Wednesday, September 21

हिज मैले छोएको पानी नखाने मान्छेले भोली मैले दिएको औषधि खालान त ? डा. राम जी को कथा

रौतहट, इनरुवाका भोला राम गाउँघरमा मरेका जनावरको सिनो फाल्ने काम गर्छन्। बाउबाजेदेखि गर्दै आएको यो कामले गाउँ सफा हुन्छ र स्याबासी पाइन्छ भन्ने उनलाई लाग्थ्यो। उल्टो मानिसहरू उनलाई ‘तल्लो जातको’ भनेर गिज्याउँथे। उनको मन बिझाउँथ्यो।

उनलाई सडेका सिनो छुँदा त्यति घिन लागेन, जति मान्छेको व्यवहारले लाग्यो। उनी त्यसलाई न पचाउन सक्थे न प्रतिरोध गर्न।

उनलाई यत्ति लाग्थ्यो, आफूले भोगेको विभेद छोरालाई नपरोस्।

यसका लागि घरको आर्थिक स्थिति कमजोर भए पनि छोरालाई स्कुल पठाउने उनले हिम्मत कसे।

उनले छोरा रामजी रामलाई नजिकैको प्राथमिक विद्यालयमा भर्ना गरिदिए। त्यसअघि घरमै छोराको कखरा उतारेका थिए। अरू पनि सिकाउन चाहन्थे, तर उनले जानेकै त्यत्ति थियो।

दुई कक्षा पुगेपछि रामजी प्रथम भए। त्यसबापत् उनले पुरस्कार पाएनन्, बरू पिटाइ खानुपर्‍यो।

गत सोमबार काठमाडौं टेकुस्थित वंशिघाट सुकुम्बासी बस्तीमा भेटिएका रामजीले भने, ‘तल्लो जातको मान्छे किन फस्ट भयो भनेर माथिल्लो जातकाहरूले पिटे। मेरो हात नै काटियो।’

त्यसपछि स्कुलमा दलित र गैरदलितको ट्युसन छुट्टै हुन थाल्यो। पाँच कक्षासम्म रामजी प्रथम भइरहे। छ कक्षादेखि भने आधा घन्टा हिँडेर अर्को स्कुल जानुपर्ने भयो।

स्कुल जान रामजीसँग चप्पल थिएन। पाइन्ट पनि घुँडामा प्वाल परेको थियो। उनी त्यही पाइन्ट तलबाट सुर्काउँदै तिघ्रासम्म पुर्‍याउँथे। यति गरेपछि घुँडाको प्वाल छोपिन्थ्यो।

एसएलसी नजिकिँदै थियो। सरकारी स्कुलबाट निकै कम विद्यार्थी पास हुन्थे। आफू पनि फेल हुन्छु कि भन्ने रामजीलाई थोरै डर थियो। तर उनी ६७ प्रतिशत ल्याएर एसएलसी पास भए।

घरमा खुसियाली छायो। बुवाको छाती चौडा भयो।

एसएलसीपछि साथीहरू कोही जनकपुर, कोही हेटौंडा, कोही काठमाडौं त कोही पोखरा जाँदै थिए। रामजीलाई पनि बाहिर गएर विज्ञान पढ्ने इच्छा थियो। घरको आर्थिक स्थिति उनले बुझेका थिए। तै पनि बुवासँग एकपटक कुरा गर्न मन थियो, तर आँट गर्न सकेका थिएनन्।

एकदिन बुवा खेतमा काम गर्दै थिए। रामजी छेउमा रहेको कोदाली समातेर बुवालाई सघाउन थाले र यही मौकामा भने, ‘बुवा सबै साथीहरू बाहिर पढ्न जाँदैछन्, म पनि जान्छु नि।’

बुवाको जवाफ थियो, ‘हेर साइन्स पढ्न किन बाहिर जानुपर्‍यो? यहीँ गरुँडामा पढ्दा भइहाल्छ नि। काठमाडौंमा पढ्नेले पनि उही किताब पढ्ने त हो!’

बुवाको कुरा उनले नकार्न सकेनन्।

गरुँडामै पढ्ने त भने, तर कोठा पाउन मुश्किल पर्‍यो। चमार भन्ने जानेपछि कोही पनि कोठा दिन तयार नहुने!

‘मैले आफ्नो जात नै ढाँट्न थालेँ। म आफूलाई यादव हुँ भन्थेँ। हाम्रोतिर यादवलाई धेरै मान्यता दिन्छ,’ रामजीले भने, ‘कसरी कसरी थाहा पाइहाल्थे, त्यसपछि फेरि अर्को कोठा खोज्नुपर्थ्यो।’

क्याम्पस पढ्दा पनि पाइला पाइलामा विभेद भोगेको अनुभव उनी सुनाउँछन्। एकदिन गाउँका पण्डित बाजे अरूको हातमा धागो बाँध्दै थिए। रामजीलाई पनि बाँध्न मन लाग्यो। उनले आफ्नो नाडी पण्डितसामु तेर्स्याएका मात्र के थिए, पण्डितले उनलाई धपाइदिए।

‘त्यसपछि मैले मन्दिर र मेलामा जानै छाडिदिएँ,’ उनले भने, ‘मलाई मेला नगएको देखेर साथीहरू यसको बुवाले पैसा दिँदैन कि क्या हो भनेर गिज्याउँथे। म त्यो सहेर बस्थेँ।’

गाउँमा उनीहरूलाई ‘चमार नहोइ हमार’ भनेर गाली गरिन्थ्यो। यी सब सुन्दा उनी मन दह्रो पारेर अठोट लिन्थे, ‘एकदिन म पनि केही गरेर देखाउँछु।’

यसबीच उनले एउटा घरमा बल्लतल्ल बस्ने बन्दोबस्त मिलाए। दलित समुदायको भएकाले कलेजबाट ५० प्रतिशत छुट पाए। बाँकी शुल्क ‘आइएलओ’ संस्थाले तिरिदियो।

बाह्र कक्षा पुगेपछि उनी एक जना साथीसँग चिनी मिलमा बस्न गए। मिलमा बस्दा पैसा लाग्दैनथ्यो। डेढ महिना बसेपछि त्यो क्वार्टर जसको थियो, ती व्यक्तिले उनी चमार भएको थाहा पाए। उनले रामजीलाई मुखेञ्जी त केही भनेनन्, तर भोलिपल्ट उनको साथीलाई बेस्मारी हप्काएछन्।

यो कुरा रामजीलाई थाहा भयो। उनी साथीले केही भन्नुअघि नै झिटीगुन्टा बोकेर मिलबाट निस्किए।

उनी कलेजका अध्यापक प्रकाशचन्द्र झाकहाँ पुगे। आफ्नो समस्या विस्तार लगाए। झाले कलेजकै होस्टलमा बस्ने वातावरण बनाइदिए।

रामजीलाई ठूलो राहत भयो। उनले त्यहीँ बसेर १२ कक्षा पास गरे।

उच्च माध्यमिक तह पार गरेपछि फेरि उनलाई के पढ्ने भनेर समस्या आइलाग्यो। जुन विषय पढ्न पनि धेरै खर्च लाग्थ्यो।

‘एमबिबिएस नै ४० लाख बढी लाग्छ भन्यो। इन्जिनियरिङ चाहिँ छात्रवृत्तिमा पढ्न पाइन्छ भन्ने सुनेको थिएँ। त्यसैले पढ्ने मौका पाए इन्जिनियरिङमा प्रयास गर्छु भन्ने थियो,’ उनले भने।

यसबीच उनलाई भिनाजुले काठमाडौं जाने प्रस्ताव गरे। भिनाजु बनेपामा प्रेसर कुकर बनाउने काम गर्थे। त्यो बेला रामजीको घरमा आर्थिक समस्या बढेको थियो। भिनाजुले सँगै काम गरौंला भनेपछि उनी काठमाडौं आए।

‘काठमाडौं आउँदा बसको सिट खाली थिएन। हामी प्यासेजमै सुतेर आयौं। कसको खुट्टा कसको मुखमा पर्‍यो, मेरो टाउकोमा कतिका खुट्टा परे, थाहा छैन,’  रामजीले हाँस्दै भने।

कलंकी ओर्लिएपछि उनीहरू रत्नपार्क जाने गाडी चढे। त्यसपछि कहाँ जाने टुंगो भएन। दुई-चारपटक रत्नपार्क फन्को मारे। उनले गाउँका जोगीहरू टेकुको सुकुम्बासी बस्तीमा बस्छन् भन्ने सुनेका थिए। तिनैलाई फोन गरे।

टेकुमा गाउँले जोगीहरूसँग भेट भयो। एकछिन गफगाफपछि जोगीहरू माग्न निस्किए। रामजी पनि भिनाजुसँग सहरका सडक नाप्दै कुकर बनाउने काममा लागे।

‘पहिलो दिन कुकर बनाउन हामी कोटेश्वरसम्म पुग्यौं। त्यहाँ पुगेपछि म त खाली एयरपोर्ट नै हेर्थेँ। त्योभन्दा पहिले देखेकै थिइनँ,’ उनले सम्झिए।

रामजीको पढ्ने सपना प्रेसर कुकरको सिठीझैं फुस्कँदै गइरहेको थियो।

त्यसमाथि काठमाडौंमा पनि विभेद खेप्नुपर्दा उनी झन् खिन्न भए। उनलाई लागेको थियो, सहर पसेपछि विभेदबाट मुक्ति पाइन्छ। तर यहाँका गल्ली गल्लीमा विभेदसँग ठोक्किनुपरेको उनी सम्झन्छन्।

‘कुकर बनाउन जाँदा कतिले भैया भन्थे, कोही धोती, मधेसी भनेर जिस्काउँथे,’ उनले भने, ‘एक जनासँग त जुधाजुध नै पर्‍यो। मैले हामी त नेपाली हो नि भनेर नागरिकता नै देखाएँ।’

उनले अगाडि भने, ‘विभेदको पनि तह हुँदो रहेछ। यहाँका मान्छेलाई हामी दलित हो/होइन थाहा छैन, तर मधेसी हो भन्ने थाहा छ। उनीहरू त्यही भनेर हेप्छन्। फेरि त्यही मधेसीले हामीलाई उता दलित भनेर हेप्छन्।’

काठमाडौं गल्ली चहार्ने क्रममा एकदिन उही चन्द्रप्रकाश झा सरको फोन आयो। उनले भने, ‘रामजी, तिमी काठमाडौंमै बसेर पढ्ने हो भने एक जना सरले सहयोग गर्नुहुन्छ।’

रामजीलाई के चाहियो! उनले तुरुन्तै चन्द्रप्रकाश सरले भनेको व्यक्तिलाई फोन गरे। ती व्यक्तिले पुतलीसडक डाके। रामजी भिनाजुलाई छाडेर बाटैबाट पुतलीसडकतिर लागे।

तिनै व्यक्तिको सल्लाहमा रामजी एमबिबिएस तयारी कक्षामा भर्ना भए।

उता गाउँका जुन जोगीहरूसँग उनी बसेका थिए, त्यो ठाउँ साँघुरो भयो। उनले छुट्टै बस्न कोठा खोज्न थाले। सुकुम्बासी बस्तीमै एउटा कोठा पाइयो। घरबेटीले भने, ‘यो त बाख्रा राख्नुपर्ने घर हो, यस्तो ठाउँ बस्न गाह्रो होला!’

रामजीले जवाफ दिए, ‘म बाख्रा बस्ने घरमै बसेर आएको हुँ। मलाई केही गाह्रो हुँदैन।’

उनी एमबिबिएस पढ्ने तयारीमा लागेको कुरा गाउँमा पनि पुग्यो। उनका बुवाले छरछिमेकलाई आफ्नो छोरा डाक्टरी पढ्ने तयारी गर्दैछ भनेर सुनाए। बुवाले सोचेका थिए, सबैले स्याबासी देलान्, ठूलो छाती बनाउन पाइएला! तर यसपालि पनि सबैले खिसी गरे, ‘तेरो छोरा पनि एमबिबिएस पढ्न सक्छ र! कस्ता धनीहरूका छोराले त पढ्न सकेको छैन!’

यस्तो सुन्दा बुवा खिन्न मान्थे।

त्यही बेला कस्तो विडम्बना पर्‍यो भने, रामजी जुन इन्स्टिच्युट भर्ना भएका थिए, त्यो बन्द भयो। त्यसपछि कहाँ पढ्ने, के गर्ने उनले मेलोमेसो पाएनन्।

उनी भद्रकाली मन्दिरअगाडि पुगे। त्यहाँ टोलाएर बस्दा आफ्नोअगाडि अग्लो सेतो ‘नेम’ को भवन देखे। मनमनै सोचे- यत्रो ठूलो संस्था छ। त्यहाँको सरलाई आफ्नो कुरा भन्छु। मान्छेले भिख त दिन्छ, यसरी भन्दा कसो पढ्न नदेला!

उनले रिसेप्सनमा बसेका व्यक्तिलाई आफ्नो कुरा सुनाए। उनले भने, ‘तिमी पहिले पढ्न जाऊ। अरू कुरा पछि गरौंला।’

रामजी सातौं तलामा गएर कक्षा लिन थाले।

पन्ध्र दिन कक्षा लिएपछि एकदिन कार्ड जाँच भयो। उनीसँग कार्ड थिएन। उनी निर्देशककहाँ गए र आफ्नो समस्या विस्तार लगाए। निर्देशकले उनलाई ‘दुई हजार तिर्न सक्छौ’ भनेर सोधे। उनीसँग साथमा पाँच सय थियो। तै पनि सक्छु भने।

उनको पढाइ फेरि सुरू भयो।

अर्को वर्ष उनले ‘ब्याच्लर इन डेन्टल साइन्स’ (बिडिएस) मा नाम निकाले। एमबिबिएसको चाहिँ वैकल्पिक सूचीमा परे।

उनले प्रकाशचन्द्र सरलाई फोन गरेर सल्लाह मागे।

प्रकाशचन्द्रले भने, ‘बिडिएस तिम्रो लागि अवसर हो, एमबिबिएस चुनौती।’

यति सुनेपछि उनको मनोबल बढ्यो। उनले अर्को वर्ष फेरि प्रयास गर्छु भनेर बिडिएस छाडे।

त्यसपछि उनी झन् कडा मिहिनेत गर्न थाले। बिहान ५ बजे रोटी बोकेर नेम पुग्थे। नेममा मःम र चाउमिनको अचार सित्तै पाइन्थ्यो। उनी अचार लिएर माथि जान्थे र एक्लै खान्थे। दिनभरि पढेर राति ७ बजे फर्कन्थे। आफ्नो खर्च प्रबन्ध गर्न उनले केटाकेटीलाई ट्युसन पढाउन थालेका थिए।

यसैबीच २०७२ को भुइँचालो गयो। रामजीलाई आमाबाले तारन्तार फोन गरेर घर आउन भने। रामजीले बरू हेटौंडा गएर बस्छु भनेर आमाबालाई सम्झाए।

उनी हेटौंडा सरे र त्यहीँ बसेर एमबिबिएसको तयारी गर्न थाले।

प्रवेश परीक्षाको मिति नजिकियो। रामजीसँग फारम भर्ने पैसा पनि थिएन। काठमाडौं आइपुग्दा जम्मा पाँच रुपैयाँ बचेको उनी सम्झन्छन्।

उनी सिधै नेममा गए। त्यहाँ चिनेको दाइसँग सहयोग मागे। ती दाइले एक हजार थमाए। पुस्तकालयमा किताब फर्काएर एक हजार लिए। नेमको निर्देशकले पनि उनलाई एक हजार सहयोग गरे।

यसरी तीन हजार रूपैयाँ जुटाएपछि उनले प्रवेश परीक्षाको फारम भरे।

यसपालि पनि उनको नाम वैकल्पिकमै निस्कियो।

त्यही बेला सरकारले डोम, वादी, मुसहर र चमार गरी चारवटा जातिलाई पैसा तिरेर पढाउने कार्यविधि बनाएको थियो। यसबाट रामजीलाई ठूलो राहत भयो।

यसका लागि अर्को फारम भर्न भक्तपुर जानुपर्ने भयो। उनीसँग भक्तपुर जाने भाडा पनि थिएन। आफूले चिनेको मोहम्मद दाइको इलेक्ट्रोनिक पसलबाट सय रुपैयाँ लिएर उनले अन्तिम समयमा फारम भरे।

अन्ततः किस्ट मेडिकल कलेजमा मेरिटमै उनको नाम निस्कियो।

उनी भर्ना हुन किस्ट मेडिकल कलेज गए।

त्यहाँ पहिलो दिन भोग्नुपरेको अनुभव सुनाउँदै उनले भने, ‘गेटभित्र छिर्न लागेको थिएँ, पाले दाइले रोक्नुभयो। मैले एमबिबिएसमा नाम निस्किएकाले भर्ना हुन आएको बताएँ। तर उहाँले पत्याउनुभएन।’

‘झुत्रे लुगा लगाएको थिएँ। चप्पल पनि टुटेको थियो। पाले दाइले तिमी कहाँ एबिबिएस हुन्छ भनेर पत्याउनु नै भएन,’ रामजीले भने।

उनी त्यहाँबाट सिधै चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको कार्यालय गए। सिफारिसपत्र बोकेर फेरि भर्ना हुन कलेज गए।

कलेजले अन्य खर्चबापत् १५ लाख रूपैयाँ चाहिन्छ भन्यो। रामजीसँग त्यत्रो पैसा तिर्ने हैसियत थिएन। उनले एकपटक त आफ्नो समस्याबारे कलेजलाई जानकारी गराए, तर कलेजले कुनै वास्ता देखाएन।

‘म फेरि सरकारी निकाय धाउन थालेँ। शिक्षा मन्त्रालय, डिन कार्यालय, मेडिकल काउन्सिल, विश्वविद्यालय अनुदान आयोग सबैतिर धाएँ, तर केही पार लागेन,’ उनले भने, ‘कतैबाट नभएपछि म दलित आयोग गएँ। सीताराम परियार सरले म तिम्रो लागि लड्छु भन्नुभयो। तै पनि हुन सकेन।’

त्यसपछि आयोगकै एक व्यक्तिले सर्वोच्चमा रिट दायर गरेको उनले सुनाए। त्यतिञ्जेल पढाइ सुरू भएको तीन महिना भइसकेको थियो। रामजी भने अदालत धाइरहेका थिए।

अदालतले एउटा सिट थप गरेर भए पनि रामजीलाई भर्ना गर्नू भनेर अन्तरिम आदेश दियो। वीरगन्जको नेसनल मेडिकल कलेजमा एउटा सिट खाली थियो। उनी त्यहीँ भर्ना भए।

‘एक वर्ष पढ्नुपर्नेमा नौ महिना मात्र पढ्न पाएँ। पहिलो वर्षमै दुइटा विषयमा फेल भएँ। अर्कोचोटि भने राम्रो अंक ल्याएर पास गरेँ,’ रामजीले भने, ‘दोस्रो वर्ष भने एकैचोटिमा पास भएँ।’

सरकारको पूर्ण छात्रवृत्तिमा पढे पनि तेस्रो वर्ष पुगेपछि कलेजले होस्टल शुल्क माग्न थाल्यो। सरकारबाट उनले मासिक पाँच हजार पाउँथे। त्यो पनि छ-छ महिनामा। त्यति पैसाले कलेजको होस्टल शुल्क धान्दैनथ्यो। कलेजले पैसा नतिरे परीक्षामा सामेल नगराउने ताकेता गरिरह्यो। उनी फेरि सरकारी निकाय गुहार्न गए।

एउटा अनुगमन टोली गएपछि कलेजले उनलाई परीक्षामा सामेल गरायो।

चौथो वर्षमा कलेजले उही झमेला दिन थाल्यो। त्यस वर्ष पनि आफूले नियमित परीक्षा दिन नपाएको उनले सुनाए।

पछि होस्टल मेसको शुल्क चाहिँ तिर्नैपर्‍यो भन्ने सोचे। उनलाई पैसा कसरी जुटाउने थाहा थिएन। अन्ततः ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमा आफ्ना सबै समस्या उल्लेख गर्दै उनले सार्वजनिक रूपमै सहयोग मागे।

‘त्यहाँबाट उठेको सहयोगबाट ८ लाख कलेजलाई बुझाएँ। कलेजले भने अन्य शुल्क पनि लाग्छ भन्दै मलाई ७ लाख ५० हजार १ सय ३१ रुपैयाँको रसिद थमाइदियो,’ उनले भने।

कलेजले त्यसरी अवैध रूपमा अतिरिक्त शुल्क माग्दै उनलाई मंगलबारबाट हुने चौथो वर्षको बोर्ड परीक्षाको फारम भर्नबाट रोकेको छ। उनीसँगै उनकै समुदायका पंकजकुमार रामले पनि त्यस्तो अतिरिक्त शुल्क नतिरेका कारण फारम भर्न पाएका छैनन्।

सहयोगी हातहरूबाट प्राप्त केही रकम बाँकी भए पनि उनी साथीलाई एक्लो छाडेर अनि अवैध शुल्कविरुद्ध आफूजस्ता मेडिकल विद्यार्थीहरूले गरेको लामो संघर्षलाई घात हुने गरी थप रकम नदिने अडानमा छन्।

उनीहरूले यसअघि नै कलेजको दादागिरी र अवैध असुलीबारे गुनासो लिएर मन्त्रालयदेखि विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसम्मको ढोका घच्घच्याइसकेका छन्। तर राजनीतिक संरक्षण पाएको कलेजले कसैलाई टेरेको छैन।

रामका अनुसार पछिल्लो समय चिकित्सा शिक्षा आयोगले उनीहरूलाई परीक्षामा सामेल गराउन लगाउनू भनेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई चिठी लेखेको छ। आइओएम भने यस खालको अधिकार अब चिकित्सा शिक्षा आयोगमा गइसकेको भनेर पन्छिन खोजेको छ।

देशको चिकित्सा शिक्षा क्षेत्र नियमन गर्ने जिम्मा लिएका निकायहरूको यस्तो निरीहपनले रामको भविष्यलाई अनिश्चयतिर धकेलेको छ। मेडिकल शिक्षाभित्रको विकृति र माफियागिरीविरुद्ध लड्दा लड्दै उनले परीक्षाको तयारी गर्न छाडेका छैनन्।

विगतमा झैं फेरि पनि परीक्षाबाट वञ्चित गरिने भय र छट्पटीका कारण उनी बेचैन छन्। यो परीक्षा छुट्यो भने उनको एमबिबिएस पास गरेर सेवामा जुट्ने समय तालिका पछाडि धकेलिनेछ।

एमबिबिएस अन्तिम वर्ष आइपुग्दा रामजीलाई आफू डाक्टर भएको अनुभूति भने हुँदैछ। अहिले त गाउँमा बुवा भोला रामको पनि छुट्टै सान छ। रामजी भन्छन्, ‘मेरो पहिले पनि डाक्टर पढ्ने औकात थिएन, अहिले पनि छैन। सरकारले मेरो लागि यति लगानी गर्‍यो, तर सरकारले मबाट के पाउँछ? ममाथि पनि प्रश्न छ। अस्ति चार लाख सहयोग माग्दा मानिसहरूबाट १७ लाख पाएको छु। त्यो गुणलाई म आफ्नो सेवामार्फत् तिर्न चाहन्छु।’

गत सोमबार टेकुस्थित सुकुम्बासी बस्तीमा भेट्दा उनी आफूलाई काठमाडौंमा बास दिने जोगी बाबाहरूको ब्ल्डप्रेसर जाँच्दै थिए। ‘उहाँहरूको मुखमा जति खुसी आउँछ, त्यति नै मलाई पनि खुसी लाग्छ,’ उनले भने, ‘कलेजमा मात्र मैले १७ चोटि रगत दान गरेको छु।’

यहाँ पनि उनले नमिठो विभेद भोग्नुपरेको छ। एकपटक त उनले जसलाई रगत दिइरहेका थिए, उनैले जात सोधे।

रामजीले भने, ‘म चमार हुँ। मेरो रगत स्विकार्ने कि नस्विकार्ने तपाईंको हातको कुरा।’

अचेल एउटै प्रश्नले रामजीको मन खाइरहेछ, ‘आज मैले छोएको पानी नखाने मान्छेले भोलि मैले दिएको औषधि खाने हुन् कि नखाने हुन्! समाजले कर्मअनुसार जात तोकेको हो भने आज म डाक्टरी पढ्दैछु, भोलि मलाई डाक्टर भन्ने कि चमार भन्ने?’

रामजीलाई डाक्टर भएपछि कमाएर ठूलो घर बनाउँला, राम्रो ठाउँ घुमौंला भन्ने रहर छैन। त्यस्ता रहर त उनले सानैदेखि मारेर आएका थिए। कति रहर घरको आर्थिक स्थितिले मारिदियो, कति रहर समाजको विभेदले। यत्ति हो, अब उनलाई कमाएर बुवालाई जुत्ता किनिदिने मन छ।

‘अहिले पनि मेरो बुवा जुत्ता नलगाई मलाई भेट्न आउनुहुन्छ। घरको छाना एकतिर छ, अर्कोतिर छैन। पानी पर्‍यो भने मेरो आमाबुवा सुत्न सक्नुहुन्न,’ उनले भने, ‘भोलि यतिसम्म होस्, पानी पर्दा छानो नचुहियोस्! शितलहरले आमबुवाको हातखुट्टा नकठ्यांग्रियोस्! बुवाले जुत्ता लगाएर हिँड्न पाउनुहोस्! बुवाले लगाएको कुर्ता फेर्न सकूम्! आमाले लगाएको सारी फेर्न सकूम्! बहिनीले लगाएको कपडा फेर्न सकूम्!’

‘यस्तो दिन आओस्, म दुनियाँलाई देखाउन चाहन्छु, मेरो छुवाइले तपाईं अछुत हुनुहुन्न, तपाईंलाई निको पार्न सक्छ। मैले त्यो ज्ञान लिएको छु,’ यसो भन्दा उनका आँखाबाट आँशु टप्किरहेका थिए । @OnlineKhabar

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0
+1
14
+1
5
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!