Friday, October 7

बलियो बन्दै शेखरको टिम, सभापतिका उम्मेदवार युवराजले गरे शेखरलाई समर्थन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने बताएका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिन लागेको जानकारी दिए ।

उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उनलाई सघाउने पनि बताएका छन् ।

निर्वाचन कार्यालयमा गएर केहीबेरमै उम्मेदवारी फिर्ता लिएको सूचना दिने उनले बताए । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको छ ।

मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन् । कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शेखरको दाबी : पहिलो चरणमा नै जित्छु – नेपाली काँग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने दाबी गरेका छन् ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र सुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको बताए ।

काँग्रेसमा आवश्यक रूपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरूको जित सुनिश्चित रहेको जिकिर गरे ।

उनले ऊर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित – कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । आजै सवा अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!