Monday, September 26

मुसिकोटमा आगामी वर्षका लागि ८४ करोड भन्दा वढीको वजेट पारित,वजेटको पूर्ण पाठ यस्तो

गोविन्द कंडेल, मुसिकोट गुल्मी । असार १०,२०७८ , मुसिकोट नगरपालिका गुल्मीले आर्थिक बर्ष २०७८/७९ का लागि ८४ करोड ४ लाख ९९ हजार ४ शय ७६ रूपिँया ६० पैसाको अनुमानित आय व्ययको विवरण  बजेट सार्वजनिक गरेको छ ।

बिहीबार सम्पन्न नवॏ नगरसभामा कार्यपालिका सदस्य सरस्वती घिमिरेले पेश गरेको उक्त रकमको बजेट सभाबाट सर्वसम्मतिले पारित भएको हो । नगर उपप्रमुख कमला शर्मा स्वास्थ्य समस्याका कारणले अनुपस्थित भए पछी कार्यपालिकाको निर्णयानुसार कार्यपालिका सदस्य घिमिरेले वजेट पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वताउनु भयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास तर्फ ४ करोड ७ लाख ४६ हजार, पूर्वाधार विकास तर्फ ६ करोड २५ लाख २ हजार ८ शय ४१, सामाजिका विकास तर्फ ३ करोड ६१ लाख २६ हजार २९०, वनवातावरण तर्फ ३२ लाख ९० हजार, न्यायिक समिति ५ लाख त्यसै गरी  संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ६ करोड १६ लाख १ हजार २४६ रूपिँया विनियोजन गरेको छ ।

मुसिकोट नगरपालिका गुल्मी नगरसभाबाट सर्वसम्मतीले पारित भएको वजेट वक्तव्य जस्ताको तस्तै

सभाध्यक्ष महोदय, नगरसभाका सदस्यहरु  र उपस्थित महानुभावहरु ।

(१) संविधान वमोजिम संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको तीन तहका सरकारहरु मध्ये स्थानिय सरकार, यस मुसिकोट नगरपालिकाको उपप्रमुखको हैसियतले अहिलेको कोरोना विशेष परिस्थितिमा संघिय गणतन्त्र स्थापना पछि स्थानिय सरकारको हामीले जिम्मेवारी सम्हाले पछिको पांचौ र आर्थिक वर्ष २०७८/०७९ को आय-ब्यय विवरण (बजेट) प्रस्तुत गर्न उपस्थित भएकी छु ।

(२) नगरपालिकाको निमन्त्रणालाई स्वीकार गरी यस गरिमामय सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मुसिकोट नगरपालिका र मेरो व्यक्तिगत तर्फवाट हार्दिक स्वागत गर्न चाहन्छु, साथै आ.व. ०७८।०७९ को बजेट यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेकी छु ।

(३) राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि मुलुकमा राजनैतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकास सहितको समृद्घ र समुन्नत विकास गर्न, आफ्नो शासन आफै वा आफ्नो प्रतिनिधि मार्फत गराई गणतन्त्रलाई संस्थागत गर्न र अग्रगामी परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्घान्जली अर्पण गर्न चाहन्छु ।

(४) नंया भेरियन्ट सहितको कोरोना भाइरसको कारण परिस्थिति प्रतिकुल भएकोले  बिगतका वर्षहरुमा जस्तो सबै पक्षहरुको नीति, कार्यक्रम र बजेट तर्जुमामा उल्लेख्य सहभागिता गराउन सकिएन । प्रतिनिधिमूलक ढंगवाट समावेश भएका विषय वस्तुहरु पुर्णताको नजिक छन् भन्ने मेरो विश्वास छ । कोभिडका कारण ७ जना मुसिकोटबासी महानुभावहरुले अकालमा ज्यान गुमाउनु परेको छ । उहांहरु प्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै कोभिड प्रभावित अन्य मुसिकोटबासी दाजुभाइ तथा दिदिवहिनिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र सम्पूर्ण महानुभावहरुमा कोभिडसंग लड्ने शक्ति प्राप्त होस भन्ने अपेक्षा राख्दछु ।

(५) चालु आर्थिक वर्षका कतिपय हाम्रा कार्यक्रमहरु संसोधन गरेर पुन: प्राथमिकिकरण गर्नु परेको अवस्था जानकारी गराउन चाहन्छु । महामारीको रुप कति लामो हुने हो, त्यसको कुनै निश्चित नभएका कारण हाम्रा श्रोत साधनहरु विकास गतिविधि भन्दा त्यस तर्फ केन्द्रित हुनु पर्दछ भन्ने हाम्रो ठहर छ ।

(६) कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा धक्का पुगेको कारण नेपालको अर्थतन्त्र पनि त्यसवाट अछुतो नरहने र मुसिकोटवासी जनता त्यसको राप र प्रभावले अछुतो रहने कुरा भएन, त्यसैकारण हाम्रो भौगोलिक विशेषता  अनुकुल अर्थतन्त्रमा जोड दिनुपर्ने बिषयवस्तुमा यो बजेट केन्द्रित रहेको छ ।

सभाध्यक्ष महोदय,

(७) नगरपालिकाको नाम नै ऐतिहासिक आधारमा मूखरित भएको मुसिकोट आफैमा पूण्यभूमी हो । मुसिकोटवासी जनताको भाग्य र भविष्यको निर्धारण गर्न निर्वाचित हामी जनप्रतिनिधि माझ थुप्रै अवसर र चुनौतीहरु कायमै छन् । विद्यमान चुनौतीका बाबजुद मुसिकोट नगरपालिकालाई सवल, सक्षम र समृद्ध नगरपालिका बनाउने हाम्रो प्रयासमा आम नागरिकदेखि संघीय सरकार र प्रदेश सरकारको पनि साथ रहेको छ ।

(८) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, कानून तथा मन्त्रालयहरुबाट प्राप्त दिग्दर्शनका आधारमा सहभागितामुलक र साझेदारीताको माध्यमबाट स्थानीय जनताका आफ्नै जनजीविकाका सवालका समस्याहरु समाधान गर्न वजेट तथा कार्यक्रम तर्जुमा भएको छ ।

(९) नगरपालिकाको समृद्दीको लागी प्राप्त हुने सबै प्रकारका अनुदान, आन्तरिक आय, राजश्व बांडफांडवाट प्राप्त हुने रकम, लगायत स्थानिय तहको कोषमा प्राप्त हुने सबै प्रकारका श्रोत तथा साधनहरुलाई एकिकृत गरी गरिब, महिला, बालवालिका तथा सामाजिक/आर्थिक दृष्टिकोणवाट पिछडिएको वर्ग र समूदाय एवं क्षेत्रको समेत पहुंच, स्वामित्व र अपनत्व रहने गरी सन्तुलित तवरवाट स्थानिय सेवा प्रवाह र जनसहभागिता परिचालनवाट विकास निर्माण कार्य अगाडि बढाउन हामी प्रतिबद्घ छौं ।

चुनौतीहरु:

(१०) विकास प्रक्रिया जनमूखि, पारदर्शि, समतामूलक, सहभागितामूलक, दिगो भरपर्दो र गुणस्तरिय बनाउन प्रयाप्त संभावना र अवसर हुंदाहुंदै पनि हाम्रा सामु देहायका समस्या एवम् चुनौतीहरुले कतिपय विकासका प्रक्रियाहरु सम्पादन गर्न कठिन भएको छ ।

  • आन्तरिक श्रोतको न्युन परिचालन हुनु, खेती योग्य जमिनमा कृषिको आधुनिकिकरण एवं ब्यवसायिकरण हुन नसक्नु,
  • गैर सरकारी संघ संस्थाका कार्यक्रमहरुलाई आवधिक योजनासंग तालमेल मिलाउंदै कार्यान्वयन गर्न नसक्नु,
  • योजना अनुगमन तथा मूल्याङकन प्रणाली नतिजामूखि र वस्तुपरक हुन नसक्नु,
  • समूदाय र वडावाट माग गरिने योजना अत्यधिक हुनु, उपभोक्ता समितिलाई यथार्थ परक ढंगले परिचालन गर्न नसक्नु,
  • जलविद्युत एवं उर्जाको क्षमता कमजोर हुनु, गुणस्तरिय शिक्षा तथा संचारको कमि, स्थानिय उत्पादनलाई अधिकतम उपयोग गर्न नसक्नु,
  • तुलनात्मक लाभका वस्तुहरु पहिचान गरी उत्पादनलाई तिब्रता दिन नसक्नु,
  • स्थानिय उपभोक्ता समितिको विकास प्रक्रियामा व्यवसायिकताको विकास हुन नसक्नु
  • हालका दिनमा कोरोना संक्रमण (COVID-19) को कारण भावी कार्यदिशा के हुने ? भन्ने अन्यौलता हुनु

उपस्थित महानुभावहरु,

(११)     अव म नगरपालिकाको समग्र स्थितिको बारेमा जानकारी गराउन चाहन्छु ।

(१) हामी निर्वाचन भएर आए पछिको पहिलो (आ.व.२०७४/०७५) वर्षको           बार्षिक कार्यक्रम आउने समय ज्यादै छोटो र अनुभव  बिहिन थियो । भर्खर        निर्वाचन भएर हामी पद बहाली गरेको समय भएकोले हतार हतारमा वार्षिक  कार्यक्रम र वजेट प्रस्तुत गर्दै गर्दा कतिपय कमि कमजोरी भएको हामीले   महशुस गरेकै हो ,

(२) हाल सम्मको कार्यानुभवले आ.व. २०७७/०७८ को बजेट र   कार्यक्रम  कार्यान्वयनको अन्तिम चरणमा आईपुग्दा हाम्रो आत्म विश्वास बढेको छ ।  कारण –  शासन संचालनका धेरै पूर्वाधारहरु निर्माण गर्न हामी सफल भएका छौं । तर पनि बिपद्संग हाम्रो केही लागेन । कोरोना संक्रमण (कोभिड-१९)   संगको हाम्रो लडाई कति लामो हुने हो, यसको लेखाजोखा समयले गर्ने नै छ ।

(३) चालु आ.व.मा कार्यान्वयन गर्ने गरी छर्नौट भई संचालित योजनाहरु   कार्यान्वयनको अन्तीम चरणमा रहेका र कतिपय योजनाहरु बाहेक उक्त        योजना/कार्यक्रमहरु पूर्णहुंदा नगरपालिकाको समग्र विकासमा उल्लेख्य     प्रगती भएको महशुस हुने छ ।

(४) आर्थिक एवं भौतिक प्रगतीको अवस्था देखिने गरी अनुसूचीमा  ब्यवस्थित गरिएको र संघिय एवं प्रदेश राजस्व बांडफांडको रकम रु १  करोडले कम प्राप्त हुने,  आन्तरिक राजश्व असुली अनुमान भन्दा ५०  रतिशतले कम हुने संसोधित अनुमान छ ।

(५) गत आ.व.हरुमा प्रशस्तै अनुकरण गर्न लायक कामहरु हामीहरुले सम्पादन गरेका छौं ।

(६) चालु आ.व.मा बहुवर्षिय ठेक्का अन्तर्गत प्रशासकिय भवनको कार्य ठेक्का संझौताद्वारा काम भइरहेकोछ । १५ बेडको आधारभूत अस्पताल ठेक्का प्रक्रियाभइ संझौताको चरणमा रहेको छ ।

(७) चालु आ.व.मा संघिय सरकार र प्रदेश सरकारको समपुरक, बिशेष र शसर्त अनुदानमा बिद्यालय पूर्वाधार एवं दुनाम – मुसिकोट – बडागांउ   खानेपानी लगायत बहुउद्देश्यीय सभाहल, स्मार्टपार्क, मालिका मन्दिर,  थुमपार्क, कभर्डहल लगायत महत्वपूर्ण योजनाहरु सम्पन्नको चरणमा रहेका  छन् ।

(८) सामाजिक विकास अन्तर्गत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका    लागि शिक्षक तालिमको सञ्चालन तथा शैक्षिक सामग्रीको वितरण  कार्यलाई निरन्तरता दिईएको छ । विभिन्न किसिमका नेतृत्व विकास तथा  सीपमुलक तालिमको सञ्चालन र सम्पन्न गर्ने विषय हाम्रा प्राथमिकताका  विषय हुन् ।

(१२) अव म आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटका उद्देश्यहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

यसै सभामा मिति २०७८।०३।०७ मा प्रश्तुत नीति तथा कार्यक्रम बमोजिम आर्थिक  वर्ष २०७८।७९ का बजेटका उद्देश्यहरु  निम्नानुसार रहेका छन् ।

(क) कोरोना (COVID-19)लगायत विभिन्न प्रकारका रोग र बिपदबाट   नागरिकको जीवन रक्षा र जनजीवनलाई सुरक्षित बनाउने साथै जनताको       मौलिक हक अधिकारको रक्षा गर्दै सामाजिक परिचालन र सामाजिक  क्यबद्दता कायम गर्ने,

(ख) उपलब्ध श्रोत/साधनहरुको बुद्दीमत्तापूर्ण रुपमा परिचालन गर्दै  विकासका सबै आयामहरु समेट्ने गरी योजना छनौट एवं बजेट बिनियोजन   गरी कार्यान्वयन गर्ने,

(ग) छनौट भएका योजना/कार्यक्रमहरुको कार्यान्वयन संयन्त्र निर्माण र अनुगमन/मूल्याङकन लाई प्रभावकारी बनाउने,

(घ) जनतामा उद्यमशिलताको विकास गरी स्थानिय अर्थतन्त्रलाई चलायमान  बनांउदै जनताको जीवनस्तर, आम्दानी र अवसरहरुको सिर्जना गर्ने,

सभाध्यक्ष महोदय,

(१३) अव म आ.व. ०७८/०७९ को संक्षिप्त आय विवरण तथा संचालन गरिने प्रमुख कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गर्न अनुमती चाहन्छुः

आम्दानी तर्फः        राजश्व आम्दानीः

(क)         आन्तरिक राजश्व अनुमान रु  १ करोड ९३ लाख ५० हजार,

(ख)       संघिय राजश्व बांडफांड      रु ८ करोड ६४ लाख  ६३ हजार

(ग)       प्रदेश राजश्व बांडफांड     रु १ करोड ५३ लाख ९५ हजार ४ सय ७६        रुपिया ६० पैसा

जम्मा राजश्व बांडफांड रकम रु  १२ करोड  १२ लाख ८ हजार ४ सय ७६ रुपिया ६० पैसा

नेपाल सरकार (संघिय सरकार) वाट प्राप्त हुने अनुदानः

(क)       बित्तिय समानिकरण अनुदान रु  १२ करोड

(ख)       संघिय शसर्त (हस्तान्तरित)   रु   ३१ करोड ४५ लाख

(ग)       समपुरक अनुदान (‍मुसिकोट दरबार) रु  ७५ लाख

(घ)       बिशेष अनुदान   रु २ करोड ९८ लाख

जम्माः संघिय सरकारवाट प्राप्त हुने  रु  ४७ करोड १८ लाख  हजार

प्रदेश सरकारवाट प्राप्त हुने अनुदानः

            बित्तिय समानीकरण अनुदान – रु  ५६ लाख ४७ हजार

            सशर्त अनुदान      –      रु  १ करोड १५ लाख ४४ हजार

            समपुरक अनुदान –      रु २ करोड

            बिशेष अनुदान –     रु  ७० लाख (मूख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम)

जम्मा प्रदेश सरकारवाट प्राप्त हुने अनुदानः रु ४ करोड ४१ लाख ९१ हजार

 

विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट लागत साझेदारीमा प्राप्त हुने अनुदानः

(क)      प्रशासकीय भवनको लागि लागत साझेदारी रु २ करोड

(ख)      पर्यटन पूर्वाधार साझेदारी रु १ करोड ४ लाख

(ग)      बाख्रा उद्यम विकास परियोजना हेफर रु ३४ लाख

(घ)      वामीटक्सार १५ शैया अस्पताल ४ करोड

(ङ)      सामाजिक सुरक्षा भत्ता कार्यक्रम १२ करोड

(च)      सडक वोर्ड नेपाल ४५ लाख

(छ)     प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना खाद्य गोदाम लागत   साझेदारी ५० लाख

विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट लागत साझेदारीमा प्राप्त हुने जम्मा अनुदान रकम रु २० करोड ३३ लाख 

  • यसरी आर्थिक वर्ष २०७८/०७९ को लागी कुल आम्दानी तर्फ जम्मा रु ८४ करोड ४ लाख  ९९ हजार ४ सय ७६ रुपिया ६० पैसा प्रश्ताव गरेकी छु ।

(१४) त्यसै गरी नगरको व्यय तर्फ चालु खर्च रु. ६ करोड १६ लाख १८ हजार ३ सय

४५ रुपैया ६० पैसा,  नगरको अन्य पुँजिगत खर्च तर्फ रु. ८ करोड ११ लाख   ३७ हजार १ सय ३१ रुपैयाँ, विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु   सँगको गत   साझेदारी तर्फ १२ करोड १९ लाख, संघ तथा प्रदेश  सशर्त     कार्यक्रम तर्फ रु.   ३२ करोड ६० लाख ४४ हजार, संघ तथा प्रदेश विशेष अनुदान   तर्फ ३ करोड  ६८ लाख, संघ तथा प्रदेश समपुरक तर्फ रु ५ करोड ५० लाख, सामाजिक सुरक्षा तर्फ रु. १२ करोड, वडागत योजना पुँजिगत तर्फ रु ३ करोड ६२ लाख र वडा   सञ्चालन खर्च चालु तर्फ रु १८ लाख गरी  जम्मा व्यय रु. ८४   करोड ०४ लाख   ९९ हजार ४ सय ७६ रुपैयाँ ६० पैसा हुने अनुमान गरेकी छु ।

(१५)     संघीय सरकार तथा प्रदेश सरकारद्वारा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न विषयगत कार्यालय कृषि, पशु, शिक्षा र स्वास्थ्यतर्फ सशर्त अनुदानको रुपमा प्राप्त रु. ३२ करोड ६० लाख ४४ हजार रुपैयाँ, सामाजिक सुरक्षा तर्फको रु १२ करोड, विशेष अनुदान तर्फको ३ करोड ६८ लाख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको लागत साझेदारी तर्फको रु १२ करोड १९ लाख र समपूरक अनुदान तर्फको ५ करोड ५० लाख जस्ताको तस्तै सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने भएकाले सो तर्फ कुनै आयोजना र कार्यक्रम बनाइरहनु परेन,

संघीय तथा प्रदेश सरकारद्वारा प्राप्त भएको वित्तीय समानीकरण अनुदान, राजश्व वाँडफाँडको रकम र आन्तरिक आयबाट बाँकी हुन आउने कुल रकम रु १८ करोड ७ लाख ५५ हजार ४ शय ७६ रुपैयाँ ६० पैसाको मात्र कार्यक्रम बनाउनु पर्ने भएकोमा यस नगर कार्यपालिकाको कार्यालय तर्फ रु ६ करोड १६ लाख १८ हजार ३ शय ४५ रुपिँया ६० पैसा र वडा कार्यालय सञ्चालन तर्फ रु १८ लाख गरी चालु तर्फ जम्मा रु. ६ करोड ३४ लाख १८ हजार ३ शय ४५ रुपैयाँ ६० पैसा विनियोजन गरेकी छु । जुन कूल आय रकमको ७.५५ प्रतिशत हुन आउँछ भने पुँजिगत तर्फ (विकास, आयोजना, कार्यक्रम)का लागि रु. ११ करोड ७३ लाख  ३७ हजार १ सय ३१ रुपैयाँ विनियोजन गरेको छु ।

यसरी पुँजिगत तर्फ छुट्याइएको रु. ११  करोड ७३ लाख  ३७ हजार १ सय ३१ रुपैयाँ मध्ये नगरपालिका भर कार्यान्वयन हुने योजना र  वडागत सिलिङको आधारमा ९ वटा वडा समितिको कार्यालयबाट बस्ती स्तर हुँदै सहभागितामुलक तवरले सात वटा बजेट तर्जुमाका चरणहरु पुरा गरी ल्याइएका कुल आयोजना र कार्यक्रमको लागि  बजेट विनियोजन गरेको छु । कार्यान्वयनको हिसाबले सहजता होस भन्ने ध्येयले कृषि¸ स्वास्थ्य¸ लैङ्गिक समानता तथा समावेशीकरणमा छुट्ट्याईएको वजेट वडाबाटै सिफारिस भई आएका कार्यक्रममा एकीकृत रुपले समावेश गरिएकोले वास्तविक वडागत विषयगत वजेट रकम रु. ३ करोड ८० लाख रुपैयाँ भएको जानकारी गराउँदछु । विभिन्न समितिहरुले आवश्यकता पहिचान गरेका भवन निर्माण, ठुला आयोजना लगायतका विभिन्न आयोजना कार्यक्रमहरुमा रु. ८ करोड ११ लाख ३७ हजार १३१ रुपैयाँ विनियोजन गरेकी छु ।

(१६)अब म देहाय बमोजिम नगरपालिका स्तरीय कार्यक्रम तथा आयोजनाहरुलाई वर्गीकरण गरिएको वजेट व्यवस्थाका  सम्बन्धमा जानकारी गराउँछु ।

आर्थिक बिकास

(१७)जमिन बाँजो राख्ने प्रबृतिलाई निरुत्साहित गर्दै निर्वाहमुखी कृषिमा आधुनिकीकरण, यान्त्रीकिकरण, व्यावसायिकरण गरी यसमा आश्रीत जनशक्तिको आर्थिक उपार्जनमा बृर्दि गरी आत्मनिर्भर कृषक बनाउनका लागि हाम्रो प्रयास जारी रहनेछ । नगरपालिकाको जमिन जथाभावी खण्डिकरण गर्ने प्रवृतिलाई निरुत्साहित गरिने छ । कृषिमा उत्पादन र उतपादकत्व बढाउनको लागि उन्नत जातका विउको प्रयोग¸सिचाइ सुविधाको विस्तार, माटो सुहाउँदो खेती प्रणाली, हाते ट्याक्टर आदिको व्यस्था गरेकी छु ।

(१८) मागमा आधारित कृषि तथा पशुपालन कार्यक्रमलाइ प्राथमिकता दिइने छ ।

(१९) बिगतमा भन्ने गरिएको “उत्तम कृषि, मध्यम ब्यापार, निम्न नोकरी” भन्ने भनाईमा परिवर्तन आई आजका दिनहरुमा “उत्तम ब्यापार, मध्यम नोकरी, निम्न कृषि” भन्ने कुरा चरितार्थ भएको छ । नेपाल कृषिको लागि उत्तम भूमी हो । त्यसमा पनि मुसिकोटको भूगोल कृषिको लागि उत्तम छ भन्ने हाम्रो ठम्याई छ । सो अनुरुप “उत्तम कृषि, मध्यम ब्यापार, निम्न नोकरी भन्ने कुरालाइ पुनः स्थापित गर्नु परेको छ ।

(२०) नगरपालिकामा उत्पादित कृषि उपजहरुको बिक्रि बितरणमा सहजता ल्याउन “कोशेली घर” एवं हाटबजारको ब्यवस्थालाई उद्यमशिलता विकास अन्तर्गत कार्यक्रम संचालन गरिने छ  ।

(२१)तुलनातमक लाभका वस्तुहरु पहिचान र व्यवसायी करणमा जोड दिन र स्थानिय उत्पादनवाट लघु उद्यम संचालन गर्न विशेष प्राथमिकता दिईने छ ।

(२२)नीजि, सार्वजनिक र सहकारीको माध्यमवाट स्थानिय अर्थतन्त्रको उन्नयन गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई छ । नीजि क्षेत्रलाई प्रोत्साहन, सार्वजनिक क्षेत्रलाई क्षमतावान र सहकारी क्षेत्रलाई आकर्षण जस्ता विषयहरुलाई समेट्दै हाम्रो बजेट तथा कार्यक्रम बनेको हुदां सबै क्षेत्रलाई समेट्ने गरी बजेट तर्जुमा गरिएको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

(२३) फलफुलका विरुवा वितरण, थोपा सिंचाई, च्याउको विउ वितरण, कागती विशेष कार्यक्रम, अन्न बाली बिउ वितरण, बिदेशवाट फर्किएका युवाहरुको लागि लक्षित कार्यक्रम, प्लाष्टिक पोखरी निर्माण जस्ता गतिबिधिहरुको लागि कृषि कार्यक्रम केन्द्रित हुने छन् ।

(२४)कृषि हाम्रो मुल पहिचान हो ¸कृषि हाम्रो संकृति हो¸कृषि र पशुपालनमा तुलनात्मक लाभका वस्तुहरु उत्पादन गरि उद्धमशिलता विकास गर्ने उद्देश्य हाम्रो रहि आएको छ ।सामूदायिक बिकासका लागि  बाख्रा बिकास परियोजना (HEIFER) कार्यक्रम यस नगरपालिकामा बिगत वर्षमा संझौताभइ कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । यसको निम्ती आगामी आ.व.को लागि रु १ करोड बिनियोजन गरेको छु ।

(२५) पशु सेवा तर्फ व्यावसायिक कृषकहरुको लागि गोठ सुधार, खोर सुधारको लागि अनुदानको व्यवस्था गरी हरेक  दक्ष, सिपयुक्त जनशक्तिलाई यसतर्फ आकर्षित गरी पूर्ण व्यावसायिक बनाउने नगरपालिकाको सोंच रहेको छ ।

(२६) उन्नत घांस विउ वितरण, पशु औषधि खरिद, भ्याक्सीनेसन कार्यक्रम, माछापालनमा अनुदान, कृतिम गर्भाधान, विभिन्न तालिमहरु, खोप कार्यक्रम, कृषक पाठशाला, प्राकृतिक गर्भाधान, सरोकारवालाहरुसंग अन्तरक्रिया, पशु स्वास्थ्य शिविर, कफि लगाऔं आम्दानी बढाऔं, कृषि बाली संरक्षण रोग किरा नियन्त्रण, कृषि तालिम लगायत क्रियाकलावको  लागि कृषि र पशु सम्बन्धी फरक फरक कार्यक्रममा नगर तर्फ रु. २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु । यसमा शसर्त तर्फ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पकेट/ब्लक कार्यक्रम, उन्नत बिउ बितरण जस्ता कार्यक्रम कार्यान्वयन गरिने छ ।

(२७) आर्थिक बिकासमा मूख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमलाइ आबद्द गरिने ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

(२८)उद्यमशिलता बिकास गर्नको निमित्त घरेलु उद्योगहरुलाई संरक्षण र सम्बर्द्धन गरी यिनीहरुलाई परिस्कृत गर्न प्रविधिको अनुशरण गरी जनजीविकालाई सहज बनाउनको लागि बजेटको ब्यवस्था गरेकी छु । आत्मनिर्भर नगरपालिका बनाउने अभियानमा हाम्रो क्षेत्रमा विकास र सञ्चालन हुन सक्ने उद्योगको लागि सम्भाव्यताको खोजी हुनेछ । चालु आ.व.मा संचालित “गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम” आगामी आ.व.मा पनि संचालन हुने ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।

(२९)यस नगरपालिका क्षेत्रभित्र प्राकृतिक, साँस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरु र विभिन्न देवी देवताका मठमन्दिर, विभिन्न जात जातीहरुको संगम स्थल भएकोले पर्यटनको प्रवर्द्धन र सञ्चालन हुन सक्ने सम्भाव्यता छ । “कृषि, पर्यटन, पूर्वाधार र रोजगार सम्मृद्द मुसिकोट नगरपालिकाको आधार”भन्ने हाम्रो नारालाई सार्थक तुल्याइ यस नगरपालिकालाई आन्तरिक पयर्टनको आकर्षक स्थल बनाइ पर्यटन प्रवदर्धन गरी पर्यटनबाट प्राप्त आयको समन्यायिक वितरण गरी जनताको जीवनस्तरमा सुधार गर्नको लागि पर्यटन प्रवर्द्धन तर्फ प्रदेश र संघिय सरकार सँगको साझेदारीमा  रु. २ करोड २५ लाख   बजेट विनियोजन भएको छ  ।

(३०) समग्र राष्ट्रले सहकारीलाई आर्थिक विकासको प्रमुख आधार स्तम्भ मानेको वर्तमान अवस्थामा मुसिकोट नगरपालिका भित्र छरिएको स-सानो पूँजीलाई नगरपालिकाको समग्र विकासका लागि संकलन गर्ने, परिचालन गर्ने, नियमन र अनुगमनको व्यवस्था साथै सहकारीको माध्यमबाट आर्थिक सामाजिक विकास गरी समुदायमा आधारित ग्रामिण आत्मनिर्भर अर्थतन्त्रको अवलम्वनको आवश्यकता छ । सहकारीको क्षमता विकास कार्यक्रमको लागि रु  ३  लाख बजेट व्यवस्था गरेको छु  ।

(३१) आर्थिक विकास शिर्षक अन्तर्गत आगामी आ.व. २०७८/०७९ को लागि नगर तर्फ जम्मा रकम रु ४ करोड ७ लाख ४६ हजार बिनियोजन गरेको छु जुन नगर तर्फको कुल बजेटको १७ प्रतिशत हुन आंउदछ ।

सामाजिक विकास

(३२) शिक्षा  समाज रुपान्तरणको साधन हो, शिक्षामा लगानी बिना  मानब बिकास अपुरो रहन्छ । शिक्षा क्षेत्रमा बिभिन्न गतिबिधिहरु संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरेकी छु ।

(३३)नगरपालिका भित्रका विद्यालयहरुलाई व्यवस्थित तवरले सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएका विद्यालयहरुको पुर्वाधारहरुको विकासका लागि पुनः निर्माण प्राधिकरण र संघिय शिशेष अनुदान मार्फत विभिन्न विद्यालयका भवनहरु सम्पन्नको चरणमा रहेका छन् । एक मात्र नमूना माध्यमिक बिद्यालय (श्री महेन्द्र मा.बि.)  को उल्लेख्य भौतिक पूर्वाधारका कामहरु सम्पन्नको चरणमा रहेका छन् र आगामी आ.व.मा पनि पूर्वाधारको लागि बजेट प्राप्त हुने सुनिश्चितता भएको छ ।

  • बालविकास केन्द्रका सहजकर्ताहरु र बिद्यालय कर्मचारीहरुको तलब उल्लेख्य बृद्दिको ब्यवस्था गरेकी छु ।
  • विद्यालयमा विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापमा जोड दिईने छ ।
  • विद्यालयमा हरियाली प्रबर्धन गर्न पूर्वाधार निर्माण गर्दा ध्यान दिईने छ ।
  • विद्यालयमा प्राथमिक स्वास्थ्य उपचारको निम्ति आवश्यक प्रवन्ध मिलाईने छ ।
  • विद्यार्थिहरुलाई विद्यालयमा “ल्याउन, टिकाउन र सिकाउन” लगायतका कार्यक्रमको लागि समेत वार्षिक नीति र कार्यक्रममा उल्लेख भएका कुराहरु यथासक्य श्रोत साधनको आधारमा कार्यान्वयन गरिने छ ।

(३४) शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रकम ब्यवस्था गरेको साथै शिक्षामा विभिन्न प्रवर्धनात्मक कार्यक्रम संचालन गरी समग्र शिक्षा क्षेत्रलाई गुणस्तरीय, प्रतिस्पर्धि र व्यावसायिक बनाउन जोड दिनुका साथै कोभिड – १९ सिकाइ सहजीकरणका लागी संघिय सरकारको तर्फवाट आवश्यक बजेटको ब्यवस्था भएको छ ।  शिक्षा क्षेत्रमा सशर्त अनुदानको अलावा रु.१ करोड ६३ लाख ५८ हजार ७० रुपैयाँ विनियोजन गरेकी छु  ।

(३५) आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारको विषय भएकोले स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा राख्न तथा यो सेवा सहज सरल र सर्वसुलभ रुपमा अनभुत हुने गरी प्रत्याभुत गर्न प्रत्येक स्वास्थ्य सस्थाहरुको सवलिकरणका लागि आवश्यक व्यवस्था गरेकी छु  ।

(३६) स्वास्थ्य सस्थाहरुमा जस्तोसुकै अवस्थामा पनि औषधीको नियमित आपुर्ति गर्नको लागि औषधी खरिदको लागि रकमको जोहो गरेकी छु । ‍औषधि खरिद तर्फ शसर्तका अलवा रु १० लाख ब्यवस्था गरेको छु ।  स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउनुका साथै स्वास्थ्य संस्थामा जनशक्तिको प्रर्याप्त व्यवस्था मिलाउनको लागि आवश्यक व्यवस्था गरेकी छु ।

(३७) आयुर्बेद एवं प्राकृतिक चिकित्सा पद्धति प्रतिको धारणा विकास गर्न जिल्ला आयुर्वेद केन्द्रको सहयोगमा स्वस्थ्य शिविरको ब्यवस्था गरिने छ । (३८) सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाइ प्रबिधि मैत्री बनाउने काम सम्पन्न भएको छ । यसले गर्दा सेवा ग्राहीले सुलभ ढंगबाट यो सबिधा लिने सुनिश्चितता भएको छ ।

(३९) बहु क्षेत्रीय पोषण कार्यक्रमलाई समन्वयात्मक ढंगले कार्यान्वयन गरिने छ, यसको  लागि प्रदेश सरकारको तर्फवाट आवश्यक बजेटको ब्यवस्था भएको छ । (४०) महिला स्वास्थ्य स्वयं सेविकाका लागि विभिन्न प्रोत्साहन मूलक कार्यक्रमहरु ससमावेश गरिएका छन् ।

(४१) हाम्रो स्वामित्वमा रहेका ७ वटा एम्बुलेन्सहरु हाम्रा सम्पत्ति हुन् बिरामीको सुबिधाको लागि यिनको उचित ब्यवस्थापन गरिने छ ।(४२) स्वास्थ्य संथाहरुको  सेवा,प्रवाहलाई चुस्त दुरुस्त राख्नुका साथै जनताको गुनासो लाई शून्य पार्ने प्रयास गरिने छ ।

(४३) समग्र स्वास्थ्य सेवा तर्फ सशर्त वाहेक समानीकरण अनुदानबाट रु. १ करोड ५५ लाख १८ हजार २ शय २० रुपैयाँ विनियोजन गरेको छु । (४४) हाम्रा आफ्नै एवं संघ र प्रदेश सरकार समेतको सहकार्यमा खानेपानीका गौरबका आयोजनाहरु सम्पन्न भएका छन् र सम्पन्नको चरणमा छन् । एक घर एक धाराको अभियान सम्पन्नको चरणमा हामी छौं ।

(४५) चालु आ.व.मा कार्यान्वयन सम्पन्न हुने आयोजनहरुवाट समेत “एक घर, एक धारा” को हाम्रो अभियानलाई टेवा पुग्ने छ भन्ने कुरा यस सम्मानित सभामा जानकारी गराउन पांउदा खुशी लागेको छ । (४६) फोहरमैला ब्यवस्थापनको लागि डम्पीङ साईट निर्माण संभाब्यता अध्ययन र पूर्बाधारको निम्ती बजेटको ब्यवस्था गरेकी छु ।

(४७) खानेपानीलाई सरसफाइसँग जोडेर स्वास्थ्य र पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउन संघिय सरकार वाट  बिशेष अनुदानका अतिरिक्त अन्य अनुदान र नगरपालिकाको तर्फवाट आवश्यक बजेट ब्यवस्था गरेकी छु । (४८) समाज रुपान्तरणको प्रमूख पक्ष सामाजिक परिचालन र सामाजिक सांस्कृतिक ऐक्यबद्धता भएकोले यस पक्षमा विशेष ध्यान दिंदै टोल बिकास संस्था गठन गर्न रु ४ लाख ५० हजार बजेटको ब्यवस्था गरेकी छु ।

(४९) परम्परागत संस्कृती हरुको उन्नयन गर्न आवश्यक बजेटको ब्यवस्था गरेकी छु । (५०) यो नगरपालिका विविध संस्कृतिको संगम भएको नगरपालिका हो, यहाँको समुदायमा विविध जात जातीहरु विभिन्न धर्मावलम्वीको वासस्थान भएकोले सामाजिक सांस्कृतिक सदभाव, समन्वय र,साझेदारीताको लागि चालु आ.व.मा नै केही कार्यक्रमहरु शुरु गरिएकोमा आगामी आ.ब मा पनि तीनिहरुलाई निरन्तरताको व्यवस्था गरेकी छु  ।

(५१) धार्मिक एवं सास्कृतिक क्षेत्रको बिकासको लागि संघ एवं प्रदेश सरकारको लागत साझेदारीमा उल्लेख्य रकम बिनियोजन भएको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु । (५२) त्यस्तै सांस्कृतिक क्षेत्रमा अन्य गौरब गर्न लायक कामहरु भएको हामीले महशुस गरेका छौं । समग्र संस्कृति प्रवर्द्धन एवम् खेलकुद तथा मनोरञ्जन अन्तर्गत विभिन्न कार्यक्रमहरुको लागि  रु. ५ लाख  विनियोजन गरेकी छु ।

(५३) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ आवश्यक बजेट ब्यवस्था गरेकी छु । (५४) सामाजिक सुरक्षा तथा ब्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढुकरण आयोजना अन्तर्गत सशर्त अनुदान तर्फ प्राप्त बजेट बमोजिमको कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने छ । अपाङ्ग लक्षित कार्यक्रमको लागि रु २ लाख छुट्टाएको छु । युवा लक्षित कार्यक्रमको लागि रु ७ लाख, खानेपानी पूर्ण सरसफाइ तालिम र खानेपानी समिति संस्थागत क्षमता बिकास तालिमको लागि गरि रु ८ लाख बजेट ब्यवस्था गरेकी छु ।

(५५) शिक्षा तर्फ अन्य क्रियाकलापका अतिरिक्त तपशिल बमोजिमका प्रभावकारी कार्यक्रमको लागि बजेटको ब्यवस्था गरेकी छु,

  • मा.बि. इन्टरनेट जडान तथा सफ्टवेयर रु ५ लाख
  • अनाथ बालबालिका सहयोग रु ५० हजार
  • सामूदायिक बिधालयका शिक्षकहरुलाइ पालिकास्तरिय परिचयपत्र बितरण रु १ लाख
  • शैक्षिक ब्यालेण्डर निरमाण रु १ लाख
  • स्थानिय पाठ्यक्रम निर्माण रु ५ लाख
  • शिक्षक कम्प्यूटर आधारभूत तालिम रु १ लाख ५० हजार

(५६) स्वास्थ्य तर्फ अन्य क्रियाकलाबका अतिरिक्त तपशिल बमोजिमका प्रभावकारी कार्यक्रमको लागि बजेटको ब्यवस्था गररेकी छु,

  • जेष्ठ नागरिक सुगर रोग परिक्षण किट रु १ लाख
  • स्वास्थ्य शिबिर सञ्चालन रु ३ लाख
  • बिपन्न नागरिकका लागि औषधि उपचार राहत अनुदान रु १० लाख
  • गर्भवतिसंग उपप्रमुख कार्यक्रम रु ५ लाख
  • उत्कृष्ट महिला स्वास्थ्य स्वयम् सेबिका अन्तर पालिका भ्रमण रु ३ लाख
  • फरक क्षमता भएका ब्यक्तिका लागि सामाग्री रु २ लाख
  • महिला तथा बालबालिका लक्षित कार्यक्रम रु ५ लाख
  • आदिबासी जनजाती तथा दलित लक्षित परम्परागत शिप तथा संस्कृती संरक्षण कार्यक्रम रु १० लाख

(५७) विभिन्न शिपमुलक तालिम, अभिमुखीकरण कार्यक्रम,अन्तरक्रिया कार्यक्रम, जातिय भेदभाव बिरुद्ध कानूनी सचेतना कार्यक्रमको लागि बित्तिय समानिकरण तर्फ आवश्यक बजेट विनियोजन गरेकी छु । (५८) सामाजिक बिकास तर्फ संघ एवं प्रदेश तर्फको शसर्त र अन्य अनुदानका अतिरिक्त रु ३ करोड ६१ लाख २६ हजार २ शय ९० रुपिँया रकम ब्यवस्था गरेकी छु । जुन कुल नगर तर्फको बजेटको १७ प्रतिशत हुन आउंदछ ।

पुर्वाधार विकास

(५९)विकास र वातावरणलाई तादाम्यता कायम गरी पूर्वाधार विकासको कामलाई अगाडि बढाईने कुरा नीति तथा कार्यक्रममा प्रश्तुत भईसकेको छ । सडक सञ्जाल ब्यापक विस्तार भईसकेको सन्दर्भमा सो को स्तरोन्नती गर्न संघ र प्रदेश सरकारसँग विशेष पहल गरिनुका साथै नगरपालिकाको आफ्नो श्रोत परिचालनमा विशेष जोड दिईने छ । नगरपालिका भित्रका सडकहरुमा स्थानीय जनताहरुको सहभागितामा नाली निर्माण कार्यक्रमलाई निरन्तरता दिईने छ ।

(६०) विकासका सबै आयामहरुले समेटिएको विकासको निम्ति “दीगो विकासका लक्ष्यहरु” तर्फ केन्द्रित रही गतिविधिहरु अगाडी बढाइनेछ । (६१) चालु आ.व.२०७७/०७८ मा संझौता भइ कार्यान्वयनमा रहेको नगरपालिकाको प्रशासकीय भवन बहुवर्षिय ठेक्का भएको, नगर र संघिय सरकारको ५०/५० को  लगानीमा निर्माण हुने भएकोले आगामी आ.व.को लागि रु २ करोड बजेट छुट्टाएको छु ।

(६२) चालु आ.व. मा कोभिडको कारण अनुमानित आन्तरिक र संघ एवं प्रदेश सरकारवाट प्राप्त हुनु पर्ने राजश्वमा कमि आउने कारण रु १ करोड ५० लाख आगामी आ.व.को लागी दायीत्व ब्यवस्था गरिएको छ, यो रकम पूर्वाधार तर्फको दायित्व देखिन्छ । त्यस्तै बिभिन्न पक्षहरुवाट लगानीको लागि साझेदारी गर्न रु १ करोड ब्यवस्था गरिएको छ । चालु आ.व.को र अनिवार्य दायित्व – अन्तर्गत, तपशिल बमोजिम बजेट ब्यवस्था गरेकी छु,

  • मन्टेपाटा प्रहरी चौकी बाटोको लागि रु २८ करोड ७२ लाख ८४१
  • प्रदेश समपुरकको लागि रु २ करोड
  • संघिय समपुरकको लागि रु ७५ लाख बजेट ब्यवस्था गरेकी छु ।
  • प्रशासकिय भवन निर्माणको लागि रु २ करोड
  • वडा नं ८ को वडा भवनको लागि रु ५८ लाख
  • जग्गा प्राप्तीको लागि रु २१ लाख

(६३) त्यसैगरी सिँचाइ आयोजना र नगरपालिकाको क्षेत्र भित्र भवन तथा शहरी विकासको लागि आवश्यक वजेट विनियोजन गरेकी छु । (६४) त्यसैगरी सञ्चार क्षेत्रको विकासको लागि आवश्यक वजेट विनियोजन गरेकी छु ।

(६५) पूर्वाधार बिकासमा संघ र प्रदेश सरकारको तर्फवाट प्रशस्त कामहरु भइरहेका र सम्पन्नको चरणमा रहेका छन् । बिद्यालय पूर्वाधार, पुनःनिर्माण तर्फ, राष्ट्रपति शैक्षिक सुधार लगायत सडक निर्माणका कार्यहरु भइरहेको ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम र सडक बोर्डको कार्यक्रमलाइ पूर्वाधार बिकास कार्यक्रममा आबद्द गरिने ब्यहोरा प्रतिबद्दता ब्यक्त गर्दछु । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आगामी आ .व. मा पूर्ण खरका छाना मूक्त नगरपालिका घोषणा गरिने छ ।

(६६) बिद्युत आपूर्तिर्लाइ भरपर्दो बनाउन नगरपालिकाको मुकाम लगायत अन्य  बस्तीहरुमा राष्ट्रिय प्रशारण लाईनको विस्तार गरिएको र बिस्तार हुन नसकेका अन्य वस्तीहरुमा पनि  राष्ट्रिय प्रशारण लाईनको विस्तारलाइ थप  निरन्तरता दिइने छ । सामूदायिक ग्रामिण बिद्युतिकरण तर्फ प्रणाली सुदृढिकरण र क्षमता अभिबृद्दि गर्ने कार्यलाइ प्राथमिकता दिइने छ ।  नगरपालिका भित्र रहेका सम्पूर्ण साना तथा लघु जलविद्युत आयोजनाहरुलाई एकीकृत गर्दै ग्रीडिङ, विद्युत प्राधिकरणसँग समन्वय गरी विक्रीको सुनिश्चित गर्ने काम अगाडी बढाउन बिशेष पहल गरिने छ ।

(६७) उज्यालो नगरपालिका अन्तर्गत बैकल्पीक उर्जाको माध्यमवाट सौर्य सडक बत्ति जोड्ने कामलाइ चालु आ.व.मा कतिपय वडाका महत्वपूर्ण स्थानहरुमा जडान गरिएको र यस लाइ अझ बिस्तार गर्न बैकल्पीक उर्जा प्रबर्धन केन्द्रसंग  समन्वय गरिने छ । (६८) पूर्वाधार बिकास तर्फ आगामी आ.व. २०७८/०७९ को लागी जम्मा रु .६ करोड २५ लाख २ हजार ८ शय ४१ रुपिँया बजेटको ब्यवस्था गरेको छु । जुन कुल नगर तर्फको बजेटको २५ प्रतिशत हुन आउंदछ ।

वन, वातावरण र विपद् व्यवस्थापन

(६९)बिपदबाट बच्न र जनधनको क्षतिवाट बचाउन नगरपालिका स्तरिय बिपद् ब्यवस्थापन समितिलाई चुस्त र दुरुस्त बनाउनुका साथै अन्य सहयोगी संस्थाहरुको साथ र सहयोग लिईने छ ।बिपद् प्रतिकार्य योजना बनाउने काम सम्पन्न भएको छ । बिकास निर्माणलाई वातावरणसंग सन्तुलन कायम गर्न जोड दिईने छ । वातावरण र जैविक विविधताको संरक्षण, सम्वर्धन, प्रवर्धन र सदुपयोगमा जोड दिइने कार्यलाई प्राथमिकता दिईनेछ ।

(७०)मानबीय सीप, स्थानिय श्रोत, साधनको प्रयोगलाई प्रोत्साहन गर्न अत्यावश्यक वाहेक हेभी इक्विपमेन्टको प्रयोगलाई निरुत्साहित गरिनेछ । प्रचलित कानून बमोजिम डि.पि.आर.,आई.ई.ई. र माटो परिक्षण गरेर मात्र भवन बनाउने, सडक खन्ने, माटो, बालुवा, ढुङ्गा उत्खनन गर्ने कार्य गरिनेछ ।

(७१) वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अन्तर्गत वन तथा भूसंरक्षण क्षेत्र तर्फ आवश्यक बजेट विनियोजन गरेकी छु । (७२)पाटी पौवा संरक्षण तर्फ रु. २लाख रुपैयाँ विनियोजन गरेकी छु । (७३)फोहर ब्यवस्थापन तथा संचालन गर्न रु ५ लाख विनियोजन गरेकी छु ।

(७४)डम्पीङ साइट सम्भाब्यता अध्ययन गर्न रु २ लाख ५० हजार  विनियोजन गरेकी छु । (७५) त्यसैगरी नगरपालिका क्षेत्र भित्र आउने प्राकृतिक तथा मानव सिर्जित विपद् व्यवस्थापनका लागि गत बिगत  आ.व. हरुमा शुरु गरिएको विपद् व्यवस्थापन कोषमा अन्य वडा, संघ संस्थाका अतिरिक्त रु ५५ लाख बिनियोजन गरेकी छु । (७६) वन, वातावरण र विपद् व्यवस्थापन तर्फ अन्य विभिन्न शिर्षकमा आगामी आ.व.२०७८/०७९ को लागि रु ३२ लाअ ९० हजार बिनियोजन गरेकी छु ।

न्यायिक समिति ब्यवस्थापन

(७७)गत आ.व. २०७६/०७७ मा प्रत्येक वडावाट ३/३ जनाका दरले २७ जना मेलमिलाप कर्तालाई तालिम दिने काम सम्पन्न भएको छ । न्याय सम्पादन र मेलमिलापको काममा यसले ठूलो मद्दत पुर्‍याउने कुरामा हामी बिश्वस्त छौं । आगामी आ.व.२०७८/०७९ को न्यायिक समिति ब्यवस्थापन अन्तर्गत न्यायिक ब्यवस्थापन, कानूनी परामर्श कार्यका लागि रु २ लाख ५० हजार बिनियोजन गरेको छु । मेलमिलाप कर्ता तालिम र पारीश्रमिकको लागि रु २ लाख ५० हजार बिनियोजन गरेकी छु ।

(७८) नगरपालिकाद्वारा अधिकारका सूची अन्तर्गत निर्मित कानूनहरु स्थानिय राजपत्रमा प्रकाशन गरिसकेका छौं । कानून निर्माण प्रक्रियालाई अझ सरल र दक्षता पूर्वक सम्पादन गर्न आवश्यक पहल गरिने छ । यस अन्तर्गत न्यायिक ब्यवस्थापन तर्फ रु  ५लाख विनियोजन गरेकी छु ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

(७९) जनताको घरदैलोको सरकारको उपस्थिति वडा कार्यालयहरुले जनाएका छन् जहाँ दरबन्दी अनुरुपका अधिकांस पदहरु रिक्त रहेका छन् । पद पूर्ती हुन वाँकी दरबन्दीमा कतिपय कानूनी कुराले रोकिएको छ भने रिक्त वाँकी पदहरु यथाशिघ्र पद पूर्तिको लागि प्रकृया अगाडि बढाईनेछ ।

(८०) जनताको नजिकको सरकारको पहिचान दिने सेवा प्रवाह इकाइहरु वडा कार्यालय हुन । यि कार्यालयको ब्यवस्थापकिय पक्षमा बिशेष ध्यान दिइने छ । ब्यवस्थापकिय खर्च बृद्दी गरिनुका साथै नीति तथा कार्यक्रमको ब्यवस्था बमोजिम समग्र नगरपालिकाको तर्फवाट उत्कृष्ट कर्मचारी पुरस्कृत गरिनुका साथै वडा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाइ आगामी वर्ष देखि पुरस्कृत गर्ने कामको थालनी गरिने छ ।

(८१)सेवा ग्राहीलाई सम्मान पूर्वक सेवा प्राप्त गर्ने हक स्थापित गरिने छ । कर्मचारीको क्षमता अभिबृद्धि गर्न र प्रोत्साहन मूलक गतिबिधिको लागि प्रशस्त बजेटको ब्यवस्था गरिएकी छ । (८२)कार्यालयको कामलाई सूचना प्रविधि मैत्री बनाई पछिल्लो प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिईने छ । निर्णय प्रक्रियालाई छिटो छरितो बनाई सरकारी काममा ढिला सुस्ती हुन दिईने छैन् । कागजी कामलाई क्रमश: न्यून गर्दै लगी प्रविधिको प्रयोगलाई अत्यधिक महत्व दिईने छ ।

(८३)योजना शाखा र खरिद ईकाईलाई थप क्षमतावान बनाई परिणाम मुखि बनाईने छ । (८४)कार्यालयमा वार्षिक कार्यक्रम तथा बजेट, पुस्तिका प्रकाशन, जानकारी मूलक प्रकाशनहरु, स्थानीय पत्रपत्रिका, वेवसाईट अध्यावधिक, एफ.एम मार्फत गतिविधिहरु सार्वजनिकीकरण, कार्यालयका गतिविधिहरुलाई चौमासिक समिक्षा गोष्ठी, सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरिक्षण, कार्यालयमा सूचना पाटी, हेल्प डेस्को ब्यवस्थालगायतका सुशासनसंग सम्वन्धित कुराहरुलाई प्रभावकारी बनाउन प्रयाप्त बजेटको ब्यवस्था गरेकी छु ।

(८५)नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयनको लागि सचेतना अभियान संचालन गरिनेछ । वडा कार्यालय¸स्वास्थ्य संस्था¸विद्यालयहरुमा सूझाब पेटिका राख्ने कामलाई प्राथमिकता दिईनेछ ।

(८६) आगामिआ.व २०७८/०७९ मा सुशासन प्रबर्धन निमित्त नगर कार्यपालिकाको कार्यालयका गतिबिधिहरुलाई सेवाग्राहिले देख्नेगरी डिजिटल वडा पत्र र नोटीस बोर्डको व्यवस्था गरिनेछ र सुशासन प्रबर्धनमा बिशेष प्राथमिकता दिईने छ । मुसिकोट नगरपालिका भित्रका बाँकी रहेका विद्यालयहरुमा बिद्युतिय हाजिरी राख्ने कामलाई  चालु आ.व राख्न प्राथमिकता दिइने छ ।

(८७)नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा बिद्युतिय हाजिरी जडान गर्ने कार्य सम्पन्न भईसकेको छ । राष्ट्रिय परिचय पत्र र गरिव घर परिवार पहिचान परिचय पत्र बितरणको कामलाइ सम्पन्न गरिने छ ।

(८८) सार्वजनिक प्रशासन संचालनतर्फ  चालु कार्यक्रम अन्तर्गत रु  ६ करोड  १६ लाख १८ हजार ३ शय ४५ रुपिँया ६० पैसा बजेट बिनियोजन गरेको छु । सुरक्षा व्यवस्थापन क्षेत्र तर्फ रु.  ९ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छु । सूचना प्रविधि क्षेत्र तर्फ रु. ५ लाख रुपैयाँ विनियोजन गरेको छु । पञ्जीरकरण व्यवस्थापन, स्थानीय तहको स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन र सुशासन प्रवर्द्धनका लागि समेत आवश्यक वजेट विनियोजन गरेको छु । त्यसैगरी अन्य वर्गीकृत नभएको शीर्षक अन्तर्गत फर्निचर, मेशीनरी औजारको लागि रु.  १० लाख रुपैयाँ विनियोजन गरेकी  छु ।

(८९) आकस्मिक मर्मत संभारका लागि मर्मत संभार कोषबाट खर्च गर्नका लागि रु. १० लाखको मर्मत संभार कोष र स्थानीय तहमा रहेका साविक स्थानीय निकायबाट स्थायी भई कामकाज गरेका कर्मचारीहरुको सेवा सुविधाका लागि रु.   ५ लाखको कर्मचारी कल्याण कोषको व्यवस्था गरेकी छु । (९०)यस नगरपालिका भित्र सामाजिक परिचालनको माध्ययमबाट जनतालाई प्रत्यक्ष रुपमा देख्न¸ छाम्न र अनुभूत गर्न पाउने स्थानीय सरकारको आभाष दिलाउनको लागि सामाजिक परिचालनको क्षेत्रमा आवश्यक वजेट विनियोजन गरेकी छु ।

(९१) यसै सम्मानित सभा समक्ष मिति २०७८ आषाढ ०७ गते पेश भएको नीति तथा कार्यक्रम नै हाम्रो आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रमको मूख्य आधार भएकोले नीति तथा कार्यक्रममा उल्लेख भई छुट हुन गएका कतिपय विषयहरु यसै बजेट तथा कार्यक्रममा समाबेश गरी कार्यान्वयन गरिने ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

(९२) संस्थागत विकास, सेवा प्रवाह र सुशासन शिर्शक अन्तर्गत संघ, प्रदेश र अन्य बिषयगत क्षेत्रका अतिरिक्त आगामी आ.व. २०७८/०७९ को लागी रु ६करोड १६ लाख १हजार ३४६ बजेट ब्यवस्था गरेको छु जुन नगर तर्फको कुल बजेटको २५ प्रतिशत हुन आंउदछ ।

सभाध्यक्ष महोदय, सभासदस्य ज्यूहरु, उपस्थित महानुभावहरु, अन्त्यमा,

(९३) मुसिकोटको समष्टिगत विकासका लागि सहयोग पुर्याउने नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोग, नेपाल सरकारका विषयगत मन्त्रालयहरु, दातृ निकायहरु, नीजि क्षेत्र, बुद्धिजीवि, पत्रकार र सम्पुर्ण नागरिकहरु प्रति धन्यबाद दिंदै विकासका हरेक अभियानमा निरन्तर सहयोगको अपेक्षा गर्दै प्रस्तुत बजेट तथा कार्यक्रमहरुको सफल कार्यान्वयनको लागि सबै पक्षको सहयोग प्राप्त हुने अपेक्षा राखेको छु ।

सम्पूर्ण मुसिकोट बासी दिदी बहिनी तथा दाजुभाईलाई कोभिड-१९ को जोखिमवाट सुरक्षित रहंदै सामाजिक एकता र ऐक्यबद्दता कायम राख्दै  सबल, सक्षम, सुदृढ र न्यायपूर्ण मुसिकोट निर्माणमा योगदान गर्न म आब्हान गर्दछु । धन्यबाद  ।

सरस्वती घिमिरे

कार्यपालिका सदस्य  मुसिकोट नगरपालिका, गुल्मी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!