Thursday, September 29

आधा दशक विदेशमा बिताएका क्षेत्रीको लोभ लाग्दाे अदुवा खेती !

छविलाल पाण्डे,बुर्तिवा : बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्बाङका अमरबहादुर क्षेत्रीले पाखोबारीमा अदुवा उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

करिब एक दशकसम्म वैदेशिक रोजगारीमा बिताएका क्षेत्रीले पछिल्लो समय गाउँमा अदुवा खेतिमा गर्दै आएका छन् । ढोरपाटन क्षेत्रमा पछिल्लो समय कृषि पशुपालन तर्फ आकर्षण बढ्दै जाँदा क्षेत्रीले समेत अन्य किसानले भन्दा फरक तरिकाले व्यवसायिक अदुवा उत्पादन र बजारीकरणमा लागेका हुन् ।

चार वर्ष दुबई, दुई बर्ष कुवेत, साउदी र एक वर्ष भारतमा बिताएका क्षेत्री अहिले गाउँमै व्यवसायी सुरु गरेका छन् । गाउँको ८ रोपनी पाखोबारीमा उनले अदुवा खेति गर्न थालेका छन् ।

अदुवा खेतिको बजारमा माग अत्यधिक तर उत्पादन कम भइरहेको बेला स्थानीय बजारको मागलाई धान्ने गरी ४० कुइन्टलसम्म अदुवा उत्पादन गरेका क्षेत्री बताउँछन् । अदुवाको बजार माग बाह्रै महिना हुने र लगानी खेर जाने सम्भावना कम हुने देखिएपछी आफुले चार वर्षदेखि अदुवा खेतिमा लागेको उनको भनाई छ ।

गत वर्ष १० कुइन्टल अदुवाको बिउ रोपेका क्षेत्रीले लगानीको करिब चार गुणा बढि उत्पादन गरेका छन् । उनले ४० कुइन्टल बढि अदुवा उत्पादन गर्न सकिने बताउँछन् ।

‘पहिले–पहिले यहाँका बारीहरुमा मकै कोदो बाहेक अन्य उत्पादन हुँदैन्थ्यो, अहिले अदुवा लगाएको निकै राम्रो उत्पादन भयो’ क्षेत्रीले भने । विदेशमा जाँदा गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिने भन्दै गाउँमै कृषि र पशुपालनमा लागेको बताए ।

क्षेत्रीले अदुवासँगै उन्नत जातका बाख्रा र दुध उत्पादनका लागि गाईभैँसी समेत पालेका छन् । क्षेत्रीलाई श्रीमती पवित्राको राम्रो साथ छ । आफुले गाउँमा बसेर उत्पादन गर्ने श्रीमती पवित्राले दैनिक दुध, तरकारी, फलफुल लिएर बुर्तिबाङ बजारमा बेच्ने गर्दछिन् ।

‘विदेशमा महिना भरि काम गर्दा ३०÷३५ हजार कमाई हुन्थ्यो, अहिले गाउँमै कम्तीमा पचास हजार आम्दानी हुन्छ अब किन विदेश जानुप¥यो ?’ उनले भने । पवित्रा कृषि तथा पशुपंक्षी नामक फार्म खोलेका क्षेत्रीले दैनिक २० लिटरसम्म दुध बजार विक्रीका लागि ल्याउँछन् ।

अदुवा खरिदका लागि व्यवसायी तथा अन्य कृषकहरु घरमै पुग्ने गरेको उनको भनाई छ । निरन्तर मेहेनत गर्न सके विदेश जान नपर्ने उनको भनाई छ ।

हालसम्म कृषि ज्ञान केन्द्र बागलुङले करिब डेड लाख बराबरको अनुदान दिएको छ । अन्य निकायबाट सहयोग नपाएका क्षेत्रीले कृषकलाई व्यवसायिक रुपमा अगाडी बढ्न राज्यको नजर पुग्नु पर्ने बताउँछन् । राज्यले वास्तविक किसानलाई उपेक्षा गरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!