Wednesday, September 21

माओवादी केन्द्रको महासचिवमा जनार्दन शर्मा !

काठमाडौं – शक्तिशाली कार्यकारी पद महासचिव को होला भन्ने चर्चा र अनुमान माओवादी केन्द्रभित्र सुरु भएको छ।

साउन (२०७८) मा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवको व्यवस्था गरे पनि विधानतः कार्यकारी अधिकार भने अध्यक्ष र महासचिवलाई मात्र दिएको थियो।

विधानअनुसार माओवादी केन्द्रका महासचिवसँग आधा दर्जन अर्थात् ६ वटा अधिकार (कर्तव्य) छन्। यसमध्ये महासचिवले दुई वटा कर्तव्य अध्यक्षको निर्देशनमा निर्वाह गर्नुपर्ने हुन्छ।

त्यसमध्ये पहिलो कर्तव्य ‘अध्यक्षको निर्देशन’ मा राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकका कार्यसूची तयार गर्ने र बैठक बोलाउने हो भने दोेस्रो कर्तव्य– ‘अध्यक्षको निर्देशन’ मा पार्टीका नीति एवं निर्णयको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकसमक्ष प्रस्तुत गर्ने हो।

यसबाहेक महासचिवलाई प्राप्त तेस्रो अधिकार ‘केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने’ हो।

त्यस्तै चौथो अधिकार– केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरु कार्यान्वयन गर्न अध्यक्षलाई सहयोग गर्नु, पाचौँ अधिकार– पार्टीको प्रशासकीय व्यवस्थापनको नेतृत्व र निर्देशन दिने र छैटौँ अधिकार– केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका कार्यहरु गर्नु हो।

यिनै अधिकारहरुका कारणले पनि अध्यक्ष प्रचण्डपछिको शक्तिशाली कार्यकारी पद महासचिव को होला भन्ने चासो र जिज्ञासा माओवादी केन्द्र र बाहिर हुनु स्वभाविक हो।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थ मन्त्री जनार्दन शर्माले आफू पार्टीको महासचिव बन्न योग्य रहेको बताएका छन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले विश्वास गरेमा आफू महासचिवका लागि योग्य रहेको उनको दाबी छ ।

आफू अहिले संगठन विभागको प्रमुख भएकाले कार्यकारी पदमा काम गर्न खोज्नु स्वाभाविक भएको भन्दै उनले आफूले चाहेरभन्दा पनि पार्टीले चाहेमा मात्रै यो पूरा हुने बताए ।

आफू अहिले संगठन विभागको प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने चाहना रहेको तर आफ्नो चाहनाले मात्रै निर्धारण नगर्ने उनले बताए ।

संगठनको जिम्मेवारी लिन सक्ने आफूजस्तै अन्य नेताहरू पनि भएको भन्दै उनले सबैकुरा आम कार्यकर्ताको निर्णयमा भरपर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!