Wednesday, October 5

गाउँपालिकाले बेच्यो आफैंले फूलाएका पाँच लाखका फूल !

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको फूल बिक्री गरेको छ।

फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो। गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो।

फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्‍याउन नसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलो पटक सुरू गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।

उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौं।’ काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए।

किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ। कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरू गरेको अध्यक्ष थापाले बताए। गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन्।

पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्‍याउन नकिएकाले आफूहरूलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी-६ का हिराबहादुर गाहाले बताए। व्यावसायिक रूपमा फूलखेती गरेरसमेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ।

गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ। फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले  रोजगारी पाएको गाउँपालिकाले जनाएको छ।

सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ। तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैंचामै आएर ग्राहकले फूल लगेका छन्। सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ (मनिष)ले जानकारी दिए।

उनका अनुसार प्रतिमाला फुटकरमा  ८० देखि ९० सम्ममा र होलसेलमा  ४५ रुपैयाँमा बिक्री भएको छ। फूलखेती गर्दा करिब  दुई लाख ४८ हजार रुपैयाँ खर्च भएको र पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।

यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ। बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ।  सेतोपाटी बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!