Saturday, September 24

मन्त्री आलेको जागिर खाइदिने बतास समूहको धम्की

काठमाडौँ- नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूह यतिबेला रुष्ट बनेको छ ।

आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका छन् ।

आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि बोलाएर यस्तो धम्की दिएको हो ।

‘तपाईंहरूले हाम्रो पक्षमा समाचार लेखिदिनुपर्यो,’ ती व्यक्तिले भने, ‘हामीले सक्नेसम्म ज्याक लगाएका छौं । मन्त्री आलेले आफ्नै अध्यक्ष माधवकुमार नेपालले भनेको पनि मानेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको पनि मानेनन् । अब उनको जागिर जान्छ ।’

उनले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरूलाई प्रलोभनसमेत दिएका छन् । नारायणहिटी, पशुपति, सेती नदीमा कब्जा जमाएको बतास समूहले अफ्नाबारे चौतर्फी आक्रमण हुन थालेपछि अनेक उपाए लगाउन थालेको छ ।

कतिपयले मन्त्री आलेले प्रधानमन्त्री पत्नी आरजु राणासँग टसल परेपछि यस्तो निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरेका बेला बिहीवार राणाले भने बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!