Friday, October 7

गुल्मीमा कोरोना सङ्क्रमण तीव्र, तर जिल्लाकै एकमात्र परीक्षण प्रयोगशाला भने बन्द !

तिलाचन पाण्डे  तम्घास, माघ ६ । गुल्मीमा दैनिक रुपमा कोरोना बढ्दो क्रममा छ । गुल्मीका गाउँ बस्तीहरुमा अहिले कोरोना फैलिएको छ ।

तर, गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने रकम अभावका कारण बन्द छ । स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।

गुल्मीकै २ शक्तिशाली तत्कालीन केन्द्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बराल हुँदासमेत गुल्मीको कोरोना परीक्षण प्रयोगशालाले स्थायित्व नपाउनु दुःखद् भएको गुल्मेलीहरुले बताउँदै आएका छन् ।

दैनिक रुपमा एक सयको हाराहारीमा स्वाब परीक्षण गर्दा कर्मचारीदेखि सबै व्यवस्थापन गर्नका लागि न्यूनतम मासिक ४० लाख रुपियाँ खर्च लाग्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर पच्याले बताउनुभयो ।

संघ वा प्रदेशबाट अर्थात् कहिकतैबाट रकमको जोहो नभएसम्म प्रयोगशाला सञ्चालनमा ल्याउन नसकिने पच्याको भनाइ छ । जिल्लामा रहेको सम्पतिको संरक्षण र सञ्चालन गर्नु सबैको दायित्व भएकाले जिम्मेबारीबाट कोही पनि पन्छिन नहुने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।

गुल्मी अस्पताललाई मात्रै भार बोकाउन नहुने भन्दै यहाँका स्थानीय तह, प्रदेश र संघ सबैको सहयोगले परीक्षण प्रयोगशाला अबवलम्ब सञ्चालनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । गुल्मीमा बिहीबार मात्रै ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशपति आचार्यले जानकारी दिनुभयो । सङ्क्रमणका कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ । जिल्लामा २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव गर्नमा जिल्ला प्रशासन कार्यालय गुल्मीले रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!