Thursday, September 29

मुसिकोटमा उद्यमी प्रतियोगिता सम्पन्न, थापा र घर्ती वने उत्कृष्ट मुसिकोट उद्यमी २०७८

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र दायित्वसंस्था संगको सहकार्यमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम मार्फत उद्यमी प्रतियोगिता मुसिकोट नगरपालिका गुल्मीमा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाले नगरपालिका भित्र रहेका १ सय २५ उद्यमीहरु मध्येबाट उत्कृष्ट ४०, उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट २ उद्यमी घोषणा गरेको छ । कृषि उद्यमीहरुका बीचमा प्रतिसपर्धा गराई मुसिकोट नगरपालिकाले नौलो र परिणाममुखी काम गरेको छ । कार्यक्रम मार्फत उत्कृष्ट २ जना उद्यमीले जनही १/१ लाख र उत्कृष्ट १० जनाले जनही ५०/५० हजार सहित पुरस्कृत भएका छन् ।

ग्रामीण क्षेत्रमा उद्यम गरिरहेका कृषकहरुको सीप,सोँच र अनुभवलाई प्रोत्साहन गरी भनसुन र पहुँचवालाहरुलाई मात्रै अनुदान दिने परम्परालाई निरुत्साहित गर्न प्रतियोगीता मार्फत उत्कृष्ट उद्यमी छनौट गरिएको दायित्वका लुम्बिनी प्रदेश सयोंजक कमल थापाले बताउनु भयो ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषकहरुबीच प्रतियोगीता गराई उत्कृष्ट उद्यमी छनौट गर्ने गरी दायित्वसगं गरिएको सहकार्य साँच्चिकै नौलो र नमुना अभ्यास भएको बताउनु भयो । यो कार्यक्रमले उद्यमीहरुमा आत्मबल बढाउनुका साथै अनुदानमा निर्भर रहने परम्पराको अन्त्य गर्दै वास्तविक उद्यमीहरुको पहिचान र प्रोत्साहन मिलेको उहाँको दावी छ ।

कृषिलाई उद्योग सगं जोड्दै अनुदानमा आधारित नभई प्रतिष्प्रधामा आधारित कार्यक्रम अगाडी बढाउने योजनाका साथ दायित्वसगं सहकार्य गरेर मुसिकोटका उत्कृष्ट व्यवसायीहरुको छनोट गरी प्रतियोगीता चलाईएको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भयो ।

“अनुदानमा आधारित कार्यक्रमले उद्यमीलाई केवल अनुदान केन्द्रीत योजना बनाउने मात्रै देखियो सापकोटाले भन्नु भयो, तर प्रतिसपर्धाको माध्यमबाट आएका उद्यमीहरुले स्वावलम्बन,सीप र दक्षतासगैं आर्थिक पक्ष व्यवस्थापनका पाटोमा पनि धेरै कुरा सिक्नुभएको छ ।” समृद्ध मुसिकोट निर्माणका लागि कृषि क्षेत्र नै प्रमुख प्राथमिकता रहेको भन्दै यो कार्यक्रम निकै महत्वकाक्षीं रहेको उहाँको भनाई छ । जिल्लामै यो नमुना अभ्यास भएकाले उद्यमीहरुको चेतना र सोँचमै परिवर्तन आएको सापकोटाले बताउनु भयो ।

उक्त प्रतियोगिताबाट गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ स्थायी ठेगाना भइ हाल मुसिकोट नगरपालिका वडा नं. ७ निवासी श्री दुर्गा थापा  र मुसिकोट नगरपालिका वडा नं १ का देव वहादुर घर्ती  उत्कृष्ट उद्यमी घोषणा भएका छन । दुर्गा थापाले आफ्नो जन्मथलो छाडेर वडा नं ७ वामीटक्सारमा भाडामा जमिन लिएर कृषि व्यवसाय गर्दै आइरहनु भएको छ भने देव वहादुर घर्ती वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै जग्गा भाडामा उद्यम गरी रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!