Monday, October 3

एमालेमा ओलीले विवादितलाई काखी च्याप्ता पार्टीमा व्यापक असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेले चितवन महाधिवेशनमार्फत् नेतृत्व छानेको एक महिना नपुग्दै जिम्मेवारी बाँडफाँटलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ ।

चितवन महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र उनले तयार गरेको सूची सर्वसम्मत हुन नसके पनि उनले चाहेभन्दा बाहिरबाट एकजना पनि पदाधिकारी र केन्द्रीय सदस्य छानिएका छैनन् ।

एमालेको विधानमा केन्द्रीय कमिटीमा मनोनयनको पनि व्यवस्था छ । तर मनोनयन गर्दा ओलीले पार्टीमा योगदानभन्दा आफूसँगको निकटतालाई प्राथमिकता दिए । त्यसमा पनि कतिपय विवादास्पद पात्रको हालीमुहालीले पार्टीपंक्तिमा व्यापक असन्तुष्टि छाएको छ ।

महाधिवेशनबाट एक ढिक्का भएको भनिएको एमालेभित्र केन्द्रीय सदस्य मनोनयन, जिम्मेवारी बाँडफाँट र वरीयता निर्धारणमा नेता कार्यकर्तामा बढी असन्तुष्टि देखिएको छ । कतिसम्म भने वरीयता निर्धारणलाई लिएर ओलीका एकदमै नजिक भनिएका सुवास नेम्बाङ नै चिढिन पुगेका छन् ।

दसौं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको नेकपा एमालेले मंसिर २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकबाट ४४ जनालाई मनोनीत गर्‍यो ।

जुन सूचीमा व्यक्ति हत्यामा कैद सजाय भोगेर केही वर्षअघि कैद मिनाहा पाएका बालकृष्ण ढुंगेलदेखि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसम्म छन्। तर झापा विद्रोहदेखि नख्खु जेल ब्रेककाे इतिहास बनाएका पुराना नेता नरेश खरेल पन्छाइए ।

झण्डै १७ वर्ष जेल जीवन बिताएका खरेल केपी ओली सँगसँगै राजनीतिमा होमिएका थिए। तर २०७० मा एकपटक संविधान सभा सदस्य बन्नेबाहेक खरेललाई माथिल्लो तहमा पुग्न पार्टी नेतृत्वले नै रोक्यो ।

विवादित व्यक्तिलाई च्यापेर केन्द्रीय कमिटीमा भित्र्याउँदा लामाे राजनीतिक जीवनका सारथीलाई ओलीले किन लल्कारे ? अहिले यो प्रश्न पार्टी पंक्तिमा व्यापक रुपमा उठेको छ । त्यसो त ओलीले खरेलकी पत्नी पवित्रा निरौलालाई पनि केन्द्रीय कमिटीमा विश्वास गरेनन् । निरौला प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति हुन् ।

निरौलालाई ओलीले स्थान नदिनुलाई प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णयको विरोध गर्नुलाई मुख्य अयोग्यता ठानेको देखिन्छ । उनले अन्तिम समयमा माधव नेपाल समूह छोडेकी थिइन् । त्यसो त केन्द्रीय कमिटीमा छुटेका खरेल दम्पती मात्र होइन, यसअघिका केन्द्रीय सदस्यहरु गोमा देवकोटा, राधा ज्ञवाली, कृष्णभक्त पोखरेललगायत नेतालाई पनि ओलीले स्थान दिन चाहेनन् ।

विवादित व्यापारीलाई काखी च्यापेका ओलीले पार्टीमा योगदान गरेका र क्षमतावान नेतालाई स्थान नदिनुको कारण के हो ? एमाले वृत्तमा अहिले धेरैलाई यो प्रश्नले घोचिरहेको छ तर कसैले जवाफ पाउन सकेको छैन।

अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावल पार्टीका जिम्मेवारीबाट बाहिर छन् । उनले केन्द्रीय कमिटीमा बस्न आफैं अस्वीकार गरे भने केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिइएकामा सामाजिक सञ्जालमार्फत आपत्ति नै जनाए ।

त्यसो त पदाधिकारी तहमै असन्तुष्टि व्याप्त छ । वरियता निर्धारण र जिम्मेवारी बाँडफाँटलाई लिएर महाधिवेशनअघि ओली निकट भनिएका सुवास नेम्बाङ नै असन्तुष्ट छन् । महाधिवेशनमा उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेकामा ओलीले उपाध्यक्ष दिए । जबकि उनले आवश्यक परे त्यो पदमा ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्छुसम्म भनेका थिए ।
तर ओलीले नेम्बाङलाई ६ उपाध्यक्षमध्येमा पनि वरियतामा पाँचौं नम्बरमा मात्र राखिदिएनन्, पोखरेलको हातबाट प्रमाणपत्र बुझ्न लगाए । मा‌ओवादी छाडेर आएका रामबहादुर थापा र आफूभन्दा जुनियर विष्णु पौडेलभन्दा पछाडि राखिएपछि नेम्बाङ निराश भएका छन् ।

वरियतालाई लिएर असन्तुष्टि अरु नेताको पनि छ । वरियता निर्धारणको आधारबारे सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले प्रश्न उठाए । ओलीले असन्तुष्टि सम्बोधनको प्रयासस्वरुप विष्ट र भट्टराईलाई रघुबीर महासेठ र छविलाल विश्वकर्माभन्दा माथि राखे ।

तर माओवादी छोडेका टोपबहादुर रायमाझी र लेखराज भट्टभन्दा अगाडि राख्न मानेनन् । बालकृष्ण ढुंगेल पोलिटब्यूरो सदस्य बन्दा सचिवमा पराजित भएका टंक कार्की केन्द्रीय कमिटीमै सीमित भएका छन्। यिनै कारण महाधिवेशनबाट पार्टी एकढिक्का भएको घोषणा गरिएपनि एमालेभित्र असन्तुष्टिका स्वर बढेको छ। नेतृत्व भने असन्तुष्टि बढेको स्वीकार गर्न तयार छैन।

असन्तुष्टिको स्वरलाई ओलीले बेवास्ता गर्दा एमाले फुटेको धेरै भएको छैन । भदौ पहिलो साता एमाले फुटेको थियो । पार्टी फुटाएका माधव नेपालसँग निकट मानिने नेताहरुले अहिले फेरि एमालेभित्र पेलिएको र भूमिका नपाएको अनुभव गरिरहेका छन् । उनीहरुको असन्तुष्टिलाई ओलीले बेवास्ता गरिरहे भर्खरै विभाजनको घाउ बेहोरेको पार्टीमा फेरि अर्को उथलपुथल नहोला भन्न सकिन्न । वर्णन मिडिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!