Thursday, October 6

ओलीले सर्वसम्मतिको प्रयास गरिरहँदा, नेताहरूले भने माग्न थाले आ-आफ्नै पक्षमा भोट !

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन्। उनी नेताहरूको व्यवस्थापनका लागि भेटघाट र छलफल गरिरहेका छन्। आकांक्षी व्यवस्थापनकै लागि ओलीले शुक्रबार बेलुका केन्द्रीय समितिमा पदाधिकारी थप गर्न प्रस्ताव गरेका थिए।

ओलीको प्रस्ताव केन्द्रीय समितिबाट पारित भइसकेको छ। ओलीले पदाधिकारी थपेर भए पनि १९ पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन्। उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले भने उपाध्यक्ष पदमा मत दिन सार्वजनिक अपिल गरेका छन्। भुसालले फेसबुकमा नीति अनुसारको नेतृत्व निर्माणका लागि आफूलाई उपाध्यक्ष पदमा विजयी बनाउन आह्वान गरेका छन्। एमाले महाधिवेशनमा झन्डै २३ सय जना प्रतिनिधि सहभागी छन्।

‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं’, भुसालले फेसबुकमा लेखेका छन्, ‘सामूहिकता, विधि र विचारसहितको नेकपा एमालेको पुनरोदय गरौँ।’ भुसालले ‘नीति अनुसारको नेतृत्व निर्माण गरौं’ भन्ने नारा दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका दाबेदार भुसालले ‘आफू सर्वसम्मत हुने दाऊ’का रुपमा बुझेका छन्। उनीहरू दुबैले केन्द्रीय समितिबाट पदाधिकारी संख्या थप्ने र केन्द्रीय समितिको संख्या थप्ने निर्णयलाई ओलीको रणनीति भएको निष्कर्ष निकालेका छन्।

एमालेको दशौँ महाधिवेशनको बन्दसत्र अहिले चितवनको सौराहामा चलिरहेको छ। बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढ्नेछ। पदाधिकारी र केन्द्रीय सदस्य थपिए पनि एमालेमा ओलीले चाहेजस्तो सर्वसम्मत हुने सम्भावना भने कम छ।

एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। सर्वसम्मत बनाउँदा ओलीले रावललाई के पद अफर गर्छन् भन्ने पनि टुंगो छैन। यसअघि नै उपाध्यक्ष भइसकेका रावल फेरि उपाध्यक्षमै बस्न राजी हुने सम्भावना नभएको उनीनिकट एक नेताले बताए।

‘उहाँ अध्यक्षमा उठिसक्नुभयो, अब चुनाव लडेर जिते अध्यक्ष हुनुहुन्छ नत्र अरूमा सहमति गर्नुहुन्न,’ ती नेताले भने। ओलीले रावललाई वरिष्ठ उपाध्यक्षको अफर गरे रावल मान्न पनि सक्छन्। तर यो अफर रावललाई ओली गर्न सक्दैनन्। किनभने अहिले बरिष्ठ उपाध्यक्षमा ओलीले आफ्नै मान्छेलाई मिलाउन सकेका छैनन्।

ईश्वर पोखरेल र सुवास नेम्वाङ दुबै जनाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। ओलीले नेम्वाङलाई पार्टीले अवसर पाउँदा तपाईंलाई राष्ट्रपति बनाउँछु भनेर वरिष्ठ उपाध्यक्षको दाबी छोड्न गरेको आग्रह पनि नेम्वाङले नकारेका छन्। अर्कातिर आफ्ना विश्वासपात्रहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलमाथि हुने गरी रावललाई बरिष्ठ उपाध्यक्ष अफर गर्न ओलीले सक्दैनन्।

रावलजस्तै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले आफ्नो दाबी छोड्न तयार छैनन्। उनलाई ओलीले उपमहासचिवमै बस्न आग्रह गरेका छन्। अहिले नै महासचिव रहेका भुसालले आफू कुनै हालत उपमहासचिवमा नबस्ने उपाध्यक्षका लागि चुनाव लड्न जवाफ दिइसकेका छन्।

शनिबार दिउँसोमात्रै भुसालले सामाजिक सञ्जालमार्फत् आफूलाई उपाध्यक्षमा भोट मागेका छन्। सर्वसम्मतिका लागि मिल्न बाँकी अर्को महत्वपूर्ण कुरा महासचिव को हुने भन्ने हो। एमाले महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी पेस गरेका छन्। उनीहरू दुईमध्ये कसलाई महासचिव बनाउने भन्ने ओलीले टुंग्याउन सकेका छैनन्।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। अरू पदमा सर्वसम्मति हुने टुंगो नलागी उनी पनि आफ्नो दाबेदारी छोड्ने पक्षमा छैनन्।

योसँगै पदाधिकारीमा महिलाहरूलाई समेट्ने चुनौती पनि ओलीलाई छ। सचिव पदमा पनि ओलीनिकट धेरै नेताहरूले दाबी पेस गरेका छन्।विकसित घटनाक्रम हेर्दा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिए पनि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम छ।बन्दसत्रका क्रममा कुनै लेनदेनबारे छलफल नहुने भएकाले मनोनयन प्रक्रिया आज सुरू हुने सम्भावना कम छ।

ओलीनिकट नेताहरूले मनोनयन प्रक्रिया सारेर भए पनि सर्वसम्मतिको प्रयास गरिने बताएका छन्। ‘मनोनयनको समय लम्बिन सक्छ। हामीले सहमतिको प्रयास गर्दैगर्दा आज सकिएन भने भोलि मनोनयन हुनसक्छ। हाम्रो पार्टीमा पहिला पनि यस्तो भएको इतिहास छ,’ एमाले सचिव पृथ्वीसुब्बा गुरूङले भने,‘१२ गते महाधिवेशन सक्ने भनेको भोलि नै सक्नुपर्छ भनेको होइन। सहमति हुन्छ भने समय लम्बिन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!