Sunday, October 2

भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् ।

भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।

भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।

प्रचण्डको आलोचना

यस अगाडि देशको आन्तरिक मामिलाका सम्बन्धमा नेताहरुले भारतीय सन्चारमाध्यमसँग बोल्ने गरेको भन्दै त्यसमा आपत्ती जनाउने गरेका प्रधानमन्त्री ओलीले भारतीय मिडियासँग भने आफ्नै पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी गरेका छन् ।

अन्तरवार्ताको क्रममा प्रधानमन्त्री ओलीले देशको आन्तरिक राजनीतिको बारेमा पनि टिप्पणी गरेका छन् । अन्तर्वार्तामा उनले पुष्पकमल दाहालप्रचण्डलाई उनले अस्थीर चरित्र भएको नेता भनेका छन् । प्रचण्डसँगको तपाईंको सम्बन्ध कस्तो छ भनि सोधिएको प्रश्नमा ओलीले भनेका छन्, ‘धेरै राम्रो प्रश्न गर्नु भएको छ । तपाईंले पुष्पकमल दाहाललाई चिन्नु हुन्छ, उनको पृष्ठभूमि, उनको इतिहास तपाईंलाई थाहा छ । उनका गतिविधिहरु वास्तवमा नै प्रजातान्त्रिक छैनन् ।

उनलाई यो सबै थाहा पाएर पनि किन दुईपटक प्रचण्डसँग मिलेर सरकार बनाउनु भयो भनि प्रश्न सोधिन्छ । त्यसको उत्तरमा ओलीले भनेका छन्, ‘मैले उनलाई कहाँबाट ल्याएँ, मैले उनीसँग संविधान बनाउन सहकार्य गरेँ, उनको चरित्र अस्थीर छ । उनको चरित्रको बारेमा पनि धेरै होसियार थिएँ । अस्थीरता उनको चरित्रको नतिजा हुनसक्छ ।

उनले प्रचण्ड र माधव कुमार नेपालका पछिल्ला गतिविधिहरुले अचम्मित भएको समेत बताएका छन् । उनले अगाडि भनेका छन्,‘ उहाँहरुको पार्टीमा पोजिसन यथावत रहेको छ । अहिले पनि मेरा दोस्रो अध्यक्ष पुष्पकमल दाहाल नै हुन्, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल नै हुन् ।उनले प्रचण्ड र नेपाल पार्टीमा आए क्षमा दिएर स्वीकार समेत बताएका छन् ।

नेकपा मिलाउनको लागि चीन सक्रिय भएको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी हाम्रो स्वायत्तता, स्वतन्त्रतालाई प्रेम गर्छौं र हामी कोहीबाट पनि निर्देशन हुन चाहँदैनौ । हामी अरुको निर्देशन मान्दैनौ ।

उनले देशको आन्तरिक मामिलामा कुनै वाह्य हस्तक्षेप आफूहरुले नचाहेको समेत बताए । भारत र चीनको कार्ड नखेल्ने बताउँदै उनले आवश्यक परे भारत र चीनको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताए । @Onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!