Thursday, September 22

मुसिकोटको निति तथा कार्यक्रम “जन्मभुमी वनाउँ कर्मभुमी अभियान” ( पूर्णपाठ यस्तो छ )

गोविन्द कडेल मुसिकोट गुल्मी । ७ असार २०७८ गुल्मीको मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक नीति तथा कार्यक्रम नवौँ नगरसभाबाट पारित भएको छ । नगरप्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गरेको सो निति तथा कार्यक्रमलाई सभाले सर्वसहमतिमा पारित गरेको हो ।

निति तथा कार्यक्रममा कृषि क्षेत्रको विकास तथा रोजगारीलाई प्राथमिकता दिइएको छ । कृषि तथा स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै स्वरोजगारीका अवसर श्रृजना गर्ने सुलभ कर्जा उपलब्ध गराउने र स्वरोजगारको लागि जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम सञ्चालन गर्ने, उद्यमीका लागि धितो सहित २० लाख सम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्नेलगाएयतका निति अबलम्बन गरिने भएको छ ।

अघिल्ला वर्षहरुबाट चलिरहेको ‘कफि लगाऔं, आम्दानी बढाऔं’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । भौतिक पूर्वाधार तर्फ सवै वडामा बाह्रै महिना चल्ने गरी सडक स्तरउन्नती गरिने, यात्रुवाहक सवारी नियमित गर्दै भाडादर नियमन गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम नियमित सञ्चालन गरिने, फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने, नगरपालिका भित्र २ वटा चत्रपथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिदपार्क, ग्वादीका चौर खेल मैदान, स्मालिथान पार्क, थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचौर नमुना वस्तीलाई मुसिकोट गौरवका योजनाका रुपमा अगाडि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभामा नगर प्रमुख सोमनाथ सापकोटाले आज प्रस्तुत गरेको निति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ ।

     नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु , कर्मचारी तथा उपस्थित सम्पूर्ण महानुभावहरु

१.      गत वर्ष देखि महामारीको रुपमा शुरु भएको कोरोना भाइरस (कोभिड -१९) वाट सिर्जित विश्वव्यापी महामारी हालका दिनमा नंया भेरियन्ट सहित  उत्पन्न असहज परिस्थितिका बीच आज म आर्थिक वर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम यस गरिमामय  सभा समक्ष प्रस्तुत गर्न गइ रहेको छु । यस अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनका निम्ति अमूल्य जीवन सहादत्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । परिवर्तन, क्रान्ति, देश निर्माण, गणतन्त्र स्थापना गर्न विभिन्न क्षेत्रमा खट्नु हुने, राजनैतिक तथा सामाजिक परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने सबै अग्रजहरु प्रति सम्मान प्रकट गर्दछु ।

२. कोरोना भाईरस संक्रमण (COVID-19) वाट विश्र्व आक्रान्त भएको चुनौती पूर्ण अवस्थामा आजको दिनमा मुसिकोट नगरपालिकाको  नगरसभाको बैठकमा आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै गर्दा उच्च वित्तिय र भौतिक प्रगतीको बदला महामारीसंग लड्दै गरेको दृष्य मेरो मानसपटलमा  घुमीरहेको छ ।

३.      कोभिड -१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनक क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो नगरपालिकामा संक्रमण उच्च रुपमा देखा परेको थियो र हालका दिनमा केही सिथिल भएको महशुस गरिएको छ । यस महामारीका कारण हाल एन्टीजेन्ट टेस्टमा उच्च संख्यामा पोजीटिभ देखिएको र समूदाय स्तरसम्म फैलि सकेको कारण बिशेष सतर्कता अपनाउंदा अपनाउंदै गर्दा पनि हाल सम्म ७ जना नगरबासीले ज्यान गुमाउनु परेको तितो सत्य हाम्रो सामु रहेको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

यति हुंदा हुंदै पनि हाम्रा अथक प्रयासहरुका कारण  संक्रमण नियन्त्रण भित्रै रहेको ब्यहोरा यंहाहरुलाइ अवगत नै छ । संक्रमण फैलिन नदिन नगरपालिकाका बासिन्दाहरु र  बाहिरवाट आएका ब्याक्तिहरुलाइ आइसोलेसनमा राखि आवस्यक परिक्षणको ब्यबस्था मिलाइएको छ । यस विपदको वेलामा सवै पक्ष अत्यन्त संवेदनशिल रही मानव सेवामा जुट्न  हार्दिक अनुरोध गर्दछु ।

४.      महामारी रोकथामका लागि अपनाइएको बन्दाबन्दी, भौतिक दुरी लगायतका उपायहरुको  पालना गर्दै यसको रोकथाम  र नियन्त्रणको  अग्रमोर्चामा खट्नुहुने  स्वास्थकर्मी र सुरक्षाकर्मी तथा व्यवस्थापनको काममा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै यस महामारीबाट भयभित र त्रसित नभइ उच्च आत्मवलका साथ यस महामारी बिरुद्धको लडाईमा  विजय प्राप्त गर्ने आत्म विश्वासका साथ धैर्यतापूवक जुट्न सबैलाई आह्वान गर्दछु ।

५. यस महामारीका कारण हामीले गत आ.व. २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटद्वारा प्रतिबद्दता जनाएका कतिपय बिकासका गतिबिधिहरु प्रभाबित भएका छन्  । प्राप्त हुनु पर्ने श्रोतहरुमा कमि आएका छन् । यति हुंदा हुंदै पनि श्रोत साधनहरुको अधिकतम परिचालनद्वारा वार्षिक लक्ष्यको नजिक पुगेको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

६.       नेपालको संविधान बमोजिम स्थानिय तहहरु अन्तर्गत मुसिकोट नगरपालिका स्थापना भई संविधानको एकल र संयूक्त अधिकारका सूचिमा भएका अधिकारहरुको व्यापक, समन्वयात्मक र प्रतिफलयुक्त अभ्यास गर्दै मुसिकोट नगरपालिकालाई समृद्धीको बाटोमा अगाडी बढाउने दृढ संकल्पका साथ निर्वाचित हामी जनप्रतिनिधिहरुले काम गर्न लागेको चार वर्ष पुरा भएको छ ।

मुसिकोट नगरपालिकाको चौतर्फी विकासको बाटो खोली सम्पूर्ण बिकासका आयामहरुको अभ्यासद्वारा नगरबासीहरुलाई संघियताले प्रदान गरेको अधिकारको महशुस गराउनुको साथै नगरपालिकालाई समृद्धिको बाटोमा डोर्याउनको लागि यस अवधिमा मुसिकोट नगरपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमहरु लागु गर्न सहयोग गर्नुहुने जनसमुदाय, संघ एवं प्रदेश कभाका मा. सदश्यज्यूहरु, सघं संस्था जनप्रतिनिधि साथीहरु, कर्मचारी, राजनैतिक कर्मी, शिक्षक, बृद्धिजिवी, व्यापारी, पत्रकार, सुरक्षाकर्मी सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

७.  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणको कारण आगामी आ.व. २०७८/०७९ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नु पर्ने यस बिषम परिस्थितिमा बिभिन्न पक्षहरुसंग प्रत्यक्ष रुपमा अन्तर्क्रिया गरी राय सुझाव लिने र आगामी आर्थिक वर्ष २०७८/०७९ मा तर्जुमा र कार्यान्वयन गरिने योजना/कार्यक्रमहरु तर्जुमा गर्ने काममा प्राप्त राय सुझावहरु समाबेश गर्ने कुरा संभव नभएकोले  राय सुझाव लिने बिधिमा परिवर्तन गरी बिभिन्न पेशा ब्यवसायमा संलग्न भई स्वदेश एवं बिदेशमा रहनुहुने बिकास प्रेमी सम्पूर्ण मुसिकोट बासी महानुभावहरुवाट  राय सुझाव माग गरेका थियौं । सो अनुरुपका प्राप्त राय सुझावहरुलाइ यथासक्य समेट्ने प्रयास गरेका छौं ।

           नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,    श्रोत परिचालन

८.    आन्तरिक स्रोत अति न्यून परिचालनको अवस्था रहेको सन्दर्भमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदानमा भर पर्नु परेको अवस्था हामी सबैलाई जानकारी छ । करको क्षेत्र र दर निर्धारण गर्दा करदाताको क्षमता, करको प्रकृती तथा उठ्ने रकमको आकार र कर उठाउंदा सम्वन्धित क्षेत्रको विकास तथा विस्तारमा पर्न जाने सकारात्मक वा नकारात्मक असर समेत आंकलन गरी सरोकारवालाहरुको सुझाव समेतका आधारमा विगत आ.व.हरुमा परिचालन गरिएका करका दायराहरुलाई विचार गर्दै कर तिर्ने नागरिक दायित्व पुरा गर्न अभिप्रेरित गरिनेछ । प्राप्त अनुदान र नागरिकहरुबाट प्राप्त करको समुचित उपयोगमा जोड दिइनेछ ।

९.    सरकारी खर्चको कुशल व्यवस्थापनवाट सुशासनका आयामहरुको क्रियाशिलताद्वारा विकासका लक्ष्यहरु पुरा गरिनेछ । वित्तीय अनुशासन कायम गर्न बिशेष जोड दिईने छ । सरकारी कोषको अधिकतम सदुपयोगमा हामी सचेत रहेको ब्यहोरा प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।

१०. बित्तिय अनुशासन कायम गरी चालु खर्चलाइ कम गर्ने कुरामा बिशेष ध्यान दिइ पूंजिगत खर्च बढाउने र पूंजि निर्माण गर्ने कुरामा बिशेष ध्यान दिइने छ । बेरुजुलाइ न्यूनिकरण गर्दै शुसासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाइ प्रभावकारी बनाइने छ । यसको निम्ती सूचना प्रबिधिलाइ अधिकतम र उच्चतम प्रयोग गरिने छ ।

११.” सम्मृद्द नेपाल, सुखी नेपाली” को राष्ट्रिय एजेण्डालाइ पुरा गर्न “दिगो बिकासका लक्ष्यहरु” (Sustainable Development Goals – SDGs) हरु लाइ बजेट तर्जुमा गर्दा ध्यान दिंदै दिगो बिकासका आधार स्तम्भ, लक्ष्यहरु एवं सूचकहरुको आधारमा दिगो बिकासका लक्ष्यहरुलाइ आन्तरिकीकरण र स्थानियकरण गर्ने कुरामा बिशेष ध्यान दिइने छ ।

        सहकार्य र समन्वय

१२. नगरपलिकाले आफ्ना गतिबिधहरु संचालन गर्दा संघ, प्रदेश र स्थानिय तहहरु बिचको आपसी सम्वन्ध र अन्तर स्थानिय तहहरु बिचको सम्वन्धका आधारहरुमा बिशेष ध्यान दिइने छ । बिकासका साझा बिषयहरुको खोजी गरी प्रक्रिया अगाडि बढाइने छ । बिकास साझेदार संस्थाहरुसंगको सम्वन्ध सुमधुर बनाउन कुनै कसर बांकी राखिने छैन । बिकास साझेदार संस्थाहरुले यस नगरपालिकामा आगामी आ.व.२०७८/०७९ मा लगानी गर्ने बिकासका गतिबिधिहरु बार्षिक कार्यक्रममा समाबेश गराउन  बिशेष पहल गरिने छ ।

        आर्थिक विकास

१३.       मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिद पार्क, ग्वादीका चौर खेल मैदान, स्मालीथान पार्क, थुम पार्क पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचाौर नमूना बस्तीलाई मुसिकोट गौरबका योजनाका रुपमा अगाडी बढी रहेका छन्  । यि सम्पदाहरुको दिगो बिकासको लागि नगरपालिका सधैं क्रियाशिल रहने कुरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।

१४. कृषिमा विविधिकरण, यान्त्रिकरण तथा व्यावसायीकरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गरिनेछ । कृषिलाई सम्मानजनक पेशाको रुपमा रुपान्तरण गरी नगरपालिकामा विद्यमान शैक्षिक बेरोजगारीलाई कृषिमा आवद्ध गराउँदै यसको उत्पादन तथा उत्पादकत्व बढाउने नीति लिइनेछ । कृषि उत्पादनमा हुने लाभ/लागत अनुमानको प्रभावकारी रुपले विश्लेषण गरी नगदे बालीको प्रवर्धन गरिनेछ । कृषि एम्बुलेन्सको माग भइरहेको अवस्था रहेकोले संघ एवं प्रदेश सरकारसंग यस सम्वन्धमा बिशेष पहल गरिने छ ।

१५.  भौगोलिक अवस्था र सिंचाइको उपलब्धता समेतको आधारमा  फलफुल एवं कृषि र पशुपालन साथै अन्य तुलनात्मक लाभका वस्तुहरु उत्पादनहरुको लागि पकेट क्षेत्रको अवधारणालाइ निरन्तरता दिंदै थप बजेटको ब्यवस्था गरिने छ ।  उन्नत जातका विरुवाको उत्पादन गरी उत्पादकत्व वृद्धि गर्न “आधुनिक सुविधा सम्पन्न स्वचालित हरितगृह” को स्थापनाको प्रक्रिया अगाडी बढाईनेछ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक मौलिक हकलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिनेछ ।

किसानहरुको बजार पहुँच सुनिश्चित गर्दै विचौलियाहरुलाई निरुत्साहित गर्ने नीति लिइनेछ । विषादीहरुको  प्रयोगलाई निरुत्साहीत गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्दै “मुसिकोटको पहिचान, अर्गानिक उत्पादन” भनी जिल्ला तथा प्रदेशस्तरमा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । तयारी खाद्य वस्तुलाई निरुत्साहित गर्ने नीति लिइनेछ ।  कम पानीवाट पनि सिंचाइको व्यवस्था मिलाउनको लागि प्लाष्टिक पोखरी र थोपा सिंचाइको व्यवस्थालाई प्राथमिकता दिईने छ । उत्कृष्ट कृषकहरुलाई सिमेन्ट पोखरीको व्यवस्था मिलाइने कुरा प्राथमिकतामा राखिने छ ।

१६.       भौगोलिक बिशेषताका आधारमा उपयूक्त भू–उपयोग नीति अवलम्बन गरी कृषि क्षेत्र, बन क्षेत्र, आवासिय क्षेत्र, व्यवासायिक क्षेत्र, औद्योगिक क्षेत्र, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, सार्वजनिक तथा खुल्ला क्षेत्र, निर्माण समाग्री उत्खन्न क्षेत्र, खानी तथा खनिज क्षेत्र आदि पहिचान गरी संरक्षण, उपयोग र व्यवस्थापन गरिनेछ । संघिय सरकार र प्रदेश सरकारको नीतिसंग तादाम्यता कायम हुने गरी नगरपालिका भित्र भूमि बैङ्क स्थापना गर्ने बिषयलाइ प्राथमिकता दिइने छ । कृषि/पशुपालनसंग सम्वन्धित उद्यम गर्न चाहने लघु, घरेलु तथा साना  व्यवसायिलाई उक्त भूमि बैङ्कमा प्राप्त जग्गा सुलभ तरिकाले उपलब्ध गराउने नीति अख्तियार गरिने छ ।

१७.        कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग, पर्यटन प्रवद्र्धन सँग जोडिएको व्यवसाय, हस्तकला उद्योगलाई लगानीको अभाव हुन नदिन व्यवसाय ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने व्यवस्था लाइ निरन्तरता दिइने छ । कृषि, यन्त्र, उपकरण, हाते ट्याक्टर, चापकटर, दुध दुहुने मेसिन, घाँस काट्ने मेसिन, मकै छोड्याउने मेसिन, पिस्ने कुट्ने मेसिन, खाल्डो खन्ने उपकरण जस्ता सबै यन्त्र, उपकरण, मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

१८. चालु आ.व. २०७७/०७८ मा संघ, प्रदेश र स्थानिय तहको आफ्नै बजेटवाट महत्वपूर्ण कृषि, पशुपालन सम्बद्द उद्यमशिलताका कामहरु सम्पन्नको चरणमा रहेका छन् ।

१९.  बेमौसमी तरकारी खेती उत्पादनका लागि टनेल प्लाष्टिकमा ९० प्रतिशत अनुदान दिईने नीतिलाई निरन्तरता दिइएको छ ।  प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिकमा दिईने ८० प्रतिशत अनुदानलाई निरन्तरता दिईएको छ । उद्यमी महिला समूहलाई विउ पुँजी र प्रस्तावमा आधारित अनुदान रकम उपलब्ध गराउने कामलाई निरन्तरता दिइनेछ । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम, गुल्मीको लागत साझेदारीमा बिउ श्रोत केन्द्र स्थापना गर्ने कार्य यसै आ. व. मा सम्पन्न हुने ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

२०.   नगरपालिका क्षेत्रका विकास तथा समृद्धिको लागि उद्योग तथा रोजगारी मुख्य मेरुदण्ड भएको कुरालाई आत्मसात गर्दै दक्ष जनशक्तिको निर्माण र रोजगारीको सिर्जन गर्ने कुरालाई नगरपालिकाकाले मुख्य आधारको रुपमा लिनेछ । श्रमको सम्मान नै समृद्धिको आधार हो भन्ने कुरालाई मुसिकोट नगरपालिका क्षेत्र भित्रका युवाहरु माझ स्थापित गरी युवाहरुलाई परिश्रम प्रति सम्मान गर्ने नीति लिइनेछ । आर्थिक हिसाबले सक्रिय जनसंख्यालाई उत्पादनमा जोड्नको लागि मुसिकोट नगरपालिकाका प्रत्येक वडामा “एक वडा, एक पहिचान” कार्यक्रम क्रमशः लागु गरिनेछ ।

२१.    नगरपालिकाको नगदे वाली र तुलनात्मक वस्तुको रुपमा पहिचान भएको कफि खेतीलाइ नगरपालिकाको मुख्य बालिको रुपमा विकास गर्ने निति लिइएको छ । कफिको जननी मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन “कफि लागाऔँ, आम्दानी बढाऔँ” कार्यक्रम संचालन गर्दै कफि बगैचाहरु निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

२२.    बालिनाली संरक्षणको लागि वन्यजन्तु विशेषगरी बाँदर र बँदेलको नियन्त्रणका लागि विशेषज्ञहरु झिकाई अध्ययन अनुसन्धान पश्चात आवश्यक क्रियाकलाप सञ्चालन गर्ने प्रक्रियालाई अगाडि बढाउने सोंच राखिने छ ।

२३.     तुलनात्मक लाभका वस्तुहरु पहिचान गरी कृषकहरुको चाहना वमोजिम कृषि प्रणालीलाई व्यवसायिक बनाईने छ । स्थानीय उत्पादनबाट लघु उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने छ । उत्पादनलाई बढावा दिन पकेट क्षेत्र र ब्लक क्षेत्रको अवधारणालाई अगाडी बढाइ सकिएको छ ।

२४. पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गरी वेरोजगारी कम गर्दै लगिनेछ । व्यावसायिक पशुपालनमा विशेष गरी बैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गरी आधुनिक कृषि तालिम र बिशेष कार्यक्रमको व्यवस्था गर्ने कुरालाइ निरन्तरता दिइने छ । पशुपालक कृषकलाई पशु औषधी, तालिम तथा अवलोकन भ्रमणबाट प्राप्त ज्ञानलाई हाम्रो अनुकूल व्यवस्था गरिने छ । हाम्रो  नगरपालिका अण्डा, मासु र दुधमा आत्मनिर्भर भइ सकेको अवस्थामा उक्त वस्तुहरु निर्यात गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

आफ्नो उत्पादनलाइ बाह्यय निर्यात गर्ने कृषकलाइ बिशेष सहुलियत दिने नीति लिइने छ । पशुपालन व्यवसायलाई नाफामुखी र आकर्षक बनाउनको लागि घाँसमा आधारित पशुपालन गर्न उन्नत घाँसका विऊ तथा वेर्ना  वितरण तथा व्यावसायिक घाँस खेतीको पकेटको रुपमा विस्तार गर्ने कामलाइ निरन्तरता दिइने छ । पशुपंक्षीको नश्ल सुधार गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नको लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई विशेष जोड दिने प्रक्रिया अगाडि बढाई सकिएको छ ।

२५.     सामूदायिक बिकासका लागि  बाख्रा बिकास परियोजना (HEIFER) कार्यक्रम यस नगरपालिकामा बिगत वर्षमा संझौताभइ कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । यो कार्यक्रम बिकासको आर्थिक आयाम मात्र नभएर सामाजिक आयामको रुपमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको हामीले महशुस गरेका छौं  र सामाजिक परिचालन र सामाजिक ऐक्यबद्दतामा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।

२६. दुग्ध पदार्थ एंव मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न स्वच्छ र स्वस्थ्य मासु तथा “गोठदेखि ओठसम्म” स्वच्छ र स्वस्थ दुग्ध कार्यक्रमलाई अभियानको रुपमा संञ्चालन गर्न बिशेष पहल गरिने छ । बाख्रामा खोर सुधार, गाई भैंसीमा गोठ सुधार र मासु पसल सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ । आधुनिक उन्नत जातका गाई, भैसी, बाख्रा पालनमा जोड दिइनेछ । कृषि र पशुपालन व्यवसायमा जोखिम न्यूनीकरण गर्नको लागि विमामा अनुदानको अध्ययन गरी प्रक्रिया अगाडि बढाउन पहल गरिनेछ ।

२७. माहुरी पाल्न ईच्छुक कृषकहरुलाई चालु आ.व.मा जस्तो तालिम एवं अनुदानमा माहुरीका घार वितरणको कार्यक्रमलाई निरन्तरता दिईने छ । सम्भावना भएका उत्पादन बृद्घि गर्न मौरी, कफी र च्याउ जस्ता उत्पादनमा क्लष्टर छुट्याईने छ । कृषि क्षेत्रलाई बढावा दिन जमिन बाँझो राख्ने प्रबृत्तिलाई निरुत्साहित गरिने छ ।

कृषि उपजहरुको बेसिजनमा मूल्य पर्ने गरी कोल्ड स्टोर स्थापना गर्न आवश्यक पहल गरिने छ । यस क्षेत्रका उत्पादनहरुलाई प्रवर्धन गर्न बजार क्षेत्रमा स्टल राख्ने ब्यवस्थाको लागि आवश्यक पहल गरिने छ । बजार व्यवस्थापन अन्तर्गत माना/ पाथी र किलो काँटामा देखिएको अन्तरलाई बजार अनुगमनको माध्यमद्वारा समाधान गरिने छ ।

२८. कृषकहरुलाई उत्पादन र उत्पादित वस्तुहरुको विक्रिको आधारमा आवश्यक सहयोगको ब्यवस्था गरिने छ । कृषि क्षेत्रको विकासको लागि माटो अनुकूल बनाउन माटो परिक्षणको आवश्यक व्यवस्था गरिने छ । कृषकहरुलाई कृषि सम्बन्धी एडभान्स तालिमको व्यवस्था गरिने छ । साथै तालिमहरुलाई समयानुकूल बनाईने छ । सम्भाव्य स्थानहरुमा सिंचाईको उचित व्यवस्था गरी सहकारी कृषिलाई बढावा दिईने छ । यसका लागि एक “कृषि व्यवसाय प्रवर्धन कोषको” को नामले एक कोष खडा गर्ने कुरामा ध्यान दिइने छ । यहाँको कच्चा पदार्थ अन्यत्र लगी उत्पादन गर्ने पक्रियालाई निरुत्साहित गरी “मुसिकोटको सामान, मुसिकोटमा उत्पादन” भन्ने कुरामा जोड दिईने छ  । उत्पादनमा आधारित अनुदान व्यवस्थालाई आवश्यक पहल गरिनेछ ।

२९ . स्थानीय तहमा संचालित व्यापार/व्यवसाय र उद्योगहरुलाई प्रोत्साहन गरी व्यवसायिकता र उद्यमशिलतामा जोड दिइनेछ । निजि क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण अंगको रुपमा स्वीकार गरी प्रोत्साहन गर्दै सार्वजनिक, निजि र सहकारीको माध्यमद्वारा  विकास गतिविधिमा जोडदिई कार्यक्रम अगाडी बढाईनेछ ।

३०. नगरपालिका भित्र रहेका सबै पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण तथा निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नको लागि पर्यटनसँग सम्बन्धित सूचना, संचार तथा प्रचारप्रसार गरिनेछ । मुसिकोट दरबार, सालिमे दह, मालिका मन्दिर, छत्रभूमी, शहिद पार्क, शिद्धेश्वर गुफा, थुम पार्क, स्मालीथान पार्क, हिले, मठमन्दिर, वडा स्तरीय स्मार्ट मनोरञ्जन पार्क, जेष्ठ नागरिक पार्क, कृषि पकेट क्षेत्र, होमस्टे आदिको निर्माण र संरक्षण गर्दै पर्यटकीय सर्किट निर्माण गर्दै अगाडी बढिनेछ ।

३१.        स्थानियस्तरमा प्राप्त हुने श्रोत साधनहरुमा आधारित भएर स्थापना तथा संचालन हुने उद्योगहरु जस्तै, बाँसको मुढा निर्माण, खाद्यन्न प्रशोधन, विउ उत्पादन तथा प्रशोधन, जडिबुटी प्रशोधन, खानेपानी प्रशोधन तथा उत्पादन लगायतका उद्योगहरुको लागि मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमसंग जोडिने छ ।

३२.        उद्योगहरुको स्थापना र संचालनको लागि वित्तिय पुँजीको लागि बैँङ्क मार्फत आवश्यक ऋणको सिफारिस गर्नेखव्यवस्था गरिनेछ । नगरपालिका भित्र संचालित बैङ्कहरुले आफुले प्रवाह गर्ने कर्जाको निश्चित प्रतिशत रकम औद्योगिक ऋणको रुपमा प्रवाह गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ ।

३३.        बैदेशिक रोजगारमा गएका युवाहरुलाई फर्किने बातावरण तयार गर्न कृषि, पर्यटन, उद्योग व्यापार, जडीबुटी खेती, पशुपालन र उर्जा उत्पादनको कार्यमा ठुलो लगानीको बातावरण तयारी गरी स्वदेशमै रोजगारीको सिर्जना गर्ने नीति लागु गरिनेछ ।

३४.        कोभिड – १९ को महामारीले नेपालको अर्थतन्त्रमा पार्न सक्ने क्षतीलाई न्यूनीकरण गर्न अव सवै उत्पादनका कार्यमा लाग्नुपर्ने जरुरी देखिएको छ । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाइ लक्षित गरि विना धितो कर्जा प्रवाह गरी युवाहरुलाइ स्वदेशमा स्वरोजगारका लागि प्रेरित गर्न जन्मभुमि बनाउ  कार्यक्रम संचालन गरिनेछ ।

३५.        स्वारा होमस्टेलाई व्यवस्थित गरी व्यवसायिकीकरण गरिएको छ भने मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहलाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक प्रबर्धन गर्न सहयोग भएको छ । मुसिकोट दरबार, मालिका मन्दिर, सालिमे दह, ढोडेनी बगर शहिद पार्क, स्मालि थान पार्कको विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर) तयार गरिएको छ । चालु आ.व. २०७७/०७८ मा मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहमा महत्वपूर्ण पुर्वाधारका कामहरु भएका छन् । आर्थिक विकासको महत्वपूर्ण पक्षको रुपमा रहेको पर्यटन प्रवर्धनको लागि मुसिकोटमा रहेका महत्वपूर्ण ऐतिहासिक एवं सामाजिक धरोहरको संरक्षण एवं सम्वर्धन गर्न बिशेष पहल गरिने छ ।

३६.   बडिगाड नदिमा राफ्टीङ (जल बिहार) संचालनको लागि प्रदेश सरकारद्वारा आयोजना गरिने लगानी सम्मेलनमा निजी क्षेत्रलाइ लगानिको लागि आब्ह्यान गर्न अवधारणा पत्र पेश गरोएको ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु । यसले गर्दा आन्तरिक एव् बाह्य पर्यटक आकर्षित हुने र प्रत्यक्ष /अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना साथै स्थानिय अर्थतन्त्रलाइ चलायमान गराउने कुरामा बिश्वास लिन सकिन्छ ।

३७. बसाईसराईको तिब्र प्रवृतिलाई रोक्न “पख्नोस; हामी तपाईको लागि केही गर्दैछौं” भन्ने भनाई सहित दीर्घकालिन सोंचका साथ कार्यक्रम अगाडी बढाईने छ ।

३८. सहकारीहरुको विकास गरी रोजगारी सृजना, उत्पादन वृद्धि र वितरणमा तिनको भूमिका बढाइनेछ । स्थानीय सहकारीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय स्तरमा सञ्चालनमा रहेका वित्तीय संस्था तथा सहकारी संस्थाहरुको नियमन गरिनेछ । सहकारी संस्थाहरुसंग रहेको पूंजीलाई नगरपालिकाको विकासमा लगाउन प्रोत्साहन गरिने छ ।

          नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,        सामाजिक विकास

३९.        “मानव क्षमताको आधारः शिक्षा” भन्ने शिक्षाको राष्ट्रिय नीति अनुरुप मुसिकोट नगरपालिकाको शैक्षिक व्यवस्थापनलाई व्यवस्थित गरिनेछ । विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिने अभियानलाई निरन्तरता दिइनेछ । विद्यालयहरुको रङ्गरोगनमा एकरुपता ल्याईनेछ ।

४०.        बालशिक्षा शिक्षिका, बिद्यालयका सहायक कर्मचारी तथा लेखाकर्मचारीले खाइपाइ आएको तलवमान बृद्धि गर्नेगरी बजेटको ब्यवस्था मिलाइने छ ।

४१.  बिद्यार्थीहरुलाई विद्यालयमा विद्यार्थी “ल्याउन, टिकाउन र सिकाउन” “बिद्याय दिवा खाजा” को कार्यक्रमलाइ  प्रभावकारीता रुपमा कार्यान्वयन गरिने छ ।

४२.  शिक्षालाई सुचना प्रविधि मैत्री बनाउन पछिल्लो सूचनाको विकासलाई अवलम्वन गर्न शिक्षकहरुलाई तालिमको  उपयुक्त    व्यवस्था गरिने छ । विद्यालयहरुमा कम्प्यूटर, प्रिन्टर लगायतका सामानहरुको समूचित व्यवस्था गरिने छ । शिक्षाको गुणस्तर अभिबृद्घि गरी यंहाका विधार्थीहरु अन्यत्र जाने प्रबृत्तिलाई निरुत्साहित गरिने छ । नैतिक शिक्षा, सहकारी शिक्षा, उद्यमशिल शिक्षा जस्ता कुराहरुमा विशेष जोड दिईने छ ।

४३.        उमेर पुगेको शिक्षाबाट वञ्चित एव. पँहुच पुग्न नसकेको सम्पूर्ण बालबालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याइनेछ । बालश्रम शोषण, बालविबाह बालहिंसा एवं बाल दुरव्यवहार न्युनिकरण गर्न यस सम्बन्धी कानुनहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न पहल गरिनेछ । गैरसरकारी संस्थाहरुको समेत सहकार्यमा बालमैत्री टोल, वडा हुदै बालमैत्री नगर स्थापना गर्न आवश्यक पहल गरिनेछ ।

४४. स्वास्थ्यकर्मीको वृत्ति विकास, क्षमता अभिवृद्धिमा ध्यान दिइनुका साथै स्वास्थ्य संस्थाहरुलाई आधुनिक र पूर्वाधारयुक्त बनाइने छ । वामी स्वास्थ्य चौकीलाई १५ शैयाको आधारभुत  अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढी सकेको सन्दर्भमा आकश्मिक सेवा सहितको जनताको आवश्यकता अनुरुप अस्पताल सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । जिरो होम डेलिभरी स्थानीय तह घोषणा गर्ने नीति लिइनेछ ।

४५.        नेपाल संघिय संरचनामा प्रवेश गरीसकेको अवस्थामा स्वास्थ्य सेवालाई गुणस्तरीय तथा सवैको पहुचमा पुर्याउनु स्थानीय सरकारको मुख्य दायित्व हो । तसर्थ मुसिकोट नगरपालिकाले नगर भित्र गुणस्तरीय स्वास्थ्य सेवामा सवै नागरिकहरुको पहुँचमा पुर्याउने नीति लिईने छ । नगरपालिकाले यस क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, सिमान्तकृत, अपाङ्ग सबैलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गराई सवै लिङ्ग, क्षेत्र, आर्थिक रुपले विपन्न, शारीरिक अशक्तलाई स्वास्थ्य सेवामा प्राथामिकता दिइने छ ।

४६. हाल कोरोना संक्रमणको कारण श्री रुद्रावती बहुमुखी क्याम्पस, वामीमा संचालित अस्थाइ कोभिड अस्पताललाइ अझ ब्यवस्थित रुपमा संचालन गर्न र अन्य संक्रामण रोगहरुवाट जनतालाइ सुरक्षित गर्न छुट्टै संस्थागत ब्यवस्था गरिने छ ।

४७.        समुदायमा आधारभूत स्वास्थ्य सेवालाई सुदृढ गर्नको लागि महिला स्वास्थ्य स्वयम् सेविका प्रोत्साहन तथा स्वास्थ्य आमा समुहलाई पुनर्जागरण कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको छ ।

४८. चौविसै घण्टा संचालित वर्थिङ्ग सेन्टरहरुको लागि आधुनिक डेलिभरी टेवलको वितरण, वर्थिङ्ग सेन्टरको लागि सोलार सिस्टम वितरण, मु.न.पा. १, थामडाँडा र मुनपा ८, वामीमैदानमा शहरी स्वास्थ्य केन्द्रको स्थापना, आँपचौर स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टरको स्थापना जस्ता स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलव्धी प्राप्त गर्न सफल भएका छौं ।

४९. बिभिन्न स्वास्थ्य संस्थाहरुमा गरी ७ वटा एम्बुलेन्सहरु हाम्रा स्वामीत्वको रुपमा रहेका छन् । यिनको प्रभावकारी रुपमा परिचालन गरी जनताको हितमा हुने गरी आवश्यक ब्यवस्था गरिने छ ।

५०. आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा पद्धतिलाई प्रवर्धन गर्न व्यवसायिक जडीबुटी  खेतीलाई प्रोत्साहन गर्न सो को पहिचान र प्रयोगमा विशेष जोड दिईने छ ।  नगरपालिकामा एक आयुर्वेद केन्द्र स्थापना गर्न विशेष पहल गरिने छ ।

५१.  सस्कृति हाम्रो पहिचान हो ।  नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक स्थल, मौलिक संस्कृति, प्राचिन पोखरी, परम्परागत बाजागाजा, नाँच, चाडवाडको संरक्षणलाई प्राथमिकता दिई बजेट व्यवस्था र कार्यान्वयन गर्दै आएका छौं ।  मुसिकोट दरवारको नामवाट नगरपालिकको पहिचान झल्कीने हुंदा सोही अनुरुप मुसिकोट दरवारको पूर्वाधार निर्माणमा हामी जोड दिंदै आएका छौं । चालु आ.व.२०७७/०७८ मा स्थानिय सरकार र संघिय सरकारको लागत एक घर एक धारा साझेदारीमा महत्वपूर्ण पूर्वाधारका कामहरु सम्पन्न भएका छन् । यसको पहिचान झल्किने गरी बिकासको कामलाइ निरन्तरता दिइने छ

५२.     बिकासको सामाजिक आयाम महत्वपूर्ण आयाम भएको र खानेपानी तथा सरसफाई कार्यक्रम अझ महत्व राख्ने आयाम भएकोले यसलाई नगरपालिकाले उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरि एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन गर्ने नीति अनुरुप जनताका प्रत्यक्ष अनुभुत गर्ने गरि खानेपानी योजनाहरु कार्यान्वयन भइरहेका छन ।

चालु आ.व. २०७७/०७८ मा संघ, प्रदेश र स्थानिय तहको  बजेटवाट महत्वपूर्ण खानेपानीका योजनाहरु कतिपय सम्पन्न भएका छन् भने कति योजनाहरु सम्पन्नको चरणमा रहेका छन् । एक घर एक धाराको अभियान अन्तर्गत आगामी आ.व.२०७८/०७९ मा सम्पन्नको चरणमा रहेको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन पांउदा आफुलाइ गौरवान्वीत महशुस गरेको छु । खानेपानी तथा सरसफाई कार्यक्रमलाई नगरपालिकाको उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार एक घर एक धारा नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरिनेछ । साथै एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन कार्यविधि अनुसार संचालन गर्ने नीति लिईनेछ ।

५३.     पुराना कला साहित्य र संस्कृतीलाई संरक्षण र सम्बद्र्धन गर्न बिशेष सांस्कृतिक महोत्सव तथा मेलाहरुको आयोजना तथा प्रवद्र्धन कार्यलाई निरन्तरता दिइनेछ । ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतीक, भेषभुषा, उत्पादनमा प्रयोग हुने समाग्रीहरु आदि झल्किने गरी विस्तृत बस्तुचित्र सहितको नगरस्तरीय संग्रलाय स्थापना गरिनेछ ।  विभिन्न जात जातिहरुसँग सम्बन्धित रितिरिवाज तथा परम्परा बमोजिमका लोक गित, झ्याउरे गित, भजन, घाटु, संराय, भैलो, नौमति बाजा, कौरा, सोरठी, घ्याम्पे नाँच, लाखे, जात्रा आदिको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।

५४.        ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखी क्रमशः स्वास्थ्य विमा र स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिने छ तथा ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई घरमै गई आधारभूत स्वास्थ्य उपचार उपलब्ध गराइनेछ । समाजमा जेष्ठ नागरिकहरुलाई सम्मानपूर्वक जिउने बातावरण सिर्जना गरिनेछ । जेष्ठ नागरिक विश्राम, मनोरञ्जन तथा योगाभ्यास पार्क निर्माण गरिनेछ ।

५५.        दलित समुदायमा रहेको परम्परागत व्यवसाय तथा सिपलाई समयानुकुल आधुनिकीकरण यान्त्रीकरण र व्यवसायमुखि वनाउन क्षमता अभिवृद्धी, शिक्षा, तालिम र अन्य सहयोग उपलव्ध गराईने छ । समाजमा कला कौशलको धनी दलित समुदायको परम्परागत सिपलाई आधुनिकिकरण गर्दै उद्योगको रुपमा विकास गरिने नीति अवलम्बन गरिनेछ ।

५६.       नगरपालिकाको टोल, वडास्तरमा महिला समूह, समिति र सहकारी संस्था स्थापना गरी महिलाहरुको सशक्तिकरण तथा आयआर्जनमा बृद्धि गरिनेछ । लैंगिक हिँसा, घरेलु हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरी हिंसा विरुद्धको कानूनलाई कडाइका साथ कार्यान्वयनमा जोड दिइनेछ । महिलाको क्षमता अभिवृद्धिका लागि सिपमुलक, चेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

५७.       आदिवासी जनजातिहरुको भाषा संस्कृती र भेषभुषा सम्बन्धी सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ । आदिवासी जनजातिसँग सम्बन्धित पुरातात्विक बस्तु संग्रहालयलाई थप व्यवस्थित गर्दै लगिनेछ । आदिवासी जनजातिहरुको नमुना बस्ती विकास, भाषालिपी, भेषभुषा संरक्षण गर्नको लागि अध्ययन गरिनेछ ।

५८.  खेलकुद क्षेत्रको विकासका लागि खेलकुद मैदानहरुको निर्माण तथा खेलकुद प्रतियोगिताको आयोजना गर्ने काम     मुसिकोटको प्राथमिकताको विषय हो । आ.व. २०७४/०७५ मा सम्पन्न मेयर कप खेलकुद प्रतियोगिता र तत्पश्चात सम्पन्न नगर स्तरिय अन्तर बिद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु आ.व.मा पनि सम्पन्न गरिएको र आगामी आ.व.मा पनि  निरन्तरता दिईने छ । ग्वादिका चौर खेल मैदानलाइ पूर्वाधार यूक्त बनाइने छ ।

थुम पार्क  पिकनिक स्पट र कभर्डहल निर्माणलाई क्रमागत योजनाको रुपमा राखी सुविधा सम्पन्न पिकनिक स्पट र खेलकुद गतिविधि संयूक्त रुपमा विकास गर्न चालु आ.व.मा पनि थप पूर्वाधारको काम सम्पन्न भएको छ  ।  कभर्डहल निर्माणको काम प्रदेश सरकारको लागत साझेदारीमा प्रक्रिया अगाडी बढी सकेकोमा यसलाई  निरन्तरता दिईनेछ । खेलकुदको हिसावले मुसिकोट नगरपालिकामा पूर्वाधारहरुको निर्माणभई सकेका र यिनलाई थप सुविधा सम्पन्न बनाई नगरपालिकालाई Sports Tourism को रुपमा विकास गर्ने दीर्घकालीन सोंच रहेको छ ।

५९.नदी किनाराका कुमाल वस्ती, लेक–बेसी क्षेत्रका मगर बस्ती, गुरुङ्ग, वस्ती, स्थानीय बजार क्षेत्रका नेवार वस्ती र यत्रतत्र रहेका ब्राहमण, क्षेत्री, ठकुरी, दशनामी, दलित समुदाय समेतको मिश्रित जनसंख्या, तीनका विभिन्न थर र उपजातीले सिंगारिएको मुसिकोट नगरपालिका भित्र तत् तत् जातीका चाडपर्व रिती रिवाज, भेषभुसा र साँस्कृतिक चालचलन संरक्षित छन् । मारुनी, सोरठी, धाटु, झाम्रे, लाखे, दोहरी, भजन, र्कीतन र सरायँ सहितका विविध नाचगानले रङ्गीन हाम्रो समाज साँस्कृतिक सम्पदाले पनि धनी छ ।

सालिमे आश्रम, छत्रभुमी, देउराली, मालिका, इष्माली थान, अकला देवी मुसिकोट २,थुम देउराली, पँधेरा शिवालय, राधाकृष्ण मन्दिर, ब्रहमकुमारी आश्रम र सिद्धेश्वरी–कोटेश्वरी गुफा जस्ता यहाँका स्थानीय तिर्थस्थलहरु लाई लक्षित गर्दै र विविध धर्माबलम्बीका मठ–मन्दिर, गुम्बा, मार्फत हुने पुजा–प्रार्थना र रहन सहनलाई एकताबद्ध बनाई सांस्कृतिक विकासका  विविध क्रियाकलापहरुलाइ प्रबर्धन गर्ने कार्यलाइ प्राथमिकता दिइने छ  ।

भौतिक पूर्वाधार बिकास

६०. विकास र वातावरणलाई तादाम्यता कायम गरी पूर्वाधार विकासको कामलाई अगाडि बढाईने छ । यस नगरपालिकाको सडक सञ्जाल ब्यापक विस्तार भईसकेको सन्दर्भमा सो को स्तरोन्नती गर्न संघ र प्रदेश सरकारसँग विशेष पहल गरिनुका साथै नगरपालिकाको आफ्नो श्रोत परिचालनमा विशेष जोड दिईने छ । “हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिवद्धता” अनुरुप नगरपालिका भित्रका सडकहरुमा स्थानीय जनताहरुको सहभागितामा नाली निर्माण कार्यक्रमलाई निरन्तरता दिईने छ ।

६१. विकासका सबै आयामहरुले समेटिएको विकासको निम्ति “दीगो विकासका लक्ष्यहरु” (Sustainable Development Goal- SDG) तर्फ केन्द्रित रही गतिविधिहरु अगाडी बढाइनेछ ।

६२.       मुसिकोटलाइ सडक सन्जालले जोड्ने परिकल्पना गरिएको र मुसिकोटको Life Line को रुपमा रहेको नगरपालिकाका वडा नं. १, २, ३ र ४ समेट्ने, र वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने गरी निर्माण हुने दुई वटा चक्र पथ भौतिक पूर्वाधारको नमूना हो र नमूनाकै रुपमा बिकास गर्ने हाम्रो सोंच रहि आएको छ ।

६३.       नगरपालिका क्षेत्र भित्र संचालन हुने यात्रुबाहक सवारी नियमित, व्यवस्थित गरिनुका साथै यात्रु भाडा दर दुरीको आधारमा सरोकारवालाहरुको सहयोगमा समाधान गरिने नीति लिईने छ । प्रत्येक वडाको एउटा प्रमुख सडक पहिचान गरी स्तरोन्नती गरिनेछ । सडक संजाललाई नियमित गर्न लेन्थ वर्करको व्यवस्था गरिनेकार्यलाइ निरन्तरता दिइने छ ।

६४.    वातावरणीय प्रभावहरुको मूल्याङ्कन गरी सडकहरुलाई प्राथमिकताका आधारमा स्तरोन्नती गर्दै लगिनेछ । सडकको स्तरोन्नतीका लागि सम्बद्ध सबै निकायसँग समन्वय गरिनेछ । आवश्यक स्थानमा कल्भर्ट निर्माणलाई प्राथमिकता दिइनेछ । नगरपालिका क्षेत्रभित्रका भित्रि बाटोहरुमा नालीको व्यवस्था गरी बर्षा याममा समेत ग्रामिण यातायातको सुनिश्चितता गरिनेछ ।

६५.     प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री ग्रामिण तथा रोजगार कार्यक्रम जस्ता विकास गतिविधिहरु संघीय सरकार र प्रदेश सरकारद्वारा स्थानिय सरकारको विकास गतिविधिहरु संचालन गर्न प्राप्त कार्यक्रम भएकोले हाम्रो आवश्यकता र वस्तुस्थिति अनुरुप प्रचलित कानून बमोजिम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रममा अधिकतम बेरोजगार ब्यक्तिहरुलाइ सूचिकृत गर्न प्रोत्साहन गरिने छ । नगरपालिकामा ठेकेदार कम्पनीवाट सम्पन्न गरिने योजनाहरुमा सूचिमा परेका ब्यक्तिहरुलाइ काममा लगाउनु पर्ने कुरालाइ कानून बमोजिम कार्यान्वयनमा जोड दिइने छ ।

६६. पूर्वाधार विकासका काममा युवा र महिलाहरुलाई कामका लागि पारीश्रमिकमा आधारीत भई आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गरिने छ ।

६७. योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन/मूल्याङ्कन विधिलाई चुस्त र नतिजामुखी बनाईने छ र  “अनुगमनको अनुगमन” गर्ने कार्यको शुरुवात गरिने छ ।

६८. निर्मित सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न बजेटको ब्यवस्था गरिने छ । सडक लगायत निर्मित सार्वजनिक सम्पत्तीको  संभार एवं मर्मत संभारको लागि एक मर्मत संभार कोषको साथै  बजेटको ब्यवस्था गरिने छ ।

६९. नगरपालिका भित्र सार्वजनिक पुर्वाधार निर्माण गर्दा महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री तथा वातावरणमैत्री संरचना निर्माणमा जोड दिने विषयलाई निरन्तरता दिई  कार्यान्वयन गरिनेछ ।

७०. नगरपालिका केन्द्रको आफ्नो स्वामीत्वमा रहको र जग्गा प्राप्तीवाट खरिद भएको कारिव १२  रोपनी जग्गामा बोलपत्र आब्ह्यन भइ प्रशासकिय भवन निर्माणको काम अगाडि बढाउन संघिय सरकार र नगरपालिकाको ५०:५० को लगानीमा करिब १० करोडको लगानीमा बहुवर्षिय ठेक्का प्रक्रिया  अगाडी बढेको र चालु आ.व. मा उल्लेख्य भौतिक एवं बित्तिय प्रगती भएको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

७१. नगरपालिकामा गत आ.व. २०७६/०७७ मा एक वटा हेली प्याड (वडा नं ७ ) निर्माण भई सकेको छ ।  अन्य वडाहरुमा पनि आवश्यकतानुसार हेलिप्याड निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ  ।

७२. नगरपालिकावाट निर्मित तथा वडाहरुबाट प्राप्त सम्पुर्ण योजनाहरुको परियोजना बैंक (Project Bank) तयार गरिने छ ।  नगरपालिकाको विकासको लागि आवधिक, वार्षिक, रणनीतिगत, विषय क्षेत्रगत, मध्यकालिन तथा दीर्घकालिन विकास योजना बनाई कार्यान्वयन गरिने प्रक्रियालाइ अगाडि बढाइने छ ।

७३. नगरपालिका भित्रका स्थानहरुको पहिचान गरी नमूनाको रुपमा ईको सिटी (Eco-City) र टुरिजम सिटी (Tourism City) निर्माणको लागि आवश्यक संभाब्यता अध्ययनको प्रक्रियालाई अगाडि बढाईने छ ।

७४.       नगरपालिकाको पहिचानको रुपमा नगरपालिकको केन्द्र र अन्य  वडाहरुमा आवश्यकता पहिचान गरी बस पार्कको लागि जग्गा प्राप्ती गर्न बिशेष पहल गरिने र पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडी बढाइने छ । वामीटक्सार पार्क, जेष्ठ नागरिक विश्राम तथा मनोरञ्जन पार्क, उद्योग ग्राम, फोहोर प्रशोधन केन्द्र, प्रत्येक वडामा (बगैचा, पोखरी, प्रतिक्षालय, पैदल मार्ग भएको) कम्तिमा एउटा स्मार्ट मनोरञ्जन पार्क निर्माणको काम मुसिकोटका प्राथमिकताका बिषयहरु हुन् । श्रोत साधनको लागि संघिय सरकार एवं प्रदेश सरकार संग  बिशेष पहल गरिनेछ ।

७५.       नगरपालिका भर ५० प्रतिशत जनसहभागिता जुटाई सिंचाई गर्नका लागि कुलोहरु निर्माण, मर्मत तथा व्यवस्थापन गर्ने काम प्राथमिकताका साथ अगाडी बढाई सकिएको छ । सिंचाईका लागि प्रयोग हुने जलाधार क्षेत्र, मुहान, कोखोल्सीहरुमा पानी रिजर्वका लागि  अपनाईने संरक्षण पद्धती लागु गराईने छ । छोटो दुरीमा हुन सक्ने अवस्थामा लिफ्ट सिंचाई गराई सिंचित क्षेत्र विस्तार गरिने छ ।  लिफ्ट सिंचाईमा प्रयोग हुने मोटर र पाईप र वाईरिङ्गको ५० प्रतिशत अनुदान दिने नीति लाइ निरन्तरता दिइने छ ।

७६. नगरपालिका भित्रका सार्वजनिक, पर्ति तथा ब्यक्तिगत जग्गा बाहेकका जग्गा अतिक्रमण हुन नदिने र भएको भए त्यसलाइ सुरक्षित गर्न उपयूक्त नीति अवलम्बन गरिने छ ।

७७.       यस नगरपालिका भित्र रहेका भौतिक पूर्वाधार निर्माण गर्दा अपाङ्गता मैत्री बनाउने नीति लिइनेछ । नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरुको क्षमता विकासका लागि कार्यक्रम बनाई लागु गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापनका लागि आवश्यकताका आधारमा शिपमुलक तालिम तथा सशक्तिकरण गर्ने नीति लिनइने छ ।अपाङ्गले संचालन गर्ने व्यवसायलाई अनुदान दिने सुलभ ऋणको लागि सिफारिस गरिनेछ ।

७८.       बिद्युत आपूर्तिर्लाइ भरपर्दो बनाउन नगरपालिकाको मुकाम लगायत अन्य  बस्तीहरुमा राष्ट्रिय प्रशारण लाईनको विस्तार गरिएको र बिस्तार हुन नसकेका अन्य वस्तीहरुमा पनि  राष्ट्रिय प्रशारण लाईनको विस्तारलाइ थप  निरन्तरता दिइने छ । नगरपालिका भित्र रहेका सम्पूर्ण साना तथा लघु जलविद्युत आयोजनाहरुलाई एकीकृत गर्दै ग्रीडिङ, विद्युत प्राधिकरणसँग समन्वय गरी विक्रीको सुनिश्चित गर्ने काम अगाडी बढाउन बिशेष पहल गरिने छ ।

७९. उज्यालो नगरपालिका अन्तर्गत बैकल्पीक उर्जाको माध्यमवाट सौर्य सडक बत्ति जोड्ने कामलाइ चालु आ.व.मा कतिपय वडाका महत्वपूर्ण स्थानहरुमा जडान गरिएको र यस लाइ अझ बिस्तार गर्न बैकल्पीक उर्जा प्रबर्धन केन्द्रसंग  समन्वय गरिने छ ।

८०.       सुरक्षित नागरिक आवास अन्तर्गत गत आर्थिक वर्षमा नै मुसिकोट नगरपालिका खरका छाना मुक्त नगरपालिकको नजिक पुगि सकेको र आगामी  आ.व. २०७८/०७९ मा खरका छाना मुक्त नगरपालिकाको घोषणा गरिने छ ।

वातावरण तथा बिपद् ब्यवस्थापन सम्वन्धी

८१.       चारैतिर सदाबहार खोलानाला र नदीहरु प्रवाहित मुसिकोट नगरपालिकामा प्रसस्तै मात्रामा जल सम्पदा रहेकोले नगरको समृद्धिका लागि हामीसँग भएको जल सम्पदाको अधिक उपयोग गर्दै जलविद्युत, पर्यटन तथा पर्यावरणीय विकास र ठुला सिँचाई परियोजना निर्माणका लागि आवस्यक योजना निर्माण गरि कार्यान्वयनमा लगिनेछ  ।

८२.     वातावरण संरक्षणमा कृयाशिल सामाजिक व्यक्तित्व, संस्था वा समूहको श्रम सहयोगमा वृक्षारोपण, वन नर्सरी, पदमार्ग, पोखरी तथा चौतारी निर्माण तथा भु–संरक्षणका लागी विशेष व्यवस्था गरीने छ । वन जंगल, जलाधार क्षेत्रको उचित संरक्षण गर्न अतिक्रमण अवैध निकासी पैठारी नियन्त्रणका कार्यक्रम संञ्चालन गरिनेछ ।

सार्वजनिक महत्वका पोखरी निर्माण र संरक्षण, नदि–खोला तटबन्ध र भल व्यवस्थापन, बाटीका निर्माण र भू–संरक्षण, चौपारी निर्माण र बृक्षारोपण गर्ने समुदाय, संस्था, समूह (व्यक्ति समेत) लाई आवश्यक निर्माण सामाग्री दक्ष मिस्त्री तथा प्राविधिकको सेवा उपलब्ध गराई वातावण संरक्षण तथा स्वच्छ वातावरण निर्माणमा साझेदारी मार्फत व्यापक सहयोग दिने नीति अवलम्बन गरिनेछ । भू-क्षयवाट अति प्रभावित क्षेत्रको पहिचान सहित सो नियन्त्रणको लागि नगरपालिकाको आफ्नै पहल एवं संघ र प्रदेश सरकारसंगको सहकार्यमा नियन्त्रण कार्यक्रम अगामाडि बढाइने छ । वडा नं ०१ स्थित फुस्रे पहिरो लगायत वडा नं ०२ को प्रभावित र अन्य क्षेत्रमा रहेका जोखिम क्षेत्रहरुको पहिचान गरी आवश्यक पहल गरिने छ ।

८३.     फोहोरमैला बिसर्जनको लागि डम्पीङ साइट निर्माणको काम नगरपालिकाको प्राथमिकताको बिषय हो । आगामी आ.व. २०७८/०७९ मा संघिय सरकारको बिशेष अनुदान अन्तर्गत डम्पीङ साइट निर्माणको लागि योजना माग गरिएको, फोहर मैला उत्सर्जन गर्न उत्सर्जन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याउने र कुहिने फोहोरमैला मल बनाई करेसाबारी प्रयोग गर्ने गराउने र बजार क्षेत्रमा फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने कार्य गरिनेछ । फोहरमैला ब्यवस्थापनको लागि ल्याण्डफिल्डसाइट निर्माण गर्न जग्गा प्राप्ती एवं सम्भाब्यता अध्ययन गर्न आवश्यक बजेटको ब्यवस्था गरिने छ ।

८४.     नगर स्तरीय विपद् व्यवस्थापन सम्बन्धी आकस्मिक राहत कोष खडा गरिने र उद्धार कार्यको लागि राहत सामाग्री र जनशक्ति सम्बन्धी आवश्यक नीति तर्जुमा गरिनेछ । नगरपालिका स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।

८५.     कोभिड – १९ को महामारीसंग जुध्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोवल बृद्धि गर्न संधीय सरकारले तोकेको मापदण्ड भित्र रही स्वास्थ्यकर्मी तथा कर्मचारीलाइ प्रोत्साहन भत्ताको ब्यवस्था गरिनेछ ।

न्याय सम्पादन

८६.     न्याय सम्पादन तथा मेलमिलापलाई उच्च प्राथमिकतामा राखी प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्तालाई  तालिम दिइ न्यायलाई छिटो छरितो बनाउने कार्यमा नगरपालिका अग्रसर रहेको कुरा नगरवासीले अनुभूत गरेका छन । यसको प्रतिफल स्वरुप न्यून उजुरी संख्या र  उच्च फर्छ्यौटले न्यायीक क्षेत्र हाम्रो सन्तोषजनक रहेको अनुभूत गर्न सकिन्छ ।

८७.   आगामी आ.व.२०७८/०७९ मा न्यायिक समितिको कामलाई छिटो /छरितो, पंहुच योग्य  र सहज बनाईने छ । गत आ.व. २०७६/०७७ मा प्रत्येक वडावाट ३/३ जनाका दरले मेलमिलाव कर्ताको तालिम सम्पन्न भईसकेको छ । न्यायिक समितिमा पर्न आएका उजुरीहरु अत्यधिक फर्छ्यौट  भएका छन् । न्यायिक समितिको कामलाई अझ प्रभावकारी बनाईने छ । समाजमा व्याप्त महिला हिंसालाई रोक्न सामाजिक अभियान सञ्चालन गरिने छ । समाजमा दबिएर रहेका हिंसा जन्य गतिविधि रोक्न न्यायिक समितिलाई आवश्यक बजेटको ब्यवस्था गरी सरकारी/गैरसरकारी संस्थाहरुसँग आवश्यक समन्वयसमेत गरिने  छ ।

८८.     सर्वसाधारणलाई नविनतम कानूनी अवधारणा प्रदान गर्नको लागि प्रत्येक वडामा कानुनी सारक्षता कार्यक्रम संचालन गरिनेछ । प्रत्येक वडामा मेलमिलाप केन्द्र मार्फत सानातिना विवादको समाधान गरिनेछ । मेलमिलाप केन्द्रलाइ थप ब्यवस्थित बनाउन मेलमिलाप कर्ताहरुलाइ तालिमको  ब्यवस्था गरिने छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन,

८९.     संबिधान बमोजिम स्थानिय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको र नेपालको सन्दर्भमा नौलो अभ्यास रहेको हुंदा केही समय यस नौलो ब्यवस्थाका अभ्यासहरुको सिकाइमा समय खर्च हुन गएतापनि जनताको घर आगनको सरकार हुनुको नाताले  जनताका प्रत्यक्ष सरोकारका विषयमा सरकार लागि रहेको छ । सरकारको शासकिय अभ्यासहरुमा हाम्रा अननुभवहरु नौला छन् । शुरुका दिनहरु हाम्रा लागि नितान्त नौला भएका कारण कमी कम्जोरी हुनु स्वाभाविक हो ता पनि सबै पक्षहरुको सद्भाव एवं जनप्रतिनिधिहरु र कर्मचारीहरुको अथक प्रयासवाट स्थानीय नागरिकहरुले स्थानीय सरकारको अनुभुती गर्न सक्ने अवस्था श्रृजना भएको छ ।

९०.   पारदर्शिता र  जवाफदेहीता जस्ता सुशासनका मूलभूत पक्षहरुलाई ध्यान दिंदै  र्सार्वजनिक सेवा प्रवाहलाई जनउत्तरदायी तथा नतिजामुखी बनाइने छ । नगरपालिका र अन्तर्गत कार्यालयहरुमा “मुस्कान सहितको सेवाप्रवाह” मा उत्कृष्ट दक्षता प्रदर्शन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यलाई कार्यान्वयन गरिनेछ । सार्वजनिक सेवा प्रवाहको मार्गदर्शनको रुपमा नगरपालिका र वडा कार्यालयहरुमा नागरिक वडापत्र कार्यान्वयनमा ल्याई सकिएको छ । सो को प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिबृद्घि गरिने छ । समयको माग बमोजिम क्षतिपूर्ति सहितको नागरिक बडापत्र कार्यान्वयनमा ल्याउन आवश्यक कानूनको तर्जुमा गर्न पहल गरिने छ ।

९१.     नगरपालिकाबाट गरिने सम्पूर्ण क्रियाकलापहरु जस्तै जनहितका लागि सन्देश, प्रगती विवरण, बुलेटिन, नीति तथा कार्यक्रम, नगर कार्यपालिका, नगर सभाबाट गरिने निर्णय, नगरपालिकाद्वारा प्रशारित कार्यक्रमहरु, स्थानीय सामुदायिक रेडियो तथा सञ्चारकर्मीहरुसँग समन्वय गर्दै सूचना प्रवाह छिटो छरितो पारदर्शिरुपमा गरिनेछ । स्थानीय स्तरमा संचालित सूचना तथा संचारका माध्यम रेडियो, पत्रिका, अनलाईन पत्रिकालाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।

९२. संविधानद्वारा प्रत्याभूत स्थानियतहको अधिकार समवन्धी व्यवस्था कार्यान्वयन गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता, सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न स्थानीय नेतृत्वको विकास गर्न उपयूक्त कार्यक्रमहरु अगाडि बढाईने छ ।

९३. स्थानीय शासन पद्घतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको सञ्चालन गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्थालाई कार्यान्वयनमा जोड दिईने छ । कर्मचारीहरुको  क्षमता अभिबृद्दि गरी समयमै सामान आपुर्ति र  निर्माण कार्य सम्पन्न गर्न बिशेष प्राथमिकता दिईने छ । सार्वजनिक खरिद प्रक्रियामा सुधारको लागि आवश्यक कानून निर्माण गरी सरलीकरण प्रक्रिया अवलम्बन गरिने छ ।

९४. नगरपालिका भित्रका विद्यालय, स्वास्थ्य संस्थाहरु र अन्य बिद्युतीय हाजिरी जडान हुन बांकी सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिरी आगामी आ.व. भित्रमा जडान गरि सकिने र इन्टरनेट सेवालाई क्रमश: बिस्तार गर्दै लगिने छ ।

९५. “सेवाको वरीपरी जनता होईन, जनताको वरीपरी सेवा” भन्ने भावना सहित सेवाग्राहीलाई सम्मानपुर्वक सेवा प्राप्त गर्ने अवसर सिर्जना गरिनेछ । जनताको नजिकको सरकारको नाताले सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, भरपर्दो, नागरिक मैत्री बनाई सुशासनको प्रत्यक्ष अनुभूती दिलाइने छ । घरदैलोको सरकारको नाताले सेवाग्राहीका गुनासा तथा सुझावहरु सम्बन्धित नजिकको  पदाधिकारी समक्ष सोझै पठाउने सक्ने व्यवस्था मिलाइनेछ । कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गरिने छ ।

९६. काम सम्पादन गर्ने क्रममा हाम्रा मात्र प्रयासहरु अप्रयाप्त हुन सक्छन । अरु स्थानीय सरकारहरुको अनुभवबाट सिक्न र नगरपालिकामा अवलम्वन गर्न प्रतिनिधि/कर्मचारी सम्मिलित अध्ययन, अवलोकन भ्रमण कार्यक्रमलाइ प्राथमिकता दिइने छ । अन्य स्थानिय तहहरुसंगको सहकार्यमा संयूक्त लगानीमा योजना तर्जुमा र कार्यान्वयनलाइ प्राथमिकता दिइने छ ।

९७. आजको युग सूचनाको युग हो । हाम्रा गतिबिधिहरु नागरिकलाई शीघ्रातिशीघ्र सूचना प्रदान गर्न नगरपालिकाको वेवसाइट नियमित अपडेट गरी सूचना सार्वजनिक गर्ने व्यवस्थालाई निरन्तरता दिईनेछ । नगरपालिकाको वार्षिक कार्यक्रम तथा बजेट, कानून, निर्णय, पुस्तिका प्रकाशन, स्थानीय पत्रपत्रिका, एफ.एम. मार्फत सार्वजनिकीकरण गरिने कार्यलाई प्राथमिकता  दिईने छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको नामावली वडा कार्यालयको सूचना पाटी र कार्यालयको वेवसाइट मार्फत सार्वजनिक गरिनेछ । कार्यालयका गतिविधिहरु सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरिक्षण र होर्डिङ्ग बोर्ड मार्फत सार्वजनिक गर्दै नागरिकको सूचनाको हकको सम्मान गर्ने कार्यलाई अझ प्रभावकारी बनाईनेछ ।

९८. नगरपालिकाद्वारा निर्मित सम्पर्ण कानूनहरु स्थानिय राजपत्रमा प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

९९. नगरपालिकामा एक व्यवस्थित सूचना तथा अभिलेख केन्द्रको स्थापना गर्ने साथै नगरपालिका भित्र रहेका प्रत्येक घर परिवारको पूर्ण लगत राख्ने कार्य गरिनेछ । नगरपालिकाबाट वडा कार्यालय, पदाधिकारी तथा कर्मचारीहरुलाई गरिने पत्राचारमा एस.एम.एस. प्रणालीको अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिंदै पछिल्लो अत्याधुनिक प्रविधि अवलम्वन गर्ने कार्यलाई विशेष प्राथमिकता दिईने छ ।

१००. नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुका लागि आवश्यक फर्निचर, मेशीनरी औजार लगायत पूर्वाधारको व्यवस्थापन गरी उचित कार्य वातावरणको सिर्जना गरिनेछ । कर्मचारीको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

१०१. नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने कार्यलाई आवश्यक अध्ययन गरी उपयूक्त नीति अवलम्वन गरिने छ । वार्षिक विकास कार्यक्रमहरुको छनौट, कार्यान्वयन, अनुगमनमा सार्वजनिक, निजि र सहकारी क्षेत्रको सहभागितामूलक योजना पद्धतिको अवलम्बन गरिनेछ । विकासका गतिविधिमा नागरिक अपनत्व अभिवृद्धिमा विशेष जोड दिइनेछ ।

१०२.   राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि कार्यसंम्पादनमा आधारीत प्रोत्साहन भत्ता लगायत उत्प्रेरणात्मक गतिबिधि संचालन गरी कार्यान्वयन गरिने छ । कर्मचारीको क्षमता बिकास गर्न नगरपालिकाको आफ्नै श्रोतवाट क्षमता बिकास तालिम लगायत अन्य संघ एवं प्रदेश सरकार एवं तालिम केन्द्रहरुवाट आयोजना हुने  तालिम कार्यक्रमहरुमा सहभागि गराइने छ ।

१०३.   प्रदेश सरकारले निर्धारण गरेको कानून बमोजिम जनप्रतिनिधिहरुलाई तोकेको सेवा सुविधाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।

१०४.   जनसभागितालाई उत्साह पूर्वक जुटाउन टोलटोलमा निर्माण प्रकृया, सरसफाई, वित्तिय अनुसाशन, बातावरण प्रवद्र्धन, बालबालिका, महिला, जेष्ठ नागरिक अपाङ्ग, सुशासन, विकास निर्माणका जनताको पँहुच वस्ती विकास आदिलाई मध्यनजर गरी टोल विकास संस्था गठन प्रकृया अगाडी बढाइनेछ ।

१०५.   नगरपालिकाको नीति, कानून, मापदण्ड, निर्णय कार्यान्वयन, सार्वजनिक सम्पति, नगरको सुरक्षा तथा संरक्षण, विपद व्यवस्थापनका लागि नेपालको संविधानको धारा २२६ को अधिनमा  रही नगर प्रहरी संचालन तथा व्यवस्थापन गरिनेछ ।

१०६.   जतालाई दिने सेवा छिटो छरितो र योजनाबद्ध ढंगले सम्पन्न गर्नका लागि एउटा “योजना कार्यान्वयन तथा खरिद परामर्श समिति” गठन गरिनेछ, जसले गर्दा आगामी आर्थिक वर्षमा जेष्ठ मसान्त भित्र काम सम्पन्न भई आषाढ पहिलो हप्तामा नै भुक्तानी भैसक्ने छ । योजना अनुसार खरिद गर्नुपर्ने सामाग्री, मेसिन, औजार, फर्निचर आदि समयमै थप पारदर्शी ढंगले सम्पन्न हुने छ । सार्वजनिक सुनुवाईलाई निरन्तरता दिईने छ । 

अन्त्यमा,

१०७. गत आ.व. हरुमा कार्यान्वयन भएका योजना/कार्यक्रमहरुबाट सकारात्मक परिणामहरु देखिएका हन् ।  चालु आ.व.को समाप्तिसँगै हाम्रो यस मुसिकोट नगरपालिकाले विकासको क्षेत्रमा नयाँ मोड लिने प्रशस्त आधारहरु तयार भएका थिए तर विश्वब्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को असर र प्रभाव नेपाल एवं गुल्मी जिल्ला र हाम्रो नगरपालिकामा समेत परेको ब्यहोरा अवगतै छ । हाम्रा विकासका गतिबिधिहरु मध्ये बोलपत्र एवं  सिलवन्दी दरभाउपत्रद्वारा ३० वटा कार्यक्रम अगाडि बढेकोमा प्रकोपको कारण मालसामान एवं मिष्त्री र ज्यामीको अभावले संकटमा परेको ब्यहोरा सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

१०८. यस्तै समस्या उपभोक्ता समितिद्वारा संचालीत योजनाहरुमा पनि परेको छ । गौरव गर्न लायक र परिणाम देखिने योजनाहरु कार्यान्वयनको चरणमा रहिरहंदा यस किसिमको समस्या देखिनु दुर्भाग्यको विषय हो ।  संघ एवं प्रदेश सरकारद्वारा स्थानीय सरकारलाई समेट्ने गरी निर्माण भएका कानून एवम् नगरपालिकाबाट निर्मित कानून वमोजिम सरकार सञ्चालनका महत्वपूर्ण आधारहरु तयार भएका छन । नीति, कार्यक्रम, बजेट एवं योजना तर्जुमा र कार्यान्वयनका हालसम्मका हाम्रा अभ्यासहरु निर्मित कानूनहरुको आधारमा समेत  आगामी दिनहरु अझ सहज हुने कुरामा विश्वास लिन सकिन्छ ।

१०९.संघिय संरचना पछिको तीन तहको सरकार, यसका संरचना निर्माण र संगठनलाई कामयाबी बनाउनको लागि भएका हाम्रा हाल सम्मका प्रयासहरु भोलीको दिनको लागि सुखद देखिन्छन । गत तीन र चालु एक गरी चार वटा आर्थिक वर्षहरुमा विगतमा जनप्रतिनिधि विहिन अवस्थामा भन्दा सामाजिक आर्थिक विकास तथा रुपान्तरणमा धेरै परिवर्तन आएको अनुभूति गरिएको छ । पारदर्शी सँस्कृती अवलम्बन गरेका छौं । स्थानीय जनतालाई निरन्तर सेवा प्रवाह गर्ने जनप्रतिनिधि साथै आम कर्मचारी प्रति आभार व्यक्त गर्न चाहन्छु ।

११०.आजको यस घडीमा यो नीति र कार्यक्रम यस सम्मानित सभा समक्ष  प्रश्तुत गरिरहंदा  भोलीका दिनहरु अझ कठीन हुने स्थिति देखिन्छ । महामारीको रुपमा रहेको कोरोना संक्रमण (COVID-19) संग हामीले कती लड्नु पर्ने हो यसको लेखाजोखा गर्न गार्हो छ ।

भोलीका दिनमा सम्पूर्ण पक्षहरुको साथ र सहयोग प्राप्त हुने छ भन्ने आसा र विश्वास लिएको छु । COVID-19 को कारण थाती रहन गएका हाम्रा कतिपय प्रयासहरुलाई उपयूक्त बिधिद्वारा सम्बोधन गरिने प्रतिबद्दता ब्यक्त गर्न चाहन्छु ।

१११. प्रश्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनवाट मुसिकोटको विकासमा सकारात्मक प्रभाव पर्ने र महामारीको असर कम गर्दै “समृद्द नेपाल सुखी नेपाली” को राष्ट्रिय आकाङक्षा पुरा गर्न सहयोग पुग्ने छ भन्ने आसा लिएको छु ।

समुन्नत र समृद्ध मुसिकोट निर्माणमा सहयोग पुर्‍याउने संघिय सरकार, प्रदेश सरकार एवं रचनात्मक सहयोग पुर्‍याउनु हुने राजनीतिक दल, निजि क्षेत्र, सहकारी क्षेत्र, राष्ट्र सेवक कर्मचारी, नागरिक समाज, आम संचार माध्यम एवं  विभिन्न तह र तप्काका महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै स्थानीय सरकारको रुपमा सेवा गर्ने अवसर प्राप्त भएको यस घडीमा जहाँ सुकै रहनु बस्नु भएका सम्पुर्ण मुसिकोट वासीहरु आमा/बुबा/दाजु/भाई/दिदी/बहीनी एवं गुल्मी स्थित अमूल्य राय सुझाव प्रदान गर्नु हुने अन्य स्थानिय सरकार, स्थानिय प्रशासन र सुरक्षा निकाय प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र प्रस्तुत नीति र कार्यक्रमको अनुमोदन र सफल कार्यान्वयनको अपेक्षा राख्दछु ।

उपस्थित सभा सदस्य ज्यूहरु, सम्पूर्ण कर्मचारीहरु, पत्रकार बन्धु लगायत उपस्थित महानुभावहरुमा यो नीति तथा कार्यक्रम कार्यन्वयनमा समन्वय, सहयोग, सक्रिय सहभागिताको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

धन्यबाद,

सोमनाथ सापकोटा

नगर प्रमुख मुसिकोट नगरपालिका , गुल्मी

आज नै निति तथा कार्यक्रम पास भएपछि अव असार १० गते वस्ने नगरसभाको दोस्रो दिनको पहिलो वैठकमा उपप्रमुख कमला शर्माले आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमान्द भुसालले वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!