Wednesday, September 21

‘कोरोना खोप लगाउन सुरूमा डराएँ, लगाएपछि ढुक्क भयो’

मिरा खतिवडा,काठमाण्डाै। सप्तरी कठोना बजारमा जन्मिएकी सुनिता भगत न्यूयोर्क, क्वीन्स सहर बस्न थालेको पाँच वर्ष भयो। उनका एक छोरा, एक छोरी र श्रीमान नेपालमै छन्। ३६ वर्षीया भगत नर्स हुन्। साढे तीन वर्षदेखि न्यूर्योकको म्यानह्याटन सहरस्थित हार्लेम अस्पालमा काम गर्दैछिन्।

कोरोना संक्रमण फैलिएसँगै संक्रमितको हेरचाहमा उनको सक्रियता सुरूदेखि नै थियो। भगत अहिले पनि सातामा चार दिन दैनिक १२ घन्टा संक्रमितको सेवामा तल्लीन हुन्छिन्। हरेक दिन ५ देखि ७ जना संक्रमितको हेरचाह गर्नुपर्छ।

अमेरिका कोरोनाको भूमरीमा सबभन्दा धेरै चपेटिएको देश हो। यस्तोमा त्यहाँ विशेषगरी अस्पतालमा काम गर्नेहरू धेरै आत्तिएका थिए।

तर अमेरिकाजस्तो देश भएकैले सुखद मानौं, त्यहाँ कोरोना खोप स्वीकृत भएर लगाउन सुरू भइसकेको छ। अग्रपंक्तिमा खटिने भगतले दस दिनअगाडि खोप लगाइन्। यस्तो समयमा खोप लगाउन पाउँदाको उनको अनुभव कस्तो रह्यो?

सोही विषयमा उनीसँग सेतोपाटीका मिरा खतिवडाले इन्टरनेटमार्फत गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः

खोप लगाउन पाइने भन्ने भएपछि कस्तो महसुस भयो?

एकदमै उत्साहित भएँ। कोरोनाकै कारण कति मानिसको मृत्यु भयो। कति स्वास्थ्यकर्मीले ज्यान गुमाए। यस्तो बेलामा आफूले खोप लाउन पाउने भनेपछि अब जोखिम हुँदैन भन्ने लाग्यो।

तर खोप लगाउनुअघि थोरै डराएकी थिएँ। हामीले लगाएका खोपका साइड इफेक्ट पनि छन्। एक जना नर्सको खोप लगाएको दुई दिनपछि मृत्यु नै भयो। केहीमा अन्य समस्या देखा परेका कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको थियो। त्यसैले सुरूमा अलिअलि डराएँ। तर, कोरोनाका अगाडि खोपकै फाइदा बढी छ भनेर मन बुझाएँ।

खोप लगाइसकेपछि कस्तो अनुभूति भयो?

खोप लगाइसकेपछि एक किसिमको सुरक्षा महसुस भयो। तर खोपले कहिल्यै पूर्ण सुरक्षित गराउँदैन। लाग्दै लाग्दैन भन्ने ग्यारेन्टी कुनै रोगको खोपले दिँदैन। जोखिम भने ९९ प्रतिशत कम हुन्छ। खोप लगाइसकेपछि एक किसिमको ढुक्क त हुन्छ नै।

खोप लगाउनेमा अरू नेपाली पनि हुनुहुन्थ्यो?

यो अस्पतालमा काम धेरै नेपाली काम गर्छन्। अस्पतालमा काम गरिरहेका नेपाली, भारतीय, दक्षिण भारतीय लगायत सबैजसोले यो सेवा पाए।

करिब कति नेपाली हुनुहुन्थ्यो खोप लगाउने?

अस्पताल निकै ठूलो छ। यहाँ दस हजार बढी काम गर्छन्। कति नेपालीले लगाए, तथ्यांक थाहा छैन।

तपाईं अग्रपंक्तिमा खटिने भएर प्राथमिकता पाउनुभएको हो?

यहाँको नीतिले ‘हेल्थ केयर प्रोभाइडर’ लाई पहिलो प्राथमिकतामा राखेको छ। यस कारण पहिला लगाउन पाएका हौं। हेल्थ केयर प्रोभाइडरमा होम हेल्थ केयर, ल्याबमा काम गर्ने, नर्स, डाक्टरसँगै अस्पतालमा सफाइ गर्नेहरू पर्छन्। हाल सर्वसाधारण खोपको पहुँचमा छैनन्। उनीहरूमा पनि चाँडै पुग्ने बताइएको छ।

कुन खोप लगाउनुभयो? कोरोना खोप कसरी लाउने होला भन्ने अधिकांशलाई लागेको छ। कसरी रहेछ? 

मैले लगाएको खोप फाइजर हो। यसको दुइटा डोज हुँदो रहेछ। एउटा खोप लगाएको तीन हप्तापछि अर्को लगाउनुपर्छ। अनि मात्र यसको पूरा काम हुन्छ।

खोप लगाएपछि सावधानी अपनाउनु पर्ने कुरा खासै केही छैन। ज्वरो आएजस्तो लाग्यो भने चिकित्सकसँग परामर्श लिने र सिटामोल खाने।

लगाइसकेपछि कस्तो प्रभाव देखापर्दो रहेछ?

मेरो अनुभवमा धेरै समस्या देखिएन। दुई दिनसम्म अरू खोपजस्तै लगाएको ठाउँमा अलिकति दुख्यो। हात यताउति चलाउँदा र ढाड पनि अलिअलि दुख्यो। अरू केही भएन।

खोप लगाउँदा त्यहाँका नागरिकलाई झैं आफूलाई पनि उत्तिकै प्राथमिकता दिइएको पाउनुभयो?

यहाँका नागरिकलाई झैं समान थियो। कुनै कमी महसुस भएन।

खोप स्वीकृत भएको कति दिनमा लगाउनुभयो?

स्वीकृत भएको एक हप्तामै पहुँचमा थियो। मैले अस्पतालले वितरण गर्न थालेको दोस्रो सातामा लगाएकी हुँ।

खोप लगाउनुअगाडि कसैको अनुभव सुन्नुभएको थियो कि थिएन?

मैले आफूसँग काम गर्ने साथीहरूको अनुभव सुनेकी थिएँ। उनीहरूले डराउन पर्दैन भन्दै नआत्तिन सुझाए। यस कारण अझ सहज महसुस गरेँ।

तपाईंको परिवार नेपालमै हुनुहुन्छ, उहाँहरूलाई यस्तो बेलामा कसरी सम्झिनुभयो? 

मैले सकारात्मक सोचेँ। ढिलोचाँडो नेपालमा पनि खोप पुग्नेछ। मेरो परिवारसहित सबै नेपालीले खोप लगाउन पाउनु हुन्छ भन्ने विश्वास छ। यहाँ हामी स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले लगाइसक्यौं, चाँडै सर्वसाधारणले पनि सहजै लगाउन पाऊन्।

नेपालमा खोप सहजै लगाउन पाउने कहिले हो, यकिन छैन। नेपालीहरूलाई कस्तो सुझाव दिनु हुन्छ?

खोप अवश्य आउँछ। नेपालमा पनि सन् २०२१ भित्रै आउँछ भन्ने लाग्छ मलाई। त्यसअघिसम्म सुरक्षा मापदण्ड अपनाएर बस्नुहोस् भन्न चाहन्छु। मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, संक्रमितहरू अन्य व्यक्तिसँग सम्पर्कमा नआउने। अग्रपंक्तिमा काम गरे पनि सुरक्षा मापदण्ड अपनाएकाले मलाई कोरोनाले छुन पाएन।

खोप आएपछि नडराइ लगाउनुहोस्। कसैलाई मुटु रोग, मधुमेह, रक्तचाप, एलर्जीहरू, क्यान्सर लगायत कुनै पनि दीर्घरोग छ भने चिकित्सकसँग बुझेर मात्रै लगाउनुहोस्। मिडियामा आएका होहल्लाको पछि नलाग्नुस्। सामान्य दुख्छ, त्यो दुखाइले दैनिक काममा कुनै असर गर्दैन।@Setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!