विधि, संगठानिक चरित्र फरक हुन अनिवार्य हुन्छ । च्यातिएका दुवैपार्टीको रुप, रगं, आचारविचार ब्यबहारमा कुनै फरक छैन् भने फुटेको भनिँदैन् । पूर्व एमाले र पूर्वमाओवादी भनेर छुटि्टएका पनि हैनन् । दुवैले दुवैका राम्रा-नराम्रा इतिहास स्वीकारे । दुवैको परिवारवाद, होलीवाइन, गुगलव्वाइ, सतगुरु, कृष्णानन्द पुज्न समान छन् । सिण्डिकेट राजनीति, क्लेप्टोक्रेसी, अलिगार्गी, क्रोनी क्यापिटलिजम कुनै मत भिन्नता पनि छैन् । समाजभन्दा सत्ता प्रधान भयो । च्यातिँदा आधारभूतरुपमा दुवैले कम्युनिष्टको ‘क’ समेत उच्चारण गरेनन् ।
थोत्रो राजनीतिक क्याल्कुलेटरमा हिसाव सही होस् मान्नै सकिँदैन् । सोचको नियत नाप्ने औजार त परिणाम हो । गम्भीर दुर्घटनामय मोडमा सामान्य भूल र प्रतिकृयाको आवेगमा लिईदैन् चुचुरोमा बसेकाको भूमिका देश र समाजको भाग्य र भविष्य बन्छ । नेपोलियन बोनापार्ट भन्छन्ः नायक र खलनायकको दुरी एक रौ बरावर मात्र हो । एक निमेषमै इतिहासले कोल्टेफेर्दै नायक, खलनायकमा फेरिन सक्छन् ।’ तटस्थ बसेर मझधारको मजा सधेँ हुँदैन् नाउ त किनारा लाग्छ नै । फुट्नै नपरेको गिरोहरुपी सयुक्तमोर्चा नफुटीकन पनि च्यातियो । तर, सवैसंग आफ्ना औचित्य सावित गर्ने तर्क भने हुन्छन् ।
ती कति तर्क-कुर्तक भनेर नियाल्ने चेत भने भीड बनेको पछुवासंग हुँदैन् । कोही सित्तैमा कित्ताबन्दी हुन्छन् कोही भने बजार लिलामीमा । अहिले च्यातिएको पार्टीको शेयर महंगो र तानातान छ । को, कता र कसरी कस्लाई केगर्ने भएको छ । सत्ता र शक्तिका खेल देखिँदैछ । भेडी गोठाला भेडा हराएको थाहापाउन हरेक तेस्रोदिन छेडोमा बथान पु¥याएर एकएक गरेर गन्छन् । बथानको मुलभेडो पहराबाट हामफाल्दा आफूपनि हामफालेर ज्यानदिँदै अगुवाभक्त बन्छन् । भेडा तर्क, जिज्ञाशा र आशंकाभन्दा अगुवाभक्त बनेर विश्वासिला दरिन्छन् । भेडासंस्कृति स्वीकार्न मान्छेलाई भने अत्यन्तै कठिन हुन्छ । यो दृष्य हिजोसम्मका कमरेडहरु आज भने जानी दुश्मनमा फेरिँदा न हिजो विवेक राखेर कार्यकर्ता बन्न सके, न आज । तब को,को पछुवा छन्, क-कस्को निष्ठा कता छ ! भनेर गिन्ती गर्दै पार्टी अन्तको मृत्यूपत्रमा सहिछाप गराँईदैछ । जव पार्टी विचार, सिद्दान्त, मूल्य विघटन हुन्छ तव हरेक तेस्रोदिन पछुवा गनिरहनै पर्छ ।
दृष्टिकोण, सपना र अन्दोलनले नै मूल्य र बिचारधारा जिवित राखेर मात्र संगठन बन्छन् । जव त्यो हुँदैन् प्रतिकृयाले मात्रै पार्टी फुटेपनि जुटे पनि त्यस्को कुनै अर्थ रहँदैन् । अब सरकारी नेकपाका दुवै हिस्सा पार्टी नबनेर क्रमश: प्रजापरिषदपथ अंगाल्दै छन् । इतिहासमा पहिलो संगठित राजनीतिक सगंठन प्रजापरिषदका दशरथचन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री ४ सहिद भए । सूचना चुहाएर वाक्पतिराजले घात ग¥यो । ती इतिहासका कुराभए । अब वाक्पतिराजको आवश्यकै छैन् । पार्टी नफुटी पार्टी पाटी बनेका दुवैपक्ष –तिमीलाई यस्तो मृत्यू दिने छु ताकी तिमी सहिदको दावी पनि गर्न नपाउ’ भन्ने भए ।
राजनेता बन्न कविको जस्तो हृदय, योद्दाजस्तो साहस र दार्शनिकजस्तो विवेक, चाणक्यजस्तो कुटनीति आवश्यक पर्छ । सरकारी कुर्सीमा त कति बसे र आफुलाई अजम्वरी सोचे सिहदरवार इतिहासको साक्षी छ । त्यहाँपुग्ने म्याराथुन, टिकीरहने कोशिस धेरैले गरे, गर्छन्, गर्दैछन् पनि । इतिहास भने तीनलाई देखेर खितखिताई रहन्छ । हेपिन लायक हेपिनै पर्छ । मर्न लाएक मर्नै पर्छ । कसैले पनि बाघ र भालुको बली दिदैन, मर्ने आखिर बाख्रीकै छोरो हो ।
हरेकवस्तु ध्वस्त हुन वाहिरी विषय प्रधान हुँदैन्, वस्तुभित्रै उस्को नष्टताको विउ हुन्छ । रुप शक्ति र धनमाथी हुकुम बजारिरहनु ज्यादै कठिन हुन्छ । जव संस्थाको चरित्र, विचारसंग कसैको साइनु हुँदैन् तव उस्को चोला पाखण्डमा मात्रै टिक्न सक्छ । तव शक्तिको चाबुक न्यायिक पाखन्डमा सुरक्षित हुन्छ । अंहकारले निषेध जन्माऊँछ….निषेधले फासीवाद….के पार्टी भनेको त्यस्तो जिम्वाली हो, जहाँ जिम्वालले निणर्य गर्छन र रैतीले तेस्लाइ विना छल्फल स्वीकार्न विवश हुन्छ !
.मध्यचिन्तन
१.सिद्दान्तवादीजनलाई भने संघार काटन, आश र त्रासमुक्त हुन कठिन पो बनिदिन्छ । परिवार, स्वजन एउटा जेलका महापर्खाल बन्छ । अर्कोपक्ष जुन विचार सिद्दान्त र निष्ठाले सामाजिक अन्तरविरोध हल गर्न सक्दैन त्यो पुस्तक आधार हुन्छ, धर्मग्रन्थजस्तै । पक्कै हो : त्यस्ता मान्छेले भने हुस्सुदण्ड तिर्नै पर्छ जस्ले विज्ञानको नियम थाहा पाँउदापाँउदै निमका रूखमा सुन्तला फल्छ भन्ने मिथ्या विश्वास राख्ने गर्छन् । जस्तै कंठी बाँधेको तिलकधारी भए पनि ब्वाँसो साकाहारी बन्नै सक्दैन् । उस्लाई शिक्षित हुनु धिक्कार, जो शिक्षित भएर पनि अन्धविश्वास स्वीकारेर जीवन पद्दती बनाउँछ ।
२.सरकारी नेकपा विभाजनमा यस भूसंवेदनशील देशमा बिआरआई ( भारत, अमेरकिा र युरोपियन युनियन र चीनको द्धन्द हो ।
३. कम्युनिष्ट आन्दोलन स्वय ‘कम्युनिष्टबाटै’ वेत्सेविकरण गराउने वैश्विक कम्युनिष्ट विरोधी योजनाको एउटा हिस्सा हो अभियान ।
४. सरकारका पक्षमा एमसिसि, धर्मनिरपेक्षता र संघीयता विरोधी शक्ति एक हुनेछन् । पहिलो निशाना वर्चश्वशाली तप्काको भूमिका धर्मनिरपेक्षता खारेजी बन्ने छ भने समानुपातिक चुनावी अभ्यास र संघीयता दोस्रो निशानामा पर्नेछ । नयाँ सविधान स्वीर्कानु तत्कालीन वाध्यता भनिएर अथ्याईने छ ।
अन्तमाः
–संविधान अभिभावक राष्ट्रपति र पहरेदार न्यायालय हुन्छ । संवैधानिक संरचना फितला भएका देशमा भने लोकतान्त्रिक वरवरतालाई न्यायिक वरवरताले औचित्य दिन्छ । जहाँ संरचना बलिया हुन्छन् त्यहाँ अदालत कार्यकारीको सति जाँदैन् । अवभने अध्यादेशपछिका तरंगलाई कानुनी, राजनीतिक र ऐतिहासिक अर्थमा भिन्नभिन्नै रुपले बुझिने र ब्याख्या गरिनेछन् ।
–भ्रम पार्न सक्नु, भ्रमित जनमत तयार गर्नु, भ्रमको साैन्दर्यकरण गरेर आवेग तयार गर्नु, भ्रम छरेरै आश र त्रास फैलाउनु शक्तिशालीको समकालीन राजनीतिक ‘गुण’ र सफलताका ’आधार’ बन्छन् । भ्रमका नसा पिएर निन्दा रसमा बाच्नु जति हाईसन्चो सामान्य मान्छेलाई अरू केही हुँदैन् । आलोचनात्मक चेत भए मात्र भ्रमबाट मुक्त हुन सकिन्छ ।
–यो अवस्थाको लागी म त ’अपराधी’ नै हुँ तर तपाइ पनि दोषी हो । मौनताका कसम खाँने उ, उनीहरू, तीनीहरू, वहाँहरू पनि दोषी हुन् । सुनका थालीमा आची विस्टयाउने देख्दादेख्दै पनि मौन बस्ने सवै दोषका अंशिंयार हौँ । इतिहासले प्रश्न गर्ने छः संगिन मोडमा के तिमी बाबाजीको ठल्लु हेरेर बसेका थियौ ?
–समाज वर्गिय छ, त्यसै अनुसार संंघर्ष हुन्छ र भईरहनेछ । मार्क्सले भन्नै पर्दैन् कम्युनिष्टले भन्नै परेन । मान्नुस नमान्नुस्… विश्व नियाल्नुस्, दुनिया हेर्नुस् र नेपाल बुझ्नुस् ।
–फुटेको नभै चिरिएको दुवै नेकपाको अन्तरिक सर्कुलर भने अव यस्तो होला ।
(केही अंश सामाजिक संञ्जालमा पनि प्रेसित गरेको थिँए ।)
कम्युनिष्ट आन्दोलनमा क्रान्तिको वाँकी कार्यभार उठाउने जिम्मेवारी अब हाम्रा काँधमा आएको छ । सवैमोर्चामा सेटिङ मिलाइएको छ । सवैले ध्यान दिन यो अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको हो । यो केन्द्रदेखि स्थानियतहसम्म लागु गर्न निर्देशन गरिएको छ । वाँकी थपकुरा सम्बन्धित च्यानलबाट आउनेछन् ।
१. हरेकदिन नेता, कार्यकर्ता निगरानी गर्ने ।
२. पार्टी कार्यालय कब्जा गर्ने ।
३. भिन्नपार्टीमा गएका, जानसक्नेलाई पहिला आश र त्रासमा पार्टीकरण गर्ने, नसके न्युट्रल बनाउने ।
४. दिनमा ३ पटक सामाजिक सञ्जालमा विपक्षलाई अस्लिल गालीगर्दै अगुवाभक्ति सर्टिफिकेट रिन्यू गर्ने ।
५.बलियाबाँगा कमरेडहको पदोन्नत्ति गरेर ब्यवस्थापनमा ध्यान दिँने । सुरक्षित पार्ने । कुनैपनि बेला रणमैदानमा उहाँहरुलाई उतार्नु पर्ने हुनसक्छ । तर्क,आर्दश विचार भन्दा अहिले उहाँहरुकाे महत्व बढेकोमा नेतृत्वले ध्यानदिँने ।
६. वैधानिकता र तर्क लडाई समृद्दगर्न रागदरवारी र गोदिमिडियामा लगानी थप बढाउने । तर्कहस्तक्षपले मध्यम वर्ग प्रभाति पार्न सक्छ भने चुनावलाई प्रभाव पार्ने शक्ति बाहिर छ, उ सामाजिक सञ्जाल र मिडियाबाट धारणा बनाउँछ । आस्रित परिवारको मतको निर्णयक पक्ष हो ।
७. आफुलाइ इतिहासको हकवाला सावित गर्ने ।
८. एनजियोलाइ सकृय पार्ने ।
९. संङ्घियता र धर्मनिरपेक्षता विरोधीशक्तिसंग सयुक्त मोर्चा तयार गर्ने ।

(थप निर्देशन (केन्द्रिय सदस्य र जिल्ला सचिवालयसम्म मात्र)
–गाँउपालिका, नगरपालिका, माहानगरपालिका र प्रदेश सरकार आफनो पक्षमा पार्ने । नसके भिन्न शक्तिसंग मिलेर नयाँ समिकरण तयार पार्ने । बागमति र कर्णार्लीमा भेल बग्न सक्छ । १ नंवरमा पनि अभ्यास भैसक्यो । होसियारी भएर रणनीति तयार गर्ने । त्यहीँको अवस्था हेरेर अविश्वास प्रस्ताव अघी बढाउने वा रोक्ने । आफुले दिएका, संरक्षण गरेका वा सिफारिस गरेका सवै निजामति र सुरक्षातन्त्रलाई कलामय उपयोग गर्ने । न्याय, कानुन र अख्तियार, प्रशासनको सेटिङ मिलाउने ।
–काभ्रे, सिन्धुली, लम्जुंग, चितवन र कैलालीबाट शिक्षा ग्रहणगर्दै कार्यालय कब्जा र तालाबन्दी अभ्यास थाले हुन्छ ।
–आर्थिक स्रोत संगठनको आत्मा शक्ति हो । अव सिद्दान्त आर्दशले नभै राजनीति ब्यबसाय बनिसकेकोले पार्टी अर्थतन्त्रले चल्छ । त्यसलाई विपक्ष्ले प्रयोग गर्नु पहिला आफुले पहल लिँने । तर कुरा र नारामा भने कम्युनिष्टकै उठाउने ।
–आन्दोलन, कार्यक्रम अन्य पक्षको तिथीमिती पहिल्यै आफुले उछिन्ने । युद्धको नियम नै होः जो पहल, वह सिकन्दर । पार्टिको विशेष अवस्था, प्रतिकृयावादी शक्तिको चलखेल, राष्ट्र र कम्युनिष्ट आन्दोलन, सहिदले देखाएको मार्गनिर्देशन, झापा किसानबिद्रोहदेखी जनयुद्द, जनआन्दोलनको मर्म ख्यालगर्दै केन्द्रिय कमिटीको सारखिज्दै सवर्सम्मत तरिकाले कमरेड अध्यक्षको निर्देशनअनुसार यो कडाईपूर्वक लागु गर्न गराउन अपानी जारी गरिएको छ । लालसलाम ।
आज्ञाले कार्यालय सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!