Wednesday, September 21

रोचकः जसपाका यी सांसद बने कांग्रेसका महाधिवेशन प्रतिनिधि

काठमाडौं । बागमती प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का लागि एउटै कुर्सी छ । र, त्यो कुर्सीमा बस्छन्, रसुवाली सांसद प्रेमबहादुर तामाङ । प्रदेशसभाबाहिरचाहिँ उनले अर्कै पार्टीको कुर्सी सुरक्षित गरेका छन् ।

हालै उनी रसुवाबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । अर्थात्, जसपाका सांसद, कांग्रेसको महाधिवेशन प्रतिनिधि ।

कांग्रेसकै झण्डामुनि आगामी प्रदेशसभा चुनाव लड्ने तयारीमा छन् उनी । याे कुरा उनी स्वयम्‌ले बाहिर बाेलेका छैनन् तर भित्रभित्र उनी कांग्रेसी राजनीतिमा समाहित भइसकेका छन् ।

यसबारे जिज्ञासा राख्दा तामाङ बोल्न चाहेनन् । भने, ‘यो विषयमा अहिले म बोल्न चाहन्नँ । बोल्नुपरे पनि पछि बोलौँला ।’ जसपाकाे कारबाहीमा परिने डरले कांग्रेसकाे महाधिवेशन प्रतिनिधि चुनिएको कुरा उनले गोप्य नै राखेका छन् ।

मंगलबार सदरमुकाम धुन्चेस्थित एक पानी फ्याक्ट्रीकाे हलमा महाधिवेशन प्रतिनिधिहरूकाे घाेषणा गर्दा मुख्य निर्वाचन अधिकृत शर्मिला थापाले प्रेम तामाङकाे नाम पनि लिएकी थिइन् । तर, प्रमाणपत्र लिन भने प्रेम त्यहाँ गएनन् ।

रसुवा कांग्रेसका बागमती सांसद प्रभात तामाङले प्रेम तामाङ कांग्रेस प्रवेश गरिसकेकाे र पार्टीकाे महासमिति सदस्य रहेकाे पुष्टि गरे । रसुवाकै अर्का एक नेताका अनुसार आगामी प्रदेशसभा निर्वाचन प्रेम तत् ठाउँबाटै चुनाव लड्ने तयारीमा छन् ।

‘कांग्रेसले संघमा मोहन आचार्य, प्रदेशका दुई निर्वाचन क्षेत्रमा उहाँ (प्रेम तामाङ) र प्रभात तामाङलाई नै दोहोर्‍याउलाजस्तो छ’, ती नेताले कांग्रेस नेतृत्वबाट सुइँको पाएकोबारे खुलाए । प्रेम रसुवा (क) र प्रभात (ख) मा राम्राे प्रभाव भएका नेता हुन् । २०६४ सालमा माओवादीका तर्फबाट प्रेम संविधानसभामा निर्वाचित भएका थिए ।

प्रेम तामाङ तिनै नेता हुन्, जो २०७४ सालको चुनावमा संघको टिकट त्यागेर प्रदेशसभामा ओर्लेका थिए । त्यो बेला उनलाई बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले संघको टिकट दिएको थियो । तर, कांग्रेसका उम्मेदवार मोहन आचार्यलाई प्रतिनिधिसभा छोडेर उनी प्रदेशसभाको उम्मेदवार बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!