Saturday, September 24

डेटिङका सपनाले ड्युटीमा डिस्टर्ब ! लेखक : दिपक घिमिरे

डेटिङका सपनाले ड्युटीमा डिस्टर्ब ! लेखक : दिपक घिमिरे

किनमेलको काम सकियो। धेरैलाई त म नेपाल जाँदैछु भन्ने थाहा छैन। उता नेपालमा पनि दिपक आउँदैछ भन्ने सुइँकोसम्म छैन।

मेरो यात्रा गोप्य अनि सुटुक्कको हो भन्ने उनलाई र मलाई मात्र थाहा छ। यो हामी दुबैले वर्षौंसम्म पालेको एउटा सपना पनि हो, जो पूरा हुँदैछ।

तर, उनको यात्रा भने पारिवारिक नै हो। परिवारकै सल्लाहमा नेपाल जाँदै गरेकी उनले  मलाई पनि सुटुक्क नेपाल हिँड भनेपछि हाम्रा सपना पूरा हुन थालेका हुन्।

अबको दुई दिनपछि उनी सिकागोबाट उड्नेछिन् भने म ह्युस्टनबाट। हाम्रो मिलन काठमाडौंमै हुनेछ।

उनी गएको हप्तादेखि नै काम छाडेर नेपाल जाने तयारी गरिन्। मैले चाहिँ हिजोमात्र कामबाट बिदा लिएँ।

आज सपिङ सकियो, पर्सि उड्ने दिन।

रूममा साथीहरूलाई केही थाहा छैन। सामान्य ज्वरो आएको हुँदा काममा नगएको बहाना गरेको छु।

पर्सि के भन्ने? यो पनि मनमा खेल्छ। महिनौं गायब हुँदा सबै आतिन्छन्, रूममा अनि घरमा।

बहाना बनाएँ, साथी भेट्न क्यालिफोर्निया जाँदैछु भन्ने। पर्सिको फ्लाइट भन्दिएँ। सबैले पत्याए।

रूममा एक्लै भएको मौकामा उनलाई कल गरें, उनी सामान मिलाउँदै रैछिन्।

कल उठाउँदै भनिन्,‘एकछिनमा कल गर्छु है मोटु , सामान मिलाउँदैछु।’

उनी मलाई मोटु भन्छिन्, सारै मायालु पाराले। म छक्क पर्छु। किन यति मायालु उनी भन्दै।

अघि किनेका दुई जोर पाइन्ट अनि अलिकति पुराना कपडा मैले पनि सुटकेसमा कोच्न थालें। सपिङ जम्मै आफ्ना लागि मात्र थियो। अरूलाई त भेट्ने नै होइन, यात्रा गोप्य थियो मेरो।

अघिल्ला दुई महिनादेखिको तलब मेरो बैंकमै थियो। मैले घरमा पैसा पठाएको थिइनँ। अलि धेरै जम्मा गरेर पठाउँछु भनेर संगालेको पैसा आज एक्कासि काम लाग्ने भयो।

फुर्सदमा थिएँ, एकछिन बैंकतिर दौडिएँ। दुई हजार डलर निकाले अनि फेरि रूममै फर्किएँ।

साइलेन्टमा भएको मोबाइलमा उनका चार मिसकल देखिए।

हतारमै कलब्याक गरें। उनी रिसाउँदै भनिन्,‘मतलब छैन है मेरो निष्ठुरी?’

म हाँसें, उनी ठुस्किइन् ! मैले फकाउँदै भने,‘नरिसाऊ न बाबा प्लिज। मैले कल आएको थाहा पाइनँ नि त।’

म उनलाई बाबा भन्छु। मेरा उमेरका धेरै आसिकहरू आफ्ना प्रेमिकालाई बेबी भन्छन्। प्रेमिकाहरू पनि उनीहरूलाई बेबी नै भन्छन् रे। तर मलाई यो बेबी शब्द निक्कै झ्याउ लाग्छ।

बाबाभित्र प्रेम र सम्मान दुबै पाउँछु म। उसो त बेबीभित्र पनि ती सबै गुण होलान् तर मलाई मन पर्दैन। एक दुई पटक उनलाई बेबी भन्देको, उनी आफैं लजाइन्। अनि मलाई पनि हाँसो लाग्यो।

म आफैंले आफैंलाई बेबी ठान्छु, अनि म अरूलाई कसरी बेबी भन्नू? बरू उनी चाहिँ मलाई बेबी भनुन्, मोटुको ठाउँमा बेबी सम्बोधन गरून्।

‘तिमी कसैलाई भेटदैनौ, कसम ?’उनले फेरि उहीँ कुरा सोधिन्। जुन कुरा उनीसँगै नेपाल जाने मेरा सपनामा मैले व्याख्या गरिसकेको थिएँ।

‘भेट्ने कुरा छाड, जाँदैछु भन्ने कुरा रूममा अनि आउँदैछु भन्ने कुरा  घरमा थाहा छैन। म तिमीसँगै जाने, घुम्ने अनि सुटुक्क फर्कने हो’, मैले उहीँ कुरा दोहोर्‍याएँ।

‘फेसबुकमा स्टाटस हाल्दैनौ, यात्राको बारेमा ?’उनले मेरो फेसबुकप्रतिको क्रेजिपन देखेर सोधिन्।

‘नाइँ ! सबै बन्द हुनेछन्। फेसबुक, फोन सबै बन्द। जरूरी परे तिम्रोबाट काम चलाउने हो’ मैले निर्धक्क भन्दिएँ।

थप्दै भनें‘बिन्दास घुम्ने हो, जीवनभर याद हुने लामो डेटिङ, जहाँ कामको चटारो , आफन्तको डिस्टर्ब अनि तनाव केही नहोस्।’

‘दुबईबाट एउटै फ्लाइट छ, थाहा छ। टिकट हेरेका छौ ?’उनले नयाँ कुरा सुनाइन्।

उनले म्यासेन्जरमा पठाको आफ्नो टिकट अनि मेरो टिकट हेरें। हो रैछ त, हामी दुबईबाट एउटै फ्लाइटमा नेपाल पुग्ने रैछौं।

उनी अरू धेरै तयारीमा थिइन्, मलाई केही सिकाउँदै फोन काटिन्।

उड्ने दिन, सन्तोष सोल्टीलाई लिएर जर्ज बुश इन्टरनेशन एयरपोर्ट पुगे। बाहिर गेटबाटै मलाई शुभयात्रा भनेर सोल्टी फर्कनु भो, म भित्र छिरें।

बोइङ पास लिने गेटको अघिल्तिर जम्मा भएका यात्रुहरूसँगै मिसिएँ म पनि। सबैका अनुहार हेरे, नेपालीजस्ता कोही देखिएनन्।

अलि पल्तिर बसेका दुई जना केटाहरू नेपाली जस्ता थिए। तर उनीहरू अमेरिकन एयरलाइन्सका यात्रु होइनन् जस्तै लागेको थियो, त्यसैले वास्ता गरिनँ।

बोइङ पासको काउन्टरमा कर्मचारीहरू आए , एउटीले माइकिङ गर्दै ह्युस्टनदेखि बर्लिन जाने यात्रुहरू लाइनमा आउन आग्रह गरिन्।

ती नेपाली जस्ता केटाहरू पनि मेरै नजिक आए, पछि थाहा भयो केटाहरू चाइनिज रहेछन्। फाँ फु गर्दै बोल्न थालेपछि मैले बुझिहालें।

बर्लिनसम्मको यात्रा झुर लाग्ने निश्चित थियो। करिब साढे तेह्र घन्टाको यात्रा थियो।

एक जना नेपाली थिएनन् यात्रामा। अब सँगैको सिटमा कस्ता पर्ने हुन्, म डराउँदै बोइङ पास लिएँ।

एयर होस्टेसले मुस्कुराउँदै  स्वागत गरिन्, म पनि मुस्कुराउँदै अगाडि बढें। सिटमाथि लगेज कोचेर सिटमा बसें। छेउमा एउटा जर्मनी परेछ, झ्यालतिर अरबी। म उनीहरूको बीचमा परें। हामी तीनै जनालाई कसैको मतलब भएन।

मोबाइल निकालें, प्लेन उड्ने अझै आधा घन्टा बाँकी थियो। उनलाई म्यासेज लेख्दै भनें ‘शुभयात्रा छ तिम्लाई अनि शुभयात्रा छ मलाई!’

उनी अनमै रैछिन्, लभको इमोजी पठाउँदै लेखिन्, ‘शुभयात्रा मोटु! अब दुबईमा भेटौंला।’

यात्रु आउने क्रम सकियो, एयरहोस्टेसले फलाक्न थालिन्, उहीँ यस्तो गर्नुस् अनि उस्तो गर्नुस्।

सिट अगाडिको स्क्रिन अन गरें, एकछिन ह्युस्टन र बर्लिनको दूरी चेक गरें। अनि गीतहरूखोजें, कुन कुन फिल्महरू छन् हेरें।

सबै झ्याउ लाग्ने भएपछि मोबाइललाई फ्लाइट मोडमा राखें अनि आफ्नै गीतहरूमा मस्तिराम भैदिएँ।

एयर होस्टेसले दारु पानी ल्याए, मैले चासो देखाइनँ। अनि लगत्तै खाना आयो। खाइदिएँ।

लामो यात्रा भएको कारणले होला, फेरि उस्तै गरी दारू आयो, जुसमात्र लिएँ।

बर्लिन पुगियो, यहाँबाट अब मेरो यात्रा मध्यपूर्वको सुन्दर सहर दुबईतर्फको थियो। अमेरिकन एयरलाइन्सकै जहाज थियो। दुबईबाट नेपालसम्मको यात्रा हामीले इत्तेहाद एयरलाइन्सबाट गर्नेछौं।

तीन घन्टाको एयरपोर्ट बसाइपछि उस्तै गरी बोइङपासको काउन्टर खुल्यो। अब करिब आठ घन्टाको यात्रापछि म दुबई पुग्नेछु।

अहिले प्लेनमा बसेकाहरू धेरै अरबिकहरू नै थिए। दाह्री पालेका, सेता कपडा लगाएका शेखहरू जस्ता। अनिआधा भन्दा कम गोराहरू नै थिए। नेपाली अनुहार भएका एक जना पनि देखिएनन् यता पनि।

उस्तै गरी दारु आयो, उस्तैगरी खाना आयो। पिउनेहरू थप्दै पिए। म खाना र गानाको मजा लिँदै प्लेनमै निदाएँ।

आठ घण्टाको पट्यारलाग्दो यात्रापछि म दुबई ओर्लिएँ। मोबाइलमा फ्री वाईफाई कनेक्टका थुप्रै सिंग्नलहरू थिए। एउटालाई कनेक्ट गरें।

बग्रेर्ल्ती म्यासेज आए। उनी चार बजे दुबई ओर्लने छिन्। अहिले दुई बज्यो। हाम्रो नेपालतर्फको फ्लाइट आजै बेलुका ११ बजेको छ।

म उनलाई कुरिरहेँ। घडीको सुइँ निक्कै ढिला घुम्दैछ। एक घन्टा पुग्यो होला भनेर घडी हेर्‍यो, दस मिनेट भएको हुन्छ। पर्खाइ निक्कै पीडाको हुने।

चार बजे उनको फ्लाइट दुबई ओर्लियो। उनी अलि पर देखिइन्।

उनी मैले सोचेको भन्दा अझ राम्री। प्रेम भएको वर्षौसम्म पनि हामीले  एक अर्कालाई देखेका थिएनौं। च्याटमा, फोनमा अनि भिडिओ कलमा गफ हुन्थे तर प्रत्यक्ष भेटेका थिएनौं।

उनी भद्र पहिरनमा थिइन्। माथि निलो भेष्ट थियो, तल जिन्सको पाइन्ट। लामो सिल्की परेको कपाल। हल्का रातो पनि।

ओठमा रातो लिपिस्टिक कति सुहाएको भने अब बयान गर्नै सक्दिनँ।

उनी जति नजिक आउँछिन्, म उति लजाउँछु। उनी मेरै नजिक आउँदासम्म पनि मैले आँखामा आँखा जुधाउन सकिनँ। मात्र निहुरिरहें।

उनले गर्ल्याम्म अंगालोमा बेर्दै भनिन्, ‘तिमी लजाको?’

मैले ‘नाइँ’ मात्र भनें तर लाजले मुटुको ढुकढुकीको आवाज अलि परैसम्म सुनिँदै थियो।

‘नलजाऊ न मोटु प्लिज ! खुलेर बोल , आफ्नो फिल गर न।’ उनी मलाई खुलाउँदै थिइन्।

मैले नजिकै बसाउँदै भने ‘तिम्लाई एयरपोर्ट लिन त कोही आउँदैन नि ?’

मुन्टो हल्लाउँदै उनले भनिन्,‘नाइँ ! म काठमाडौं आइपुग्ने समय नै ढाँटेको छु। अनि फेरि काठमाडौंका साथीहरूसँगै छु भनेर उनीहरूको घरमा बसेर मात्र पोखरा जाने योजना बाबा मम्मी र दादाहरूलाई सुनाकी छु।’

हाम्रो डेटिङको पूर्वतयारी उनले गरिसकेकी थिइन्। उनी मसँग एक हप्ता घुम्न चाहन्थिन्। एक हप्ता रमाउन चाहन्थिन्। उनका पनि आफ्नै सपना रहेछन्।

उनले कोट्याउदै भनिन्, ‘सरासर कालिन्चोक जाने ल! एयरपोर्टबाटै ट्याक्सी लिएर।’

मैले हस् भनें। उनले फेरि भनिन्, ‘दोलखाको जिरी पनि जाने भन्दै थियौ त। उता पनि यही पालि जाने हो?’

मैले कालिन्चोक र जिरीको दूरी बताउँदै उनलाई भने ‘हामी एक हप्ता उतै बस्ने, दुई दिन कालिन्चोक! चार दिन जिरी। अनि फर्केर तिमी पोखरा, म अमेरिका।’

दाङ जाने मेरो योजना छैन भन्ने उनलाई थाहा छ। म काठमाडौंबाटै अमेरिका फर्कन्छु।

बस्दाबस्दै फ्लाइटको समय भयो। अब करिब चार घण्टा उडेपछि मेरो देशको माटोमा टेक्नेछु।

हामी लाइनमा लाग्यौं, बोइङ पास लिएर प्लेन चढ्यौं। एउटै लाइनमा हाम्रो सिट थियो । उनी झ्यालतर्फ बसिन्। म उनकै छेउमा।

प्लेन उड्यो उसैगरी। यो पटक मैले गीत पनि सुनिनँ, मनमा कुरा पनि खेलेनन अनि निद्रा पनि लागेन। छेउमा उनी थिइन्।

हामीले जीवनका कुरा गर्‍यौं, भविष्यका कुरा गर्‍यौं। अनुहारमा चमकता दुबैको उस्तै थियो। हामी संसारका सबैभन्दा भाग्यमानी जोडी भन्दै खुसी भयौं।

हामी नेपाली आकाशमा उड्दै थियौं। प्लेन काठमाडौं एयरपोर्टमा अवतरण गर्‍यो।

कसैले नदेखुन् , चिन्नेहरू नभेटिऊन् भन्ने दुबैको आशा थियो। हामी दुबै मास्कमा थियौं। कसैले झ्याप्पै चिन्ने अवस्था पनि थिएन।

चेकिङको काम सकेर बाहिर आयौं, झिसमिसे उज्यालो थियो। उनी हल्का डराउँदै थिइन्। मैले हिम्मत दिँदै थिएँ।

ट्याक्सीका ड्राइभरहरू हाम्लाई तान्दै थिए। कोही मोलतोल सुनाउँदै थिए त कोही ट्याक्सी देखाउँदै।

एउटाले मलाई तान्दै भन्यो, ‘दाइ हिँड्नुस , ढिला नगर्नुस्। म छाडिदिन्छु तपाईंलाई।’

मैले उनलाई हेरें , उनी अलि परै थिइन्। ट्याक्सी वालाले मेरो पाखुरा तान्दै थियो।

म ट्याक्सीवालासँग रिसाउँदै भने  ‘छाड यार भाइ के गरेको?’

एक्कासि हाँसोले संसार थर्किएजस्तो भयो। झल्यास्स ब्युझिएँ। सोल्टी सोफामा बसेर हाँस्दै हुनुहुन्थ्यो, भाइले मेरो पाखुरा तान्दै उठाउँदै थिए।

जुरुक्क उठेर घडी हेरें, ड्युटीमा जाने समय भैसकेको रहेछ।

आज पनि डेटिङकै सपनाले काममा ढिला हुने भो। सोल्टी र भाइ उता हाँस्दै खाना पस्किन थाले, म ब्रस लिएर रेष्टरूम छिरेँ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८, सेतोपाटी.कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
1
+1
3
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!