Friday, September 30

एमालेलाई माधव नेपाल : सिंहदरबारमा स्वीकार, बानेश्वरमा अस्वीकार !

२९ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संघीय संसद निरन्तर अवरोध गरेको तीन महीना पुग्न लाग्यो । २३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि सँगै २८ मंसिरबाट सुरु भएको चालू अधिवेशन पनि एमालेले अवरुद्ध गर्दै आएको छ ।

यति लामो समय एमालेकै कारण संसद चल्न सकेको छैन । यसको एउटै कारण हो- नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व अस्वीकार । एमाले फुटाएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि  प्रमुख प्रतिपक्षीले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

एमाले सांसदहरुले नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरुलाई ‘गैरसांसद’ को संज्ञा दिँदै आएका छन् । उनीहरुले संसदमा लगाउने नारा हो, ‘गैर सांसदलाई प्रवेश निषेध गर !’ एमालेले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरेको संसद भवनस्थित नयाँ बानेश्वरमा मात्रै हो ।

मिनी संसदको रुपमा चिनिने संसदका विषयगत समितिमा भने एमाले सांसदहरु आफूले गैर सांसद भनेकाहरुसँग बैठक बसिरहेका छन् । एकीकृत समाजवादीका सांसदलाई ‘माननीयज्यू’ र मन्त्रीलाई ‘मन्त्री ज्यू’ भनेर सम्बोधन गर्छन् । एकले अर्कोको अस्तित्व स्वीकार गर्छन् र सवालजवाफ चलिरहेको हुन्छ ।

समितिमा निर्देशन दिने, संसदमा टिक्न खानै नदिने

एमाले र एकीकृत समाजवादीका सांसदहरबीच नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पानी बाराबारको अवस्था त्यहाँबाट बाहिर निस्किएपछि रहँदैन । एमाले सांसद कृष्णभक्त पोखरेल सभापति रहेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले संसदको बिजनेश अघि बढाउन संसद र सरकारलाई निर्देशन नै जारी गर्‍यो ।

८ पुस २०७८ मा बसेको समिति बैठकको निर्णयको ड्राफ्ट समिति सदस्यहरुलाई सुनाउँदै सभापति पोखरेलले भनेका थिए, ‘सरकारले चाहेका विषय अगाडि बढाएकै छ । त्यसकारण नागरिकता विधेयकलाई तुरुन्त अघि बढाउन सरकारलाई भनौं ।’

सभापतिको भनाइमा समर्थन जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका समिति सदस्य देव गुरुङले भने, ‘संसदको अवरोध खोल्न निर्देशन जारी गर्ने कि ! यसो गर्दा निर्देशन कार्यान्वयन हुन्छ ।’

लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले थपे, ‘संसदै नचलेको अवस्थामा विधेयक अगाडि बढाउ भनेर मात्रै बढ्दैन । संसद खोल्न भन्दा के हुन्छ ?’

नेकपा एकीकृत समाजवादीका सांसद समिना हुसेनले प्रश्न गरिन्, ‘संसदको अवरोध कायमै राखेर कसरी नागरिकता जस्ता महत्वपूर्ण विधेयकहरु अगाडि बढ्छ ? जनसरोकारको विषय उठाउन नपाइने, कोरोना महामारी लगायतका तत्कालका विषय उठाउन नपाइने ? पहिला संसदको ढोका खोल्न पर्‍यो ।’

सभापति पोखरेलले जवाफ फर्काए, ‘माननीयज्यूहरुको भावनासँग सहमत हुन सकियो । तर लिखित गर्न मिलेन ।’ यसरी सिंहदरबारभित्र एमालेलाई नेकपा एकीकृत समाजवादीका सांसदहरुको अस्तित्व स्वीकार्न केही अप्ठ्यारो देखिँदैन ।

बरु सभापति पोखरेलले संसदको अवरोध खोल्नुपर्ने सांसदहरुको भनाइमा भावनात्मक समर्थन जनाए र, समितिबाट निर्णय गराए, ‘नागरिकता विधेयक छिटोभन्दा छिटो अघि बढाउन सरकारलाई निर्देशन दिने ।’

तर, आफैं संसद अवरोध गर्ने, आफैँ संसदको बिजनेश अगाडि बढाऊ भन्ने प्रवृत्तिलाई एमाले चरित्रको संज्ञा दिन्छन् नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ । ‘एमालेको चरित्र भनेको जनतालाई झुक्याउने हो भन्ने धेरै प्रमाणहरुमध्ये एक हो यो,’ श्रेष्ठ भन्छन्, ‘एकातिर संसदलाई बन्धक बनाउने र अर्कोतिर अर्कोतिर जनता झुक्याउन नागरिकता विधेयक अगाडि बढाऊ भनेर निर्देशन जारी गर्ने । यस्तो चरित्र इतिहासमा विरलै देख्न पाइन्छ ।’

गैरसंसदीय अभ्यास –  एकीकृत समाजवादीका सांसदहरुलाई मिनी संसदमा स्वीकार्ने, तंसदमा अवरोध गर्ने एमालेको द्वैध चरित्र भएको भन्दै आलोचना हुन थालेको छ ।

राजनीतिक विश्लेषकहरुको बुझाइमा चुनावसम्मै संसद अवरोध जारी रहन्छ भन्ने एमाले चरित्र संसदीय मर्यादा विपरीत हो । ‘उसले जे भन्यो त्यही हुनलाई एमालेको पेवा हो र संसद ?,’ संविधानविद विपिन अधिकारी भन्छन्, ‘संसदलाई सार्वजनिक हितका लागि प्रयोगमा ल्याउनुपर्छ । यसका लागि एमाले जिम्मेवार हुनुपर्छ ।’

राजनीतिक विश्लेषक विष्णु दाहाल एमाले जसरी पनि संसद विघटन सही थियो र पुनःस्र्थापना गलत थियो भन्ने देखाउने ध्याउन्नमा रहेको बताउँछन् । मिनी संसदमा जाने तर, संसदमा अवरोध गर्ने एमाले चरित्र सांसदहरुको भत्ता र सेवा सुविधासँग पनि जोडिएको बताउँछन् । भन्छन्, ‘संसदीय विषयगत समितिमा गएर नारा लगाउने कुरा भएन । बैठकमै नगए भत्ता आउँदैन । संसदमा त गएर हाजिर लगायो, नाराबाजी गर्‍यो, भत्ता पाकिहाल्छ ।’

बैठक अवरुद्ध गर्ने, तर भत्ता बुझिरहनु अनैतिक काम हुने विश्लेषकहरुको बुझाई छ । ‘संसद बैठक बस्यो कि बसेन भन्ने हेरर सांसदहरुको सेवा सुविधा तय हुन्छ, संसदले काम गर्‍यो कि गरेन भनेर हेर्ने कुनै मापदण्ड छैन,’ विश्लेषक दाहाल भन्छन्, ‘सुविधा कामका लागि हुनुपर्ने हो । तर, सुविधा लिन्छ, काम गर्दैन ।’ अनलाइन खवरको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!