Tuesday, October 4

‘अन्तरजात’ ले तोडिएको प्रेम

लेखक- एनिसा वस्नेत ।

आज म सामानको लिस्ट लिएर नानीलाई घरमा छोडेर बजार गएँ। लिस्ट अनुसार आदि सामान किनिसकेको थिएँ। अचानक ‘ऊ’सँग भेट भयो।

ऊ, जोसँग एक समय मेरो घनिष्ठ मित्रता रह्यो। ऊ, जो बीच बाटोमा मलाई अलपत्र पारेर गयो। ऊ, जसलाई मैले जति बिर्सन प्रयास गर्दा पनि बिर्सन सकिनँ।

उसले भन्यो, ‘सन्चै छौ?’

म मुस्काएँ। उसले आफ्नो श्रीमतीसँग भेट गरायो, म मुस्काएँ। छोरा पनि देखेँ। हुन पनि त बेबी सावरपछि छोरा भएको पोस्ट फेसबुकमा देखेको थिएँ, आज यति ठूलो भइसकेछ। म फेरि पनि मुस्काएँ। केहीबेर सामान्य कुराकानी भयो अनि सामान धेरै किन्नु छ भनेर उनीहरु गए।

मलाई त सामान किन्ने आँट पनि आएन। मनमा अथवा शरीरको कुनै अंगमा कतै घोचे जस्तो, कतै पीडा भएजस्तो महशुस भयो। म घर फर्किएँ, सोफामा बसेँ र ती सबै पुराना यादहरु मनमस्तिस्कमा खेल्न थाले।

हाम्रो भेट कलेजमा भएको थियो। हामी धेरै मिल्थ्यौँ र साथीसंगिनी धेरैले जिस्काउथे पनि। हामी घुम्न जान्थ्यौँ, दुखसुखका कुरा गर्थ्यौं। कहिलेकाहीँ त गफ गर्दै जाँदा बिहेसम्म पुग्थ्यौँ।

ऊ पर्यो विराटनगरको उपाध्य बाहुन अनि म परे लमजुङको गुरुङको छोरी र मेरी आमा क्षेत्रीनी। उस्ले मलाई भन्ने गर्थ्यो ‘इन्टरकास्ट भएकोले होला, तिमी धेरै राम्री भएको अनि गुरुङ जस्तो पनि नदेखिने।’

भविष्यको बारेमा कस्लाई थाहा छ र! आज जे छ, त्यसमा रमाउन पर्छ भन्थ्यो अनि म पनि सहमति जनाउथेँ। उसले यस्तो कुरा गर्थ्यो कि लाग्थ्यो मलाई धेरै माया गर्छ र म बिना बाच्न सक्दैन।

म २४ वर्षको हुँदा बुबाले बिहेको प्रस्ताव राख्नु भएको थियो र यो कुरा उसलाई भन्दा राम्रो जागिर पाएको छैन भन्थ्यो। म २५ वर्षको हुँदा पनि यस्तै कुरा चल्थ्यो अनि म आमाबाबालाई भन्थेँ ‘मलाई यस्तो कुरा नगर्नु, मलाई अझै कमाउन छ।’

हाम्रो भेट त कम भएकै थियो, बोल्ने समय पनि कम भएको थियो तर माया उस्तै थियो। उमेर पुगेकोले होला, उसको घरमा पनि बिहेको कुरा चल्दैछ भनेर सुनायो अनि केहीबेरसम्म कुरा गर्यौं।

मैले पनि भोलि आमाबाबुसँग कुरा गर्छु भनेर सोचेँ र मनमा खुसीको कुनै सीमा रहेन।

भोलिपल्ट मैले बा-आमालाई सँगै राखेँ र सबै भनेँ, आमाले मेरो खुसी देखेर सहमति जनाउनु भयो तर बाबाले भने तिमीले दु:ख पाउछौ छोरी भनेर जानुभयो। आमाले ‘म बाबालाई सम्झाउछु’ भन्नुभयो।

हुन पनि त म बा-आमाको एक्लो छोरी थिएँ, सुखमा हुर्केको, मेरो समाज र उसको समाज बेग्लाबेग्लै थियो। भोलिपल्ट बाबाले पनि ‘हुन्छ’ भन्नुभयो। समाजसेविका भएकोले म एउटा विकट गाउँमा जान पर्ने भयो। सायद उसले बा-आमालाई मनाउँदै होला भनेर मैले नि कल गरिनँ।

म गाउँमा पुगेँ र काममा व्यस्त भएँ। नेटवर्कको कमिले होला उसको फोन नआएको तर हामीले सम्झौता पनि त गरेका थियौँ- घरमा मान्नु भयो भने कल गर्ने र भएन भने फेसबुकमा म्यासेज छोड्ने।

मेरो घरमा मान्नु हुन्छ भनेर उसलाई मैले पहिलै भनिसकेको थिएँ। त्यहीँ भएर म उसको कलको पर्खाइमा बसेको थिएँ। उसले भन्ने गर्थ्यो कि, विवाह त आमाबुवाको सहमति बिना त गर्ने होइन। आखिरमा आमाबाबुले पनि त हाम्रो खुसी चाहनु हुन्छ नि! अनि म पनि उसको कुरामा सहमति जनाउथेँ।

दुई दिन त्यही बसेँ र अर्जेन्ट काम पर्यो भनेर घरमा फर्कें। न त फोन न मेसेज नै थियो। फेस्बुकमा ‘हेलो’ भनेँ र केहीबेरमा देखेँ- ‘मैले धेरै प्रयास गरेँ तर घरमा मान्नु भएन। बा-आमाले आफ्नो कुलबाहेक अरुसँग बिहे गर्ने सहमति जनाउनु भएन।’

अनि बिहेको कार्ड’ सहित अर्को मेसेज पनि देखेँ- ‘मेरो जन्तीमा आऊ ल, नाच्नु पर्छ।’

एकअर्काको बिहेमा बोलाउने र नाच्ने जस्ता ख्यालठट्टा त हामीले पहिले नै गर्ने गर्थ्यौँ। तर वास्तविकमा यस्तो पनि हुँदो रहेछ। उसको बिहे पनि भयो र ऊ खुसी पनि देखिन्थ्यो। त्यो ऊ नै थियो जसले मलाई भन्ने गर्थ्यो ‘तिमी त सोजी छौ, घर सम्हालेर बस्ने खालको, तिमीसँग त को बिहे गर्न चहादैन र!’

के उसको कुरा सत्य रहेछ त? उसले पढेको र मैले पढेको विषय त एउटै थियो तर उसले पढेको पढाइमै सीमित रह्यो। वास्तविकमा त फरक पर्न गएछ। म समाजसेविका भएकोले होला, जुन गाउँठाउँमा रहेपनि सबैलाई उतिकै माया, सम्मान र इज्जत दिएँ र सबै जातधर्म एकै हुन्, मानवता सबैभन्दा ठूलो धर्म हो भनी सिकाएँ।

तर जति भने पनि समाजको सोचाइलाई परिवर्तन गर्न नसकिदो रहेछ। जातधर्मकै कुरा गर्दा सम्झेँ- म बाहुन-क्षत्री साथीहरूसँग हिड्दा एक समय हामीबीच जात विषयमा कुरा चल्दै थियो र एउटा साथीले जिवेश गुरुङसँग त तिमीले मात्र बिहे गर्न मिल्छ, हामीले मिल्दैन भनेको थियो। सायद ठट्टा!

त्यो समयमै लागेको थियो मलाई सायद हाम्रो घरमा जातधर्मको विषयमा चर्चा हुने नभएकोले होला, त्यस्तो सोच नआएको। के जातधर्म इश्वरले बनाएका हुन्? के मायाभन्दा जात ठूलो हुन्छ? मानवतालाई पछि पार्ने के धर्म हो? के जात नमिल्दा प्रेम एकसँग बिहे अर्कोसँग गर्न ठिक हो? के जातधर्म हेरेर माया गर्नपर्छ?

यस्ता अनेकौं प्रश्न मेरो मनमस्तिस्कमा खेलिरहन्थे/बल्झिरहन्थे, तर ती सबै प्रश्नको उत्तर हाम्रो समाजले खै कहिले दिने हुन्! यदि मानिसले नभइ इश्वरले नै बनाका भए विभाजन झन् बढी नै हुने थियो सायद! आखिर काम अनुसार त जात विभाजन गरिएको हो नि!

यदि विभाजन नगरी दिएको भए सायद आज हामी एक हुने थियौँ। हाम्रो कुरा पनि हुन छोड्यो, हुन पनि त बिहे भइसकेको त्यो व्यक्ति जसलाई मैले माया गर्थें, ऊसँग फेरि बोल्न मेरो आत्माले दिदैन अनि ऊ पनि त बोलोस् कसरी?

तर के प्रेमलाई बिर्सेर अघि बढ्न सजिलो छ? के ती बितेका समयको सम्झना आउदा गहभरि आँसु हुँदैन? बा-आमाले जब पनि बिहेको कुरा गर्नु हुन्थ्यो, मलाई उसको सम्झना आउथ्यो। एकदिन फेस्बुकमा फोटो सहित पोस्ट देखेँ ‘फस्ट म्यारिज एनिभर्सरी एन्ड बेबि सावर।’

ऊ जीवनमा अघि बढिसकेको रहेछ तर म भने उस्तै। बिर्सेर अघि बढ्न सजिलो हुँदो त रहेछ नि, होइन र! केही दिनपछि मैले पनि बिहे गर्ने निर्णय गरेँ। म बिहे गर्छु भनेर बा-आमालाई भनेँ र त्यो दिन बा-आमा निकै खुसी हुनु भएको थियो।

र आजको दिन छ भाग्यले फेरि भेट गरायो, फेरि सम्झन बाध्य बनायो। आज भने हामी आ-आफ्नो जीवनमा सुखी नै छौँ। अहिले लाग्छ मलाई, कतै न कतै उसले भन्दा अलि बेसि मैले माया गरेको रहेछु।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!