Tuesday, October 4

कोरोना संक्रमण भएका व्यक्तिसँग कति दिन अगाडि सम्पर्क भए जोखिम ?

मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ?

कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्?

अब मानिलिउँ, तपाईंलाई संक्रमणको शंका लाग्यो वा परीक्षण गराउँदा पोजेटिभ नै देखियो। यस्तो अवस्थामा होम आइसोलेसनमै बस्न चाहनुहुन्छ भने तपाईंले के–के कुरामा ध्यान दिनुपर्छ?

अहिले हामी निषेधाज्ञाबीच पनि तरकारी वा अन्य सरसामग्री किन्न बिहान–बेलुकी पसल गइरहेका छौं। यसरी पसल गएर तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सर्दैन?

कोरोना महामारी बेला यस्ता प्रश्नमा सर्वसाधारणलाई ठूलो चासो हुन्छ।

पोहोर सांसद गगन थापाले फेसबुक संवादका क्रममा यस्तै प्रश्न सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीसँग सोधेका थिए।

सबभन्दा पहिला संक्रमित व्यक्तिसँग कति दिनअगाडि सम्पर्क भएको व्यक्तिले सतर्क हुनुपर्छ भन्ने कुरा गरौं।

डा. सुवेदीले यसमा दुइटा कुरा औंल्याए।

पहिलो, लक्षण देखिनुभन्दा ४८ घन्टा अगाडिबाट संक्रमण सर्ने डर हुन्छ। भन्नुको मतलब, कसैलाई आज लक्षण देखिएको हो भने उसले आजभन्दा ४८ घन्टा अर्थात् दुई दिन अगाडिदेखि अरूलाई भाइरस सार्न सक्छ।

दोस्रो, कुनै व्यक्तिमा लक्षण देखिएको छैन तर परीक्षण गर्दा पोजेटिभ आयो भने उसले स्वाब झिक्नुभन्दा ४८ घन्टा अर्थात् दुई दिनअघिबाट संक्रमण सार्ने सम्भावना हुन्छ।

‘हामी जनस्वास्थ्यमा यिनै दुइटा आधार मानेर काम गर्छौं,’ डा. सुवेदीले भने।

उनले अझ विस्तार लगाए, ‘तपाईंले कुनै साथीलाई एक साताअघि भेट्नुभएको थियो। त्यो साथीलाई हिजोदेखि ज्वरो आउन थाल्यो र आज परीक्षण गर्दा पोजेटिभ देखियो भने तपाईं डराउनुपर्दैन। तर, त्यो साथीलाई दुई दिनअघि मात्र भेटेको हो भने अब तपाईं पनि जोखिममा पर्नुभयो। तपाईंलाई पनि सरेको हुनसक्छ। यस्तो अवस्थामा तपाईंले आफ्नो पनि परीक्षण गराउनुपर्छ।’

यति हुँदाहुँदै त्यो संक्रमित साथीलाई परैबाट हाइ-हेलो गरेको हो भने डराउनु पर्दैन।

तर तपाईंले संक्रमित व्यक्तिसँग ६ फिट दुरीमा रहेर १५ मिनेट बिताउनुभयो भने तपाईं जोखिममा पर्नुभयो। तपाईंले ३ फिटकै दुरीमा बसेर गफ गर्नुभएको छ, तर ५ मिनेट मात्र बिताउनुभएको छ भने तपाईंलाई जोखिम कम हुन्छ।

‘अर्को कुरा, तपाईंहरू दुवैले मास्क लगाउनुभएको छ भने जोखिम अझै कम हुन्छ,’ उनले भने।

उनको यो कुराबाट के थाहा हुन्छ भने, संक्रमित व्यक्तिसँग कति दिनअगाडि कति समय बिताएको थियो, कति दुरीमा बसेको थियो, मास्क लगाएको थियो कि थिएन, हात मिलाएको थियो कि थिएन लगायत कुराले जोखिम निर्धारण गर्छ।

‘यसबाट हामीले व्यक्तिगत दुरी कायम राख्नु र मास्क लगाउनु कति जरूरी छ भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हामी नेपालीहरूले मास्कको सवालमा खरो व्यवहार देखाउनैपर्छ। आफूले जतिसुकै मान्नुपर्ने मान्छे भए पनि तपाईं कृपया मास्क लगाउनुस् अनि मात्र हामी कुरा गरौं भन्न सक्नुपर्छ। कसैले नाकमुनि मास्क लगाएको छ भने उसलाई राम्ररी लगाउनुस् नभए म तपाईंसँग कुरा गर्दिनँ भन्नुपर्छ।’

अब हामी कुरा गरौं, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूको।

डा. सुवेदीका अनुसार आइसोलेसनका दुइटा प्रयोजन छन्— एउटा, आफूलाई संक्रमण भएको छ भने लक्षण बढ्दै गएको छ कि छैन भनेर निगरानी गर्ने। अर्को, त्यसले अरू मान्छेलाई सर्ने सम्भावना नहोस् भनेर ख्याल राख्ने।

होम आइसोलेसनमा बस्दा यी दुवै कुरामा ध्यान दिनुपर्छ।

आफूलाई संक्रमणको लक्षण बढ्दै गएको छ कि छैन भनेर हेर्न नियमित ज्वरो नाप्ने गर्नुपर्छ। सँगसँगै, रगतमा अक्सिजनको मात्रा ठीक छ कि छैन भनेर बेलाबेलामा अक्सिमिटरले नापिरहने। र, अरू लक्षण कत्तिको देखिएका छन् भनेर पनि अनुगमन गरिरहनुपर्छ।

अक्सिजन सहज रूपमा नाप्ने अक्सिमिटर औषधि पसलहरूमै किन्न पाइन्छ। अक्सिमिटर प्रयोग गरेर दिनको दुई–तीनचोटि नाप्नुपर्ने उनी सुझाउँछन्।

‘रगतमा अक्सिजनको मात्रा ९४ वा त्योभन्दा माथि छ भने हामी नर्मल भन्छौं। ९३ वा त्योभन्दा कम आए अक्सिजन कम भयो भनिन्छ,’ उनले भने।

कोभिड र अरू रोगमा अक्सिजन घट्दा देखिने लक्षण पनि फरक भएको उनले बताए।

‘अरू रोगमा सास फेर्न गाह्रो हुँदै गएपछि अक्सिजन घटेको थाहा हुन्छ। कोभिडमा भने तपाईंलाई सास फेर्न गाह्रो भइसकेको हुँदैन, तर अक्सिजन कम भइसकेको हुन सक्छ। यसमा अक्सिजन निकै कम भइसकेपछि मात्र लक्षण देखिन सक्छ। यस्तो बेला अस्पताल जाँदा ढिलो हुन सक्छ,’ उनले भने।

‘पसलबाट किनेर ल्याएको तरकारी, फलफूल पखाल्दा वा काट्दा नाकमुख छुनु हुँदैन। पखालेपछि वा काटेपछि हात राम्ररी धुनुपर्छ,’ उनले भने, ‘पकाउने बेला त तातोले भाइरस मरिहाल्छ।’

 ( सेतोपाटी.कम बाट साभार )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!