Tuesday, October 4

एकिकृत समाजवादीमा लागेका दुई सांसद एमालेमै फर्किए

धनुषा — नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को पक्षमा सनाखत गर्ने सूचीमा रहेका २ जना सांसद एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन् ।

खराब मौसमका कारण सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरमा आउन नसकेको बताइएका प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ वीरगन्जमा एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन् । सांसद विश्वकर्मा र गुरुङ पार्टीको विवाद सुरु भएदेखि कुन पक्षमा लाग्नेबारे खुलेका थिएनन् ।

यसअघि एमालेको माधव नेपाल समूहले प्रदेशसभामा सचेतक राख्ने भएपछि नेपालतिर लागेका थिए । बैठकमा सहभागी एमालेका जातीय मुक्ति समाजका केन्द्रीय सदस्य सन्त परियारले सांसद विश्वकर्मा र गुरुङ उपस्थित भएको पुष्टि गरे ।

माधव नेपाल पक्षका प्रदेश सांसद शत्रुधन महतोले विश्वकर्मा र गुरुङ काठमाडौँमा रहेको र खराब मौसमका कारण सनाखत गर्न आउन नसकेको बताएका थिए तर दुवै सांसद नेकपा एमालेको प्रदेश २ को प्रदेश कमिटी बैठकमा सहभागी जनाएका छन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दुवै सांसद आफूहरूकै प्रदेश कमिटी बैठकमा वीरगञ्जमा सहभागी रहेको पुष्टि गरेका हुन्। नेकपा एमालेलाई छाडेर माधव नेपाल नेतृत्वको नेकपा एसमा बिहीबार १० जना सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!