Thursday, October 6

कथा – जनप्रतिनिधी

      प्रकाश घिमिरे     

 ( प्रशासन शाखा प्रमुख )

मुसिकोट नगरपालिका

नगरकार्यपालिकाको कार्यालय, वामीटक्सार,गुल्मी ।

™ टावरको अन्तिम खुड्किलो चढ्ने वित्तिकै आयाका सिराई निकै उत्साहित हुँदै भनिन् – वा सुगोई ? (आहा ! कस्तो राम्रो ?)अरेवा नान्नो हिमाल देसुका ? (ऊ त्यो कुन हिमाल हो ? ) हानाको टाचीकावाले सोधिन् । माछापुच्छ्रे । अनि त्यो अन्नपुर्ण, उता देखिने चाहीँ पाथीभरा । दोभाषेको रुपमा आफ्नो जन्मभूमी आएका राजु कार्कीले भने । अनि यो हामी रहेको स्थान चाहीँ ऐतिहासिक मुसिकोट दरबार क्षेत्र । नेपाल एकिकरण पूर्व यो राज्य निकै शक्तिशाली थियो रे । उनले दरबारको ऐतिहासिकता बारे थप बताउँदै भने ।

जापानीजहरु टावरबाट चारैतिर देखिने मनमोहक दृश्यसँग रमाउँदै घरी बाइनाकुलर घुमाउँदै छन् त घरी फोटो खिच्दै ।

वास्तवमा यो क्षेत्रबाट देखिने मनोरम दृश्यहरु निकै चित्ताकर्षक लाग्दछन् । उत्तरतिर देखिने सेता हिमालहरु, हिमालको काखैमा बसेका हरिया निला पहाडहरु , पहाड छिचोल्दै अगाडी बढेका नागबेली बाटाहरु असाध्यै सुन्दर देखिन्छन् । पहाडका फेदीमा एउटा पोख्त कलाकारले क्यानभासमा उतारेको सिर्जना झैं लाग्ने ती ऐतिहासिक सुन्दर बस्तीहरु , हरिया फाँटहरुसँग लुकामारी खेल्दै लामो गन्तव्यमा निस्केको यात्रीजस्तै अविराम अघि बढेका बढीघाट र निस्ती खोलाहरु । हिमालको अलौकिक छटासँग जिस्किए झै लाग्ने दरबार परिसरका सुन्तला बगैचाहरु, दरबार चारैतिर निर्माण गरिएका मन्दिरहरुबाट आएका मन्त्र ध्वनिहरुको सुमधुर गुन्जन , निकै सुन्दर ठाउँ छ  मुसिकोट दरबार क्षेत्र । चारैतिर अग्ला पर्खालले घेरिएको , ठाउँ ठाउँमा फूल बगैचाहरु, बाल उद्यान, प्रतिक्षालय , केही खाजा पसलहरु , हेलिप्याडसँगै जोडिएको पानीको फोहरा निकै रमाइलो लाग्दछ । र हामी पनि यो सुन्दर ठाउँमा घरी रोमाञ्चित  हुँदै त घरी नोस्टाल्जिक बन्दै विगत र वर्तमानहरु साटिरहेका छौँ । खासमा यहि सेरोफेरोमा हुर्किएर आ–आफ्नै उद्धेश्य पूरा गर्न  छुट्टिएका हामी लामो समय पश्चात यहि परिवेशमा ती अविष्मरणीय अतितलाई सम्झीरहेका छौँ । राजु कार्की जो जापानिज टोलीको दोभाषेको रुपमा जन्मभूमी फर्किएका छन्, हाल वैदेशिक रोजगारको सिलसिलामा जापानमा बस्छन् । हाम्रै गाउँबाट वैदेशिक रोजगारको लागी जापान गएका स्थानिय युवाहरुको प्रयासमा जापानको ‘युनोकी बारु’ गाउँ र हाम्रो गाउँ वीच मितेरी सम्बन्ध गाँसिएको छ । त्यहाँ र यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक जनजीवनको आदान प्रदान र भैपरी आउँदा विभिन्न सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमहरु पनि गरिन्छन् ।

आज यसै ऐतिहासिक मैदान बस्तीमा बस्ती विकास योजनाको अन्तिम वर्ष र जनप्रतिनिधिहरुको सफल कार्यकाल समाप्त हुन लागेको पूर्व सन्ध्यामा सम्मान, विदाई तथा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । यहि अवसरमा मितेरी गाउँ ‘युनोकी बारु’ बाट केही साथीहरु घुम्न आएका छन् ।

आयाका सिराई, हानाको टाचीकावा , कोहेइ टाकाहासी, मेगुमी सेइनो , सिगेकी ओकामोतो लगायतको जापानीज टोलीको नेतृत्व गरेर आएका हुन ‘परिवर्तनका लागी हाम्रो प्रयास’ जापानका सदस्य  राजु कार्की । आज साँझ हुने विशेष कार्यक्रममा मितेरी गाउँ ‘युनोकी बारु’का साथीहरुले पनि  सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दैछन् ।

केहि छिनको टावर बसाइपछि हामी ऐतिहासिक मैदान बस्तीमा प्रवेश गर्दछौ । कोन्नी चिवा गेङ्की देसुका ? (हेल्लो, नमस्ते सञ्चै हुनुहुन्छ ) हजुर, नमस्ते ।

चिटिक्क लहरै मिलेको रेखाकार बस्ती , सफा र फराकिलो बाटो , बाटो छेउछाउ लगाइएका धुपी र अशोकका बोटहरु ,घरघरमा देखिने आ–आफ्नै किसिमका फूल बगैचा, एउटै आकार र रङगहरुमा उस्तै देखिने ग्रामीण शैलीका घरहरु निकै सुन्दर बस्ती छ यो । आज विशेष कार्यक्रम भएकोले दायाँ बायाँ सिंगारिएका ध्वजा पताका , ठाउँ ठाउँमा बनाइएका प्रवेशद्धारहरु , विभिन्न पोशाकमा सजिएर यता उता गरिरहेका स्कुले बालबालिकाहरु, दुलही जस्तै सजीएको यो बस्ती वास्तवमै आज स्वर्गको एक टुक्रा जस्तै लाग्दछ । प्रकृति सन नो इए वा दोको देसुका ? (प्रकृति जीको घर कहाँ पर्दछ ? ) कोहेइ टाकाहासीको प्रश्न । ऊ त्यो रातो बुट्टे घर हो , तर उनी अहिले घरमा छैनन् । तेक्वान्दोको क्षेत्रीय प्रतियोगितामा भाग लिएर सायद आजै साँझ घर फर्कदैछन । जापानीज टोलीलाई खाजाको लागी अतिथि गृहमा छाडेर म चाहिँ सामुदायिक सुचना केन्द्र तिर लाग्दछु । जहाँ आजका विशेष विदेशी पाहुना प्रोफेसर डाक्टर चाम्स र ‘परिवर्तनका लागी हाम्रो प्रयास ’ दक्षिण कोरिया का संयोजक उत्तम जि.सी.ले पर्खि रहनु भएको छ । उता अतिथि गृहमा साँझ ४:३० बजे मितेरी गाउँ ‘युनोकी बारु ’ र हाम्रा स्कुले भाईबैनीहरु वीचको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुहुन्छ ।

प्रोफेसर डाक्टर चाम्स दक्षिण कोरियाको सियोल स्थित जुको युनिभर्सिटीका विकास सिद्धान्तका प्राध्यापक हुन । हिमालयको देश घुम्न र यस मैदान वस्तीले छोटो समयमा हासिल गरेको सफलताको ‘केस स्टडी’को लागी नेपाल आउनु भएको हो ।  जसको संयोजन  उत्तम जि.सी.ले गरिरहनु भएको छ ।

म सुचना केन्द्रमा पुग्दा कार्यक्रम संयोजक जीवन प्रवेशजीले प्रोफेसर डाक्टर चाम्सलाई सुचना केन्द्रको स्वागत कक्षमा राखिएका केहि तस्वीरहरु बारे जानकारी गराईरहनु भएको थियो ।

ऊ त्यो निलो जस्ता पाताले छाएको ठुलो भवन व्यावसायिक सिप विकास तालिम केन्द्रको हो । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको उक्त भवनमा कृषि , उद्योग, निर्माण तथा स्वरोजगार सम्बन्धी व्यवासायिक सीप विकास तालिम प्रदान गरिन्छ । यस केन्द्रबाट तालिम प्राप्त व्यक्ति तथा संस्थाले आफुले चाहेको पेशा व्यवसाय सञ्चालन गर्न सामुदायिक सहकारीबाट निकै सस्तो दरमा सहुलियतपुर्ण ऋण प्राप्त गर्दछन् ।  बस्तीका सवै मानिसहरु शेयर सदस्य रहेको उक्त सहकारीमा ‘परिवर्तनका लागी हाम्रो प्रयास’का साथीहरुको मुख्य लगानी छ ।

यो चाहीँ हामी बसी राखेको सामुदायिक सुचना केन्द्रको भवन हो । यहाँ बस्ती भित्र सम्पन्न भएका र निर्माण कार्य चलिराखेका सम्पूर्ण विकास गतिविधिहरुको व्यवस्थित रुपमा अभिलेख राखिन्छ । बस्ती भित्र जडान गरिएका सिसी क्यामेरा र सामुदायिक वाई फाई को नियन्त्रण पनि यहिबाट हुन्छ । साथै बस्ती भित्र उत्पादन भएका सेवा तथा वस्तुको खरिद बिक्रिको लागी आफ्नो वेभ साइट मार्फत बजार प्रवद्र्धन गर्दछ । साहित्य र विकास सम्बन्धी मासिक पत्रिका प्रकाशन पनि गर्दछ । सुचना केन्द्र सञ्चालनमा ‘परिवर्तनका लागी हाम्रो प्रयास’ को महत्वपुर्ण आर्थिक सहयोग छ ।

ऊ त्यो सुचना केन्द्रको दायाँ पट्टी देखिने मन्दिर नजिकको भवन योगशाला हो । जहाँ हरेक बिहान प्रवचन तथा योगाभ्यास हुन्छ । नजिकैको यो चाहीँ बाल उद्यान हो । यहाँ देखिएको दृश्यबाटै यो कति व्यवस्थित छ भन्ने थाहा हुन्छ ।

छेउपट्टीको यो अग्लो भवन खेलकुद भवन(कभर्ड हल) हो । यहाँ भलिवल, बास्केटबल,व्याड्मिन्टन, टेवल टेनिस जस्ता इन्डोर खेलहरु खेल्न सकिन्छ । यहाँ सञ्चालन हुने भलिवल प्रतियोगिता पश्चिम नेपालकै एक ठुलो प्रतियोगिता मानिन्छ । स्मरणीय कुरा त के भने यहाँका हरेक स्कुले भाईबैनीहरुलाई कराँते तेक्वान्दो , बक्सिङ्ग जस्ता कुनै एक खेल अनिवार्य गरिएको छ ।

यो अतिथि गृह हो । काम विशेषले बस्तीमा  आउने पाहुनाहरुको निशुल्क बसोबासको लागी बनाइएको ।

यो सामुदायिक प्रवर्दन केन्द्रको भवन हो । यसले बस्ती भित्र उत्पादन तथा निर्माण भएका कृषि उपज,पशुजन्य उत्पादन, घरेलु हातहतियार भाँडाकँुडा तथा सेवाको बजार प्रवद्र्धन गर्दछ । स्थानियले बिक्रि गर्न चाहेका हरेक वस्तु तथा सेवा प्रवद्र्धन केन्द्रमा लैजान्छन् र यसले सुचना केन्द्रको वेभसाइट मार्फत त्यस्ता वस्तु तथा सेवाको जानकारी सार्वजनिक गर्दछ ।

यो चाहीँ बस्ती विकास योजना लागु हुनु पूर्वको बस्तीको तस्वीर हो । जहाँ हामी धुलोमा खेलिरहेका केटाकेटीहरु, चौतारीमा गफिदैं गरेका युवाहरु, घाम ताप्दै गफ गरिरहेका महिलाहरु , पिठ्युमा पानीको गाग्रा बोकिरहेकी एक स्कुले बालिका, दुब्ला पातला देखिने बारी जोतिरहेका हिमलाल दाजु , फोहोर ,अव्यवस्थित सडक तथा घरहरु देख्न सक्छौ । तर अहिले बस्तीका हरेक व्यक्तिहरु कुनै न कुनै सिर्जनशिल काममा व्यस्त देखिन्छन् ।  सवै जना ह्रष्टपुष्ट र खुसी देखिन्छन् । चेतनामा आएको परिवर्तनले आज विज्ञान, प्रविधि,राजनीति, अधिकार र कर्तव्यका बारे खुलेर कुरा गर्न सक्दछन् । स्कुले केटाकेटीहरु  निश्चित रुटिनमा चल्दछन् । गेम टाइम र स्कुल टाइम बाहेक अन्य समयमा केटाकेटीहरु बाहिर कमै देखिन्छन् । युवाहरु पनि कुनै न कुनै पेशा व्यवसायमा आवद्ध छन् । वैदेशिक रोजगारबाट फर्किएका एक स्थानिय युवाले सञ्चालन गरेको कृषि फर्म यहाँ नमुना मानिन्छ । हरेक वर्ष यो बस्तीका फरक फरक २० व्यक्तिले ७ दिनको आन्तरिक भ्रमण अनिवार्य गर्नु पर्दछ । जसको लागी सामुदायिक सहकारीले केहि आर्थिक सहयोग प्रदान गर्दछ ।

हेलो, आइ एम संयोग, स्वयम सेवक । हेलो आइ एम प्रोफेसर डाक्टर चाम्स फ्रम जुको युनिभर्सिटी । ओके सर,वेलकम टु यु इन आवर भिलेज । थ्याङ्क्यु ।

एकैछिनको औपचारिकता पछि म मितेरी गाउँ (युनोकी बारु ) का साथीहरुबीचको अन्तरक्रियाको लागी अतिथि गृह तिर लाग्दछु । प्रोफेसर डाक्टर चाम्स लगायतको टिम स्थानीय पुष्पाञ्जली सामुदायिक टेलिभिजनले गर्न लागेको आजको कार्यक्रमको प्रत्यक्ष प्रसारणको लागी त्यतातिर लाग्दछन् ।

नमस्कार , पुष्पाञ्जली सामुदायिक टेलिभिजनको साप्ताहिक प्रस्तुति ‘आशाका कुरा’ कार्यक्रमको प्रतिक्षामा रहनु भएका सम्पुर्ण दर्शक महानुभावहरुलाई । आजको कार्यक्रममा यहाँहरु सवैलाई हार्दिक स्वागत छ , म कार्यक्रम प्रस्तोता युना जि.एम । आज हामी  मुसिकोट नगरपालिका ३, मैदान स्थित बस्ती विकास समितिले बस्ती विकास योजनाको अन्तिम वर्ष र  जनप्रतिनिधिहरुको सुखद कार्यकाल समाप्त हुन लागेको पूर्व सन्ध्यामा आयोजित सम्मान , विदाई तथा विशेष सांस्कृतिक कार्याक्रमको प्रत्यक्ष प्रसारणमा छौँ । औपचारिक कार्यक्रम सुरु हुन अझै केहि समय बाँकी छ । यसैबीच हामी यिनै परिवेशमा रहेर केहि अतिथिहरुसँग कुराकानी गर्नेछौँ । आज हामीसँग हुनु हुन्छ, बस्ती विकास योजना निर्माण समितिका संयोजक सरोज थापा , आदरणीय वडाअध्यक्ष ज्यू, कार्यक्रमका संयोजक जीवन प्रवेश ज्यु, र विशेष अतिथिको रुपमा जुको युनिभर्सिटीका प्राध्यापक डाक्टर चाम्स । यहाँहरु सवैलाई कार्यक्रममा स्वागत छ । नमस्ते , नमस्ते ,नमस्ते ,हेल्लो गुड अफ्टरनुन एभ्रीवोडी,

सरोजजी, बस्ती विकास योजनाको प्रारम्भिक चरणबारे बताईदिनुस न ?

धन्यवाद युना जी, देशमा स्थानीय तहको निर्वाचन घोषणा भएसँगै आम मानिसमा जस्तै हामीमा पनि स्थानिय तहको निर्वाचन सम्पन्न होला÷नहोला , संघीयताको सफल कार्यन्वयन होला÷नहोला अथवा संविधानले परिकल्पना गरे जस्तै काठमाण्डौको सिंहदरवार गाउँगाउँमा पुग्ला÷नपुग्ला भन्ने कौतुहलता र अन्यौलता थियो । जव स्थानिय तहको निर्वाचन सफलता पुर्वक सम्पन्न भयो । वर्षौदेखि जनप्रतिनिधिविहिन भएका स्थानिय तहमा निकै उत्साहका साथ जनप्रतिनिधिहरु निर्वाचित भएर आए । जसले गर्दा जनताहरु स्थिर शान्ति र विकासको लागी केहि आशावादी देखिए । तर एकातिर निर्वाचनमा मतदाता सामु गरेका प्रतिवद्धता र अर्कातिर नयाँ व्यवस्था अनुसार स्थानीय तह सञ्चालन सम्बन्धी विधि , प्रक्रिया , क्षेत्राधिकार र स्पष्ट संरचनाको खाका तयार भई नसकेको चुनौतिपुर्ण अवस्था । यस्तो परिस्थितिमा पनि हाम्रा जनप्रतिनिधीहरुले बढो बुद्धिमत्तापुर्वक बस्तीको एकिकृत विकासको लागी योजनाबद्ध विकासको पहलकदमी लिनु भयो र अन्ततः सफल पनि हुनु भयो ।

निर्वाचित भए लगत्तै जनप्रतिनिधिहरुले आव्हान गरेको आम भेला के को लागी थियो ? र को को सहभागी भएका थिए ?

विकास जनअपेक्षा अनुसार हुनुपर्दछ  र हरेक विकास गतिविधिहरुमा सार्थक, अर्थपुर्ण र सक्रिय जनसहभागिता हुनु पर्दछ  भन्ने जनप्रतिनिधिहरुको बुझाई थियो । त्यसैले  निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिनु र आगामी कार्यक्रमको लागी जनअपेक्षा संकलन गर्नु आम भेलाको मुख्य उद्धेश्य थियो । भेलामा युवा ,विद्यार्थी ,शिक्षक ,कर्मचारी लगायत सवै वर्ग समुदायको उत्साहपुर्ण उपस्थिति थियो । अधिकांश सहभागीहरु आर्थिक,सामाजिक,सांस्कृतिक र वातावरणीय क्षेत्रका विभिन्न समस्याहरुको विकल्प सहितका रचनात्मक कार्यक्रमहरु सहित आएका थिए । लामो समयको सवाल जवाफ पछि सवै क्षेत्रको समानुपातिक एकिकृत विकासको लागी एकिकृत बस्ती विकास योजना तयार गर्ने र त्यसैलाई विकासको मुल मन्त्र , मार्ग दर्शन मानेर अगाडी बढ्नेमा सर्वसम्मतिले निर्णय भयो । म लगायतको टिमले करिव १० दिनमा चरणबद्ध रुपमा ५ वर्ष भित्र बस्ती विकास योजनाका ८० प्रतिशत काम सक्ने गरि आवश्यकताका आधारमा प्राथमिकता पहिचान गरि २० अनुच्छेद ८४ बुँदामा एकिकृत बस्ती विकास योजना तयार गरि वडा समिति समक्ष पेश गरेका थियौं ।

तपाई लगायतको टिमले तयार गरेको योजनाले निर्धारित समयमै आशातित प्रगति हासिल गरेकोमा कस्तो लागी रहेकोछ ?

अवश्य पनि खुसी लागेको छ ।  यस्तो ऐतिहासिक सफलताको लागी वडाध्यक्ष लगायत उहाँको टिमको महत्वपुर्ण भूमिका छ । यस्तो ऐतिहासीक कार्यको संयोजन गर्न जिम्मा दिनु भएकोमा आदरणीय वडाध्याक्ष ज्यु , बस्ती विकास योजना निर्माणमा विभिन्न तह र तप्काबाट प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रचनात्मक सुझाव दिनु हुने शिक्षक कर्मचारी लगायत सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

हामीलाई समय दिनु भएकोमा यहाँलाई धन्यवाद छ । धन्यावाद ।

अध्यक्ष ज्यु, यहाँलाई प्रत्यक्ष प्रसारणमा पुनः स्वागत छ । धन्यवाद ।

निकै अन्यौल र चुनौतीपुर्ण समयमा निर्वाचित भएर पनि छोटै समयमा देखिने गरि काम गर्नु भयो नी ?यो कसरी सम्भव भयो ?

हो हामी निकै कठिन र चुनौतिपुर्ण अवस्थामा निर्वाचित भएर आएका थियौं । एकातिर गाउँ गाँउमा सिहदरबार आएको हल्ला,  अर्कोतिर स्थानीय तह संचालनको विधि, प्रक्रिया, क्षेत्राधिकार र स्पष्ट संरचना तयार भई नसकेको अवस्था । काम गर्न निकै समस्या होला भन्ने लागेको थियो । तर जनअपेक्षा र जनताकै सक्रिय र अर्थपुर्ण सहभागितामा बस्तीको एकिकृत विकास गर्ने उद्धेश्यका साथ बोलाइएको आम भेला नै हाम्रो सेफ ल्याण्डिङ्ग को मुख्य कारण बन्यो । हामीले योजना मै विकासका काम के गर्ने ? कहाँ गर्ने ? कसरी गर्ने ? कसले गर्ने ? किन गर्ने ? जस्ता कुरालाई स्पष्ट रुपमा किटान गरेका थियौ । त्यसैलाई मुल दर्शन मानेर अगाडी बढ्यौं । हाम्रा सामु आगामी पाँच वर्ष पछिको स्पष्ट फिगर तयार भई सकेकोले त्यसैलाई पछ्याउदै गयौँ। सवै आदरणीय बस्तीबासी र दाताहरुको सहयोगले हामी सफल पनि भयौं ।

बस्ती विकास योजनाको कार्यान्वयन कसरी अगााडी बढाउनु भयो ?

हामीले बस्ती विकास योजनामै आगामी पाँच वर्ष भित्र गर्र्ने कामको फेहरिस्त स्पष्ट रुपमा किटान गरेका थियौँ । त्यसैले तिनीहरुको चरणबद्ध कार्यान्वयनको लागी हाम्रो मुख्य ध्यान आर्थिक श्रोत को पहिचान मै थियो । कार्यक्रम अनुसार नै नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार , परिवर्तनका लागी हाम्रो प्रयास संस्था लगायतका केहि गैर सरकारी संस्थाबाट आवश्यक सहयोग जुट्ने सुनिश्चित जस्तै भएपछि बस्ती विकास योजनाको कार्यान्वयनका लागी गठन भएका विभिन्न समिति, उपसमितिका साथीहरुले बढो सक्रिय र जिम्मेवारीका साथ आ–आफ्ना भूमिका निर्वाह गर्नु भयो र हामीले त्यस्ता कामको निरन्तर अनुगमन गरिरह्याँै ।

आर्थिक श्रोत संकलनको लागी ‘परिवर्तनका लागी हाम्रो प्रयास’ संस्थाको नाम लिनु भयो , यो कस्तो संस्था हो ?

हजुर , यो वैदेशिक रोजगारका लागी विभिन्न देशमा कार्यरत स्थानीय भाईबैनीहरुको स्वयम सेवी संस्था हो । यो संस्थाले बस्ती विकास योजनाका विभिन्न सामाजिक विकासका लागी आर्थिक संकलन गरि सहयोग जुटाउँछ ।सुचना केन्द्र , सीप विकास तालिम केन्द्र लगायतका कार्यक्रममा उनीहरुले महत्वपुर्ण आर्थिक सहयोग गरेका छन् ।हाल करीव ५० जना भाईबैनीहरु यसमा आबद्ध छन ।

तपाईहरुले सञ्चालन गरेको खाद्य बैक छ नी ? यो कस्तो बैक हो ?

यो हामीले बस्ती विकास योजनाको पहिलो वर्ष देखिनै सञ्चालन गरेका हौँ । विभिन्न प्राकृतिक प्रकोप ,विपद तथा भैपरी आउने खाद्य संकट र गरिबीका कारण पोषणयुक्त खानाको अभावमा कसैले पनि अकालमा ज्यान नगुमाओस् भनेर यस्तो कार्यक्रम ल्याइएको हो त्यस्ता समस्यामा परेका व्यक्ति तथा परिवारलाई तत्काल पोषणयुक्त खाद्यान्नको प्रबन्ध गर्नु यसको मुख्य काम हो । खुसीको कुरा त, यसै वर्षदेखि हामीले कपडा बैक र विपद कोष कार्यक्रम सुरु गरेका छौँ ।बाढी पहिरो ,आगलागी भूकम्प जस्ता प्राकृतिक प्रकोप र विपदमा परि घरबार विहिन भएका व्यक्ति तथा परिवारलाई खाद्यान्नको साथै तत्काल लत्ता कपडा र आर्थिक सहयोग सहित राहत साम्रगी पु¥याउने काम यिनीहरुले गर्दछन । यी सवै कार्यक्रम सञ्चालनको लागी छुट्टै एउटा विपद व्यवस्थापन समिति गठन गरिएको छ । प्राकृतिक प्रकोप तथा विपदमा परेकाको तत्काल उद्धारको लागी आवश्यक उद्धार सामग्री सहित २५ जनाको तालिम प्राप्त स्वयम सेवक टिम समितिको मातहतमा छन् ।

अध्यक्ष ज्यु , तपाईहरुले आफ्नो कार्यकालमा गरेका सम्झीन लायक कार्यक्रमबारे संक्षिप्तमा बताईदिनु होस न ?

धन्यवाद युना जी , हामीले हाम्रो कार्यकालमा बलबुद्धिले भ्याएसम्मका जनताका सवै आधारभुत आवश्यकता पुरा गर्ने कोसिस गरेका छाँ । शत प्रतिशत सफल त भइएन होला तर पनि हामीले शिक्षा, स्वास्थ्य खानेपानी , सडक, संचार, विद्युत सुरक्षा, वातावरण लगायतका क्षेत्रमा आधारभुत आवश्यकताका काम सहजै अनुभुति हुने गरि गरेका छाँै जस्तो लाग्दछ । यसका अलवा हाम्रो कार्यकालमा स्थापना भएका सामुदायिक सुचना केन्द्र , सिप विकास तालिम केन्द्र , प्रवद्र्धन केन्द्र , योगशाला, बाल उद्यान, पत्रिका प्रकाशन , सार्वजनिक सौचालय, प्रतिक्षालय, अतिथि गृह , कभर्ड हल, अत्याधुनिक लाइब्रेरी , सडकबत्ती, सामुदायिक वाइ फाई , बस्ती भित्र सिसी क्यामेरा जडान लगायतका काम गरेका छौँ । त्यसैगरि प्राविधिक क्षेत्रमा उच्च शिक्षाको लागी छात्रवृत्ति कार्यक्रम, स्थानीय विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन जस्ता कार्यक्रम हाम्रा कार्यकालका सम्झन लायक कामहरु हुन जस्तो लाग्दछ ।

यस्तो ऐतिहासिक सफलताका पछाडी केहि चुनौति तथा समस्याहरु अवश्य थिए होलान ?

लामो गन्तव्यमा निस्केको यात्रीले विभिन्न आरोह अवरोह पार नगरी गन्तव्यमा पुग्न अवश्य सक्दैन । फेरी हिड्ने मानिसलाई ठेस लाग्दछ भन्ने हाम्रो पुरानो कथ्य नै छ । हो, हाम्रा सामु पनि साना ठुला केहि समस्या भनौ या चुनौती आएकै हुन् । ती भैपरी आउने समस्यालाई गौण ठानेर हामी अगाडी बढ्याँै । सुरु सुरुमा केहि दलिय प्रतिरोध र अवरोध देखिए पनि हाम्रो मिसन बारे आम जनताहरु साक्षात्कार भएकोले हाम्रो लागी आर्थिक श्रोत नै चुनौतीको रुपमा देखिएको थियो ।

गर्न खोज्दा खोज्दै पनि गर्न नसकेका कार्यक्रमहरु छन ?

युना जी राम्रो प्रश्न गर्नु भयो । हा,े हामीले केहि थप नयाँ कार्यक्रमहरुको लागी योजना बनाउँदै थियौँ । दुर्भाग्य अव छिट्टै नै हाम्रो ५ वर्षे कार्यकाल सकिएर विदा हँुदैछाँै । खास गरी बस्तीमा कच्चा पदार्थ प्रशोधन केन्द्र , चिस्यान केन्द्र , अनिवार्य स्वास्थ्य तथा पशु विमा कार्यक्रम , असाध्य रोग उपचार सहयोग कोष , कार्वन व्यापारको लागी प्रक्रिया र बस्तीका सवै वर्ग समुदाय शिक्षा र सीपले युक्त भएकोले विभिन्न क्षेत्रमा राखिएको आरक्षण, प्राथमिकता जस्ता कार्यक्रम आवश्यक नरहेको भन्ने सम्बन्धित पक्षको भनाई रहेकोले उक्त कार्याक्रम लाई हटाउने जस्ता कार्यक्रम हामीले चाहेर पनि गर्न सकेनौ । आगामी नेतृत्वले यी र बस्ती विकास योजनाका बाँकी कार्यक्रमलाई महत्वका साथ अगाडी बढाउने कुरामा हामी विश्वस्त छौँ ।

अन्त्यमा, संसार भरबाट प्रत्यक्ष रुपमा हामीलाई हेरिरहनु भएका आम दर्शकलाई के भन्न चाहानु हुन्छ ?

धन्यवाद युना जी, यस्तो ऐतिहासिक सफलतामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न समिति ,उपसमिति का साथीहरु नगर प्रमुख र उहाँको सम्पुर्ण टिम , प्रदेश तथा प्रतिनिधि सभाका माननीय सभासद ज्यू,जिल्ला समन्वय समिति, परिवर्तनकालागी हाम्रो प्रयासका सम्पुर्ण भाईवैनीहरु, विभिन्न गैर सरकारी संस्थाहरु र विकासका हरेक तहमा अहोरात्र खट्ने सफलताका मुख्य भागीदार  सम्पुर्ण जनसमुदाय लाई ह्रदयदेखि नै हार्दिक हार्दिक धन्यवाद दिन चाहान्छु । साथै आगामी नेतृत्वलाई यी र यस्तै कार्यक्रमलाई निरन्तरता दिँदै आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउँन अग्रिम शुभकामना दिन चाहान्छु ।

यसै बीच परिवर्तनका लागी हाम्रो प्रयास अष्ट्रेलियाका संयोजक आनन्द थापाले हामीलाई एउटा सन्देश ट्वीट गर्नु भएको छ । उहा लेख्नुहुन्छ ः बस्ती विकासको यस्तो ऐतिहासिक कार्यमा सहयोगको लागी अवसर दिनु भएकोमा आदरणिय वडाध्याक्ष ज्यु लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदै आजको विशेष कार्याक्रमको सभ्य र भव्य सफलताको लागी हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै यस्तो कार्यक्रम प्रत्यक्ष रुपमा हेर्ने अवसर मिलाईदिनु भएकोमा पुष्पाञ्जली सामुदायक टेलिभिजन र सामुदायिक सुचना केन्द्रका साथीहरुलाई धन्यवाद ।

अन्त्यमा, डाक्टर चाम्स केहि भन्नु छ ?

लामो स्वास लिदै ,थ्याङक्यु । मैले जुको युनिभर्सिटीमा विकास सिद्धान्तमा अध्यापन गर्न थालेको करिव १५ वर्ष भयो होला । यसैबीच मैले विकास सिद्धान्तका विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरुमा पनि थुप्रै भाग लिएको छु  र आजको दिन सायद मेरो जीवनको एक महत्वपुर्ण अविष्मरणिय क्षण हो । म मेरो देश फर्किए पछि युनिभर्सिटीमा विद्यार्थीहरुलाई यस्तो सराहनीय कामको मुक्त कण्ठले वर्णन गर्नेछु ।यस्तो ऐतिहासिक कार्यमा केन्द्र भागमा रहेर आफ्नो पदीय मर्यादा,प्रतिवद्धता,कर्तव्य इमान्दारिताका साथ काम गर्नु हुने आदरणिय जनप्रतिनिधि र स्थानिय बासी बीचको यस्तो सम्बन्ध र सहकार्य वास्तवमै तारिख योग्य छ ।अन्त्यमा यस्तो विशेष कार्यक्रममा सहभागि हुने अवसर मिलाइदिनु भएकोमा मिस्टर उत्तम जि.सी.लाई धन्यवाद दिनु चाहान्छु ।

अन्त्यमा जीवन प्रवेश जी, आजको कार्यक्रम बारे संक्षेपमा बताइदिनु होस् न ?

धन्यवाद युना जी , हामी आज बस्ती विकास योजनाको अन्तिम वर्ष र जनप्रतिनिधिहरुको सुखद कार्यकाल समाप्त हुन लागेको अवसरमा आयोजित सम्मान, विदाई तथा विशेष सांस्कृतिक कार्याक्रममा छँौ । आजको कार्यक्रमको सेड्युल कतिपयले सुचना केन्द्रको वेभपेजबाट जानकारी लिइसक्नु भए होला । आजको दिन हाम्रो बस्तीको लागी एक ऐतिहासीक दिन हो । विभिन्न संघ संस्था, विद्यार्थी र जनसमुदायको उपस्थितिमा आज विहान प्रभात फेरी कार्यक्रम सम्पन्न भयो । त्यसपछि लगत्तै बस्ती विकास योजनाको उपलब्धी र भावी रणनीतिका बारेमा एक सर्वपक्षीय समिक्षा गोष्ठी सम्पन्न भयो भने साँझ करिव ६ बजे तिर अतिथि गृहमा मितेरी गाउँ युनोकी बारु र हाम्रा स्कुले विद्यार्थीहरु बीचको एक अर्को देशको आर्थिक सामाजिक सांस्कृतिक वातावरणीय क्षेत्रको अवस्था र विकासका बारे अन्तरक्रिया सम्पन्न भएको छ  । र अव हामीसँग रात्रीकालिन कार्यक्रम मात्र बाँकी छन । अवको बसाईमा औपचारीक कार्यक्रम उद्धघाटन सँगै स्थानीय खेलाडीहरुले केहि खेल कौशलका प्रस्तुतिहरु प्रदर्शन गर्नेछन, त्यसपछि जनप्रतिनिधिहरुलाई सम्मान तथा विदाई कार्यक्रम हुनेछ । केहि मन्तव्यका कार्यक्रम, त्यसपछि अतिथिहरुलाई मायाको चिनो प्रदान गरिनेछ र औपचारिक कार्यक्रमको समापन गरिनेछ । त्यसपछि करिव १० बजे सम्म विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।नेपाली र जापानिज कलाकारहरुले आआफ्ना मौलिक सांस्कृतिक कार्यक्रमहरु पालैपालो प्रस्तुत गर्ने छन् । त्यस पछि जनप्रतिनिधिहरु तथा अतिथिहरुको लागी आयोजना गरिएको रात्री भोज हुनेछ । र आजको ऐतिहासिक दिनका सम्पुर्ण कार्यक्रम समापन हुनेछन् ।

अवको केहि छिनमा हाम्रो आजको विशेष कार्यक्रम औपचारीक रुपमा सुरु हुदैछ । कृपया केहि छिन धैर्य गर्नुहोला ।होस्टले कार्यक्रम सुरु हुन लागेको जानकारी गराएपछि सवैको ध्यान मञ्चतिर तानिन्छ ।

सामुदायिक सुचना केन्द्रको ठिक अघिल्लितिर बनाइएको मञ्च निकै आकर्षक देखिन्छ ।रात्रीकालिन  विशेष कार्यक्रम भएकोले साउण्ड सिस्टम र लाइटिङ निकै चुस्त बनाइएको छ । चारैतिर ध्वजा पताकाले सिंगारिएको ,ठाउँठाउँमा राखिएका प्रवेश द्धार , कार्यक्रममा विभिन्न सहयोग गर्ने दाताहरुको विज्ञापन व्यानरहरु रात्रीकालिन उज्यालोमा निकै जीवन्त देखिएका छन् । स्वयम सेवकहरु उपस्थित जनसमुदायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लागी परेका छन् । पृष्ठभूमिमा घरी नेपाली राष्ट्रिय गित त घरी जापानिज राष्ट्रिय गान किमियागो का सुमधुर ध्वनि गुञ्जिरहेका छन । प्रस्तुति दिन नेपाली र जापानीज कलाकारहरु आ–आफ्नै मौलिक पोशाकमा सजिएर प्रफुल्ल मुद्रामा यताउता गरिराखेका छन् । केहि स्कुले भाईबैनीहरु जापानिज पोशाक युकाता लगाएका कलाकारसँग सेल्फि खिच्न व्यस्त देखिन्छन ।परिवर्तका लागी हाम्रो प्रयासका साथीहरु सुचना केन्द्रको प्राङगणमा राखिएको ठुलो व्यानरमा लाइभ आउँदैछन । जसको चाँजोपाँजो मिलाउन केहि साथीहरु व्यस्त देखिन्छन् । उपस्थित जनसमुदायहरु पनि आजको ऐतिहासिक कार्यक्रमहरु हेर्न निकै उत्साहित र आतुर देखिन्छन् ।

रात्रीकालिन कार्यक्रम भएकोले सुरक्षा व्यवस्था मजबुत बनाउन नगर प्रमुखले निर्देशन दिनु भएको छ । नगर प्रहरी प्रमुख स्वयम कार्यक्रममा उपस्थित हुुनुहुन्छ ।कार्यक्रमका अतिथिहरु आउने क्रम जारी छ । यति नै बेला हामीले पृष्ठभूमीमा मौलिक पञ्जेबाजाको सुमधुर ध्वनि बजिरहेको सुन्न सक्छौँ । सायद कार्यक्रम स्थलमा प्रमुख अतिथि आदरणिय नगर प्रमुखको आगमन भएको छ  । अतिथि सत्कारका साथीहरु हातमा अविर र फूल माला लिएर मन्द मुस्कानका साथ पर्खिरहनु भएको छ ।

कार्यक्रम सुरु हुनै लागेको थियो । झल्यास्स ब्युझिएँ । अहो ! कस्तो सपना देखिएछ । दिनभर त्यहि सपनाले पछ्याइरह्यो । हुन पनि सवै टोल गाउँमा आफ्नो क्षेत्रको एकिकृत विकासको लागी यस्तै बस्ती विकास योजना बनाएर क्रमिक विकासको थालनी गर्ने हो भने परिवर्तन हामीबाट कति नै टाढा छ र ।

फेरि अहिलेका अधिकार सम्पन्न जनप्रतिनिधीहरुले यस्तै जनअपेक्षा र सक्रिय जनसहभागिता हुने खालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा कार्यक्रम गर्ने संस्कारको विकास गर्ने हो भने एकातिर तथास्तु शैलीमा वितरण हुने सरकारी बजेटको दुरुपयोग नियन्त्रण हुने र अर्कोतिर जनप्रतिनिधि भन्ने वित्तिकै गर्वले ढुक्क छाति चौडा हुने अवस्था आउँथ्यो की ? धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!