Monday, October 3

संघर्षको कथा : ‘हेर्नुस् त, हिजोको बाख्रा गोठालो पनि सांसद बन्यो !’

१३ माघ, पोखरा । गत पुस १९ गते भुवन सुनार डुम्रे बजारमा गोरखा पालुङटार जाने गाडी कुर्दै थिए । मोबाइलको घन्टी बज्यो । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको फोन रहेछ ।

फोन उठाएपछि पाण्डेले भने, ‘भुवन कमरेड तपाईंलाई गण्डकी प्रदेशमा गठबन्धनको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार बनाउने पक्कापक्की भयो । बधाई छ ।’ भुवन अक्मकाउँदै बोले, हवस् धन्यवाद । भुवन जहाँको तहीँ उभिइरहे तर मनमा भने एक साथ धेरै कुरा खेले । बाल्यकालमै आमा गुमाएपछि आफूलाई हुर्काउन बाबुले बगाएको पसिना रुझे ।

बाल्यकालदेखि नै आँगन नाघेपछि शुरु हुने विभेदका चौघेरा सम्झे । बर्खामा गोठालो र खेतीपाती गर्दै हिउँदमा मात्र पढेर कखरा चिनेको दृश्यहरु नाचे । समाजमा दलितले भोगेको उत्पीडनका घाउहरु पनि दुखे । सबै खाले विभेदको अन्त्य गर्न भन्दै विद्रोहको मुठी उचालेर कम्युनिस्ट पार्टीमा होमिएको जोशिलो युवा उनीभित्र जाग्यो ।

नजिकैबाट नियालेर गएको मृ,त्युलाई सम्झिए । पार्टीभित्र आएको विचलनले आफैंलाई विचलित गराएको क्षण पनि सम्झे । मनमनै गमे, ‘पिँधको मान्छेको पनि पालो आउँदो त रहेछ ।’ माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्यको दाबी खेर गएपछि खिन्न भएर पुस १९ गते भुवन घर फर्किँदै थिए ।

भोलिपल्टै राष्ट्रिय सभाको निर्वाचनका लागि पोखरामा मनोनयन दर्ताको कार्यक्रम थियो । माओवादी गण्डकी प्रदेश अध्यक्ष पाण्डेले काठमाडौं नै फर्कन भनेका थिए । तर, अर्का उम्मेदवार सुरेश आलेले फोन गरेर भने, ‘तपाईको उम्मेदवारको टिकट पनि मै लिएर आउँदै छु । त्यतै बस्नू ।’ भुवन डुम्रेमै रोकिए ।

माओवादीले गठबन्धनबाट उम्मेदवार बनाएको खबर बाहिरिएसँगै कहिल्यै फोन नगर्ने, नसम्झिनेहरुले पनि फोन गरे । ४० वर्षभन्दा लामो समयदेखि कम्युनिस्ट आन्दोलन तथा विभेदविरुद्ध संघर्ष गरेका भुवनलाई लाग्यो, ‘हामीजस्तै दलित, उत्पीडितहरुको पनि दिन आउँछ भनेर त ज्यानको बाजी राखेर आन्दोलन गरेको हो ।’

दलित मुक्तिको लडाईं लडेका भुवनलाई माओवादीले दलित कोटाबाटै राष्ट्रिय सभाको उम्मेदवार बनाएको थियो । ५ दलीय गठबन्धन भएकाले जीत करिब निश्चित थियो ।राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम आउनुअघि निर्वाचन कार्यालयमा अनलाइनखबरसँग गफिएका भुवन घरि विद्रोही सुनिए त घरि भावुक बने ।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट दलिततर्फको सदस्यमा भुवन सुनार निर्वाचित भए । भुवन उम्मेदवारी मनोनयनपछि जनप्रतिनिधि र शुभेच्छुकहरुलाई भेटेका थिए । उनीहरुले भुवनलाई सुनाएछन्, ‘माओवादीले कहिलेकाहीँ त साँच्चिकै राम्रो निर्णय गर्छ । यत्रो वर्ष संघर्ष गरेको भुवनलाई टिकट दिएर न्याय गर्‍यो ।’

यी घटना सुनाउँदै गर्दा भुवन भावुक बने । ‘म त गाउँको गरिब, किसानको छोरो हुँ । बाउले दुख गरेर हुर्काए, म क्रान्ति भनेर हिँडें,’ भुवन भक्कानिएँ, ‘हिजोको बाख्रो गोठालो आज सांसद बन्यो ।’ ६८ वर्ष पहिले पालुङटार बरसारेमा जन्मिएका भुवनले ९ वर्षकै उमेरमा आमा गुमाए । आफूसहित ३ सन्तानलाई हुर्काउन उनका बाबुले निकै दुख कष्ट भोगे ।

‘बुबाले कहिलेकाहीँ सुनको काम पनि गर्नुहुन्थ्यो । तर, परिवारको अवस्था दयनीय थियो,’ भुवनले भने, ‘पढ्नसमेत धौ धौ थियो । हिउँदमा पढ्ने र बर्खामा काम गर्ने गर्नुपर्थ्यो ।’ घर नजिकै लुइँटेलमा अमरज्योति मावि थियो । जुन स्कुलमा बाबुराम भट्टराईले पनि पढेका थिए । तर, त्यहाँ पढ्न उनलाई सम्भव भएन ।

त्यहाँ तोकिएको समयमा भर्ना हुनुपर्थ्यो, तोकिएकै समयमा फी तिर्ने र तोकिएकै समयमा स्कुल जानुपथ्र्यो । जुन भुवनको परिवारका लागि असम्भव जस्तो थियो । गाउँ नजिकै पर्ने गाइखुरम लक्ष्मी मावि नामको अर्को स्कुल थियो, जुन स्कुलमा कहिलेकाहीँ नजाँदा पनि कारबाही हुँदैनथ्यो ।

‘८/९ कक्षामा पुगेपछि बल्ल अब त पढ्नुपर्छ भनेर ठूलो मिहिनेत गरें,’ भुवनले सुनाए, ‘२२ वर्षको उमेरमा बल्ल सेकेण्ड डिभिजनमा एसएलसी पास भएँ ।’ एसएलसी पास हुँदासम्म उनीभित्र विद्रोही भाव जागिसकेको थियो । घरको आर्थिक अवस्थाका कारण जागिर खानुपर्ने बाध्यता थियो ।

एसएलसी पास भएलगत्तै कतै पढाउन पाइन्छ कि भनेर जागिर खोजी गरे । भुवन आफैं जिल्ला शिक्षा कार्यालयमा गएर जिल्ला शिक्षा अधिकारीलाई भेटे । गोरखाको मध्य हिमाली क्षेत्र लापु (हाल धार्चे गाउँपालिका)को कालरात्री प्राविमा पढाउने अवसर पाए ।

पञ्चायती शासन थियो, तर गाउँमा कांग्रेस नै धेरै थिए । तर भुवन भने कम्युनिस्ट समर्थक । विभेद अन्त्य कम्युनिस्ट पार्टीले मात्र गर्छ भनेर उनी मोटो मशालको समर्थक बनेका थिए । गाउँमा आँखाको तारो बने । शिक्षण छाडेर उनी साथीहरुसँगै छिमेकी जिल्ला लमजुङ सुन्दरबजारको कृषि क्याम्पसमा पढ्न भर्ना भए ।

‘कृषि क्याम्पसमा भर्ना भएर विद्यार्थी संगठन बनाउने, आन्दोलन गर्ने अगुवा भएँ । अनेरास्ववियु छैटौंबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव पनि भएँ । विद्यार्थी राजनीतिकै लागि भनेर संगठनले फेरि हेटौंडा फरेस्ट्री क्याम्पस पुर्‍यायो,’ भुवनले सुनाए, ‘फरेस्ट्रीमा आइएस्सी सकेर डिप्लोमा पढ्ने तयारी गर्दै थिएँ ।

संगठन पनि बनाउने र जागिर पनि खाने भनेर फेरि नमूना मछिन्द्र क्याम्पस लगनखेलमा कमर्समा भर्ना भएँ ।’ मछिन्द्र क्याम्पस लगनखेलमा उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति बने । त्यसपछि उनी थप अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपूर भर्ना भए ।

त्रिभुवन विश्वविद्यालयमा भएको आन्दोलनमा झडप हुँदा उनले नराम्ररी कुटाइ खाए । त्रिविबाट स्नातक पढाइ पूरा गरेर उनी गाउँ फर्किए । ‘२०३६ सालदेखि नै कम्युनिस्ट विचार धारासँग नजिक भएँ । २०४० सालदेखि ५० सालसम्म विद्यार्थी राजनीति गरें । एकता केन्द्र हुँदै २०५१ सालपछि भने माओवादीमा नजिक भएँ,’ भुवनले ती दिन सम्झे ‘त्यसपछि पार्टीसँग आवद्ध भएर दलित मुक्तिको आन्दोलनमा होमिएँ ।’

दलितहरुको संयुक्त संगठन मुक्ति समाजमा भुवन पनि आवद्ध थिए । भुवनले वर्ग युद्धलाई समर्थन गर्थे तर मुक्ति समाजले त्यसलाई स्वीकारेन । त्यसपछि माओवादी निकटको गोरखामा दलित मुक्ति मोर्चाको गठन गरेर उनी संस्थापक बने ।

बाल्यकालमै विभेद खेप्नुपर्दा विद्यालयको बनभोजमा आवाज उठाउँदा झडप भएको घटना भुवनको मनमा ताजै थियो । पाइलैपिच्छे भोग्नुपरेको विभेदका विरुद्ध भुवनले आवाज उठाउने र विद्रोहको नेतृत्व गरे । दलित मुक्ति मोर्चाको नेतृत्व गर्दा विभेद विरुद्ध लडेका २ वटा प्रतिनिधि घटना भुवनले सुनाए ।

२०५० सालको कुरा हो । त्यो बेला एक जना गोपाल परियार नाम गरेका व्यक्तिको मृ,त्यु भएको रहेछ । गोरखा कालिका मन्दिरमा प्रवेश गर्न खोज्दा उनको हत्या भएको चर्चा थियो । ३ सय वर्षदेखि दलित परिवारले कालिका मन्दिरमा प्रवेश र पूजा गर्न पाएकोमा भुवन पहिलेदेखि नै उकुसमुकुस थिए ।

मन्दिर प्रवेश गर्न खोज्दा ज्यानै गएको हुन सक्ने हल्लाले भुवनलाई अझै नराम्रोसँग हल्लायो । दलित मुक्ति मोर्चा गोरखाबाट भुवनकै नेतृत्वमा दलित अगुवाहरुले निर्णय गरे, ‘कालिका मन्दिरमा प्रवेश र पूर्जा गर्ने । कसैले अवरोध गरे, त्यसको सामना गर्ने ।’ उनीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई योजना सुनाए ।

‘अझै पनि हामीभित्र डर थियो, प्रवेशमात्रै भन्दा अझै अवरोध होला भनेर पूजा गर्ने भनेर कार्यक्रम जोडेका थियौं,’ भुवनले त्यो अभियान सम्झिए । उनीहरु गोरखा दरबार पुगे तर उनीहरुमाथि अवरोध भयो । दरबार प्रमुखले यो/यो क्षेत्रमा प्रवेश गर्न नदिने भनेर चिठी नै लेखे । त्यो चिठीका विरुद्ध भुवनहरुले धावा बोल्दै खबर पठाए, ‘ठीक १५ दिनपछि मन्दिर प्रवेश गर्न आइन्छ ।’

यो विषय सञ्चार माध्यमबाट सार्वजनिक भए । गोरखा, तनहुँ, कास्की, स्याङ्जा र चितवनसम्मका मानिसहरुले साथ दिए । ठूलो जुलुससहित मन्दिरमा गएका थिए तर झडप हुने परिस्थिति सिर्जना भयो । प्रहरी परिचालन भए । मानव अधिकारकर्मीहरु पनि आए । दलित मुक्ति मोर्चा केन्द्रीय कमिटीले पनि मन्दिर प्रवेशको कार्यक्रमलाई लिएर अभियानै चलायो ।

झडपको स्थिति बनेपछि प्रशासनले नै समन्वय गर्‍यो र भन्यो, आजदेखि दलित समुदायलाई मन्दिर प्रवेश र पूजा गर्न दिनुपर्छ । ‘त्यहाँदेखि नै गोरखा दरबारस्थित कालिका मन्दिरमा ३ वर्षदेखिको विभेदको पर्खाल भत्काइयो,’ भुवनले भने, ‘यस्ता थुप्रै विभेदका विरुद्ध लड्नुपर्‍यो । पाइलैपिच्छे अपमान सहनुपर्‍यो र अझै पनि आन्दोलन जारी छ ।’

भुवनले दलितमाथि भएको अर्को विषय सुनाए । गोरखामा दिलमाया परियार (नाम परिवर्तन) नाम गरेकी एक किशोरीको नेपाली सेनामा कार्यरत एक सिपाहीसँग प्रेम सम्बन्ध भयो । अधिकारी थरका ती सिपाहीसँगको सम्बन्धबाट परियार गर्भवती भइन् । गाउँका मान्छे सजिलै पुग्न नसक्ने काठमाडौंको एक ठाउँमा लगेर दिलमायालाई राखेछन् ।

बच्चा जन्मिइसकेपछि दिलमायाकी आमालाई गाउँबाट बोलाएर नेपाली सेनामा कार्यरत अधिकारी थरका ती व्यक्तिले आफू केही समयपछि लिन आउने भन्दै छोरीको स्याहार गर्न जिम्मा लगाए । तर, एक/डेढ वर्ष हुँदा पनि नआएपछि दिलमाया नेपाली सेनाको सम्बन्धित गणमा पुगिछन् ।

त्यहाँ ती अधिकारी थरका व्यक्तिले आफू परिवारको एक्लो छोरो भएको र स्वीकार्न गाह्रो पर्ने भएकाले बरु आवश्यक रकम दिने भन्दै कागज गराएछन् । ‘अधिकारीसँग मैले विवाह गरेको होइन, हेटौंडाका रामबहादुर परियारसँग विवाह गरेको हुँ भन्न लगाएर ५० हजार रुपैयाँ दिएर कागज गराएर आमाछोरी पठाएछन् । गाउँमा आएपछि एक कान दुई कान मैदान भयो,’ भुवनले त्यो घटना सम्झिँदै भने, ‘मेरै नेतृत्वमा आन्दोलन गर्‍यौं ।

कागज बदर गराएर यो मुद्धालाई अदालतसम्म पुर्‍यायौं र पछि अदालतले नाता कायम गरिदियो ।’ दलित परिवार कसरी उत्पीडनमा पारिरहेका छन् र दलितलाई कसरी पशुसमान व्यवहार हुन्छ भन्ने यो उदाहरण भएको भुवनको भनाइ छ ।भुवन विभेदविरुद्धको आन्दोलनमा दलित मुक्ति मोर्चाका माध्यमबाट सक्रिय थिए । २०५५ सालमा कार्यक्रमको तयारी गर्दै गर्दा उनी पक्राउ परे । गोरखाबाट भैरहवा जेलसम्म पुर्‍याएर २ वर्ष जेल जीवन भोगेपछि छुटे ।

तर, माओवादीको पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत भए । २०६० सालतिरको कुरा हो । गोरखाको स्यामराङ भन्ने ठाउँमा माओवादीले केही व्यक्तिलाई ‘जनकारबाही’ गरेर जनतालाई बुझाउने कार्यक्रम राखेको थियो । नेपाली सेनाले घेरा हालिहाल्यो । सबै जनाको भागाभाग भयो ।

‘म पनि भाग्दै थिएँ, पछाडिबाट ड्याम ड्याम गोली हान्न थालिहाल्यो । कानको छेउछेउबाट चुइयँ गोली जान्थ्यो’ भुवनले भने, ‘कसोकसो गरी छेल पार्दै मर्कै बारी भित्रभित्र भागें । मकैबारीभित्र पानी थियो र मलाई भेट्न सकेनन् र बाँचें ।’ माओवादी लडाकु र सेनाको भने झडपै भयो । भोलिपल्ट ४ जनाले ज्यान गुमाएको उनले खबर पाए ।

जनताको घरदैलामा पुग्ने र संगठन बनाउने अभियानमा उनी थिए । भूमिगत कालमा थुप्रै पटक उनले नजिकैबाट साथीको मृत्यु देखे, आफू भने नेपाली सेनाको पञ्जाबाट फुत्किन सफल भए । माओवादी शान्ति प्रक्रियामा आएपछि सर्वहारा वर्गको उत्थान हुन्छ, उत्पीडित वर्गले न्याय पाउँछन् भन्ने भुवनलाई पनि विश्वास थियो ।

विभेदको अन्त्य नै हुन नसकेपछि बोल्न सक्ने र राजनीतिक चेत बढ्नुको मुख्य कारण भुवन जनयुद्धलाई नै मान्छन् । तर, कम्युनिस्ट आन्दोलनले सोचेजस्तो नतिजा हात पर्न र पार्टीलाई बचाउन नसक्दा उनलाई दिक्दार लागिरहन्थ्यो । माओवादी आन्दोलन छिन्नभिन्न र सर्वहारा वर्गले भन्दा अरुले नै बढी फाइदा लिँदा उनी पनि विचलित थिए ।

मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवहरु मओवादीबाट अलग भए । डा. बाबुराम भट्टराईले पनि माओवादी छाडे । माओवादीभित्र वैचारिक संघर्ष चल्दा भुवन डा. भट्टराईका समर्थक थिए । डा. भट्टराई प्रधानमन्त्री भएका बेला भुवन राष्ट्रिय दलित आयोगको सदस्य सचिवसमेत भएका थिए । भट्टराईले नयाँ शक्ति पार्टी निर्माण गर्दा भुवन पनि त्यही पार्टीमा जोडिएका थिए ।

‘बाबुराम भट्टराईलाई सधैं आदर्श मानें तर कम्युनिस्ट पार्टी नरहने भनेपछि फेरि माओवादीमै फर्किएँ,’ भुवनले भने, ‘जीवनको ऊर्जाशील समय कम्युनिस्ट बनेर बिताएँ । केही नपाउँला ठीकै छ, कम्युनिस्टमै लाग्छु भनेर आएँ ।’ नेताहरुले जनताको भरोसा जोगाइराख्न नसके पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्म निरपेक्षताजस्ता उपलब्धी जनयुद्धकै जगमा प्राप्त भएको भुवन बताउँछन् ।

नेताहरुको दैनिकी सत्तामा पुगेपछि फेरिएको देख्दा उनलाई पनि झोंक चल्थ्यो । जुन विश्वासका साथ युद्धमा होमिएका थिए, आफूजस्ता पिँधमा रहेका मानिसको अवस्था नफेरिएकोमा चिन्ता छ, उनलाई । सत्ता र नेतृत्वमा पुगेकाहरुले जनताको पक्षमा काम गर्न नसकेको दुखेसो भुवनको पनि नभएको होइन ।

‘विभेद र उत्पीडनविरुद्ध र सर्वहारा जनताका पक्षमा अझै आन्दोलन रोकिएको छैन । हामीले लडेर ल्याएको व्यवस्थामा बल्ल मजस्तो भुँइमान्छेको पनि पालो आएको छ,’ भुवनले भने, ‘केही त भएकै छ, हेर्नुस् न यो हिजोको बाख्रा गोठालो पनि सांसद बन्ने दिन आयो । म सांसद बनेर पनि कति गर्न सक्छु थाहा छैन तर अन्याय, विभेद र उत्पीडनका विरुद्ध बोल्छु ।’अनलाइन खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!