Saturday, October 1

अब २०२१ सेयर बजारको ऐतिहासिक वर्ष : २०२० मा के–के भयो ?

इशारा कोइराला

काठमाडौं : समग्रमा सन् २०२० नेपाली पुँजी बजारका लागि राम्रो सावित भएको छ । नेप्से सन् २०२० को पहिलो दिन ११६९.५ विन्दुमा बन्द भएको थियो । सन् २०२० को अन्तिम दिन नेप्से सूचक इतिहासकै उच्च बिन्दु २०८७.२७ मा बन्द भएको छ । वर्षको सुरु र अन्तिम दिनको क्लोजिङलाई आधार मान्दा नेप्से सूचक १ वर्षमा ७८.४८% ले बढेको छ । सन् २०२० मा विश्व कोरोना भाइरस महामारीको प्रभावमा परेका बेला पुँजी बजारले भने हालसम्मका सबै रेकर्ड तोड्न सफल भएको छ ।

वर्षको करिब अन्तिम समय नेप्सेले कारोबार रकमका साथै परिसूचकमा पनि रकर्ड ब्रेक गर्यो । वर्षको अन्तिम दिन नेप्से परिसूक हालसम्मकै सर्वाधिक २ हजार ८७ को विन्दुमा गएर अडिएको छ । सूचक अझै माथि जाने बजारका जानकारहरुले बताएका छन् । यही वर्ष केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्याएको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । यसैगरी, १८० दिनको औसत धितो मूल्यांकन अवधिलाई  घटाएर १२० दिनमा झारिएको छ । यो सेयर बजारको लागि सकारात्मक पाटो थियो ।

 

त्यस्तै, अनलाइन कारोबार प्रणालीमा सुधार आएको छ भने अनलाइन प्रयोगकर्ताको संख्या पनि यो वर्ष ह्वातै बढेको छ । यसले सन् २०२० मा नेपालको पुँजी बजारले प्रविधिमा फड्को मर्यो भन्न सकिन्छ । तथापि, यसको सुधार र विस्तारमा भने अझै जोड दिन आवश्यक छ । यता, वर्षको अन्तिम समयमा धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएर लगानीकर्तालाई ठूलो राहत दिएको छ । यो बजारका लागि झनै सकारात्मक हो ।
साथै, वतर्मान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारको सुधार र विस्तारमा जोड दिएका छन् । यसले लगानीकर्ताको मनोबल उच्च भएको छ । बैंकको ब्याजदर निकै घटेको छ । यसले बजार बढाउन टेवा पुगेको छ । यसको अलावा नेप्सेले वर्षको अन्तमा तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै एपीआई पोलिसी कार्यान्वयनमा ल्याएको छ । यो अर्को सकारात्मक पाटो हो ।

तथ्यांक निर्वाधरुपमा प्रयोग गर्नका लागि यो पनि राम्रो पक्ष हो । किन भने यसअघि संस्थागत लगानीकर्ता, सञ्चार माध्यमलगायतलाई तथ्यांक प्रयोग गर्नका लागि निश्चित व्यवस्था थिएन । तथापि, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण मुलुकको समग्र क्षेत्र प्रभावित भयो । यसबाट नेपालको पुँजी बजार पनि अछुतो भने रहेन ।

फलस्वरुपः करिब ३ महिना सेयर बजार बन्द भयो । यो नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा लामो बन्द थियो । तर यो घटना बाहेक सन् २०२० सँग नेपालको पुँजी बजारले गुनासो गर्ने ठाउँ खासै दैखिँदैन । समग्रमा सन् २०२० नेपालको पुँजी बजारका लागि निकै राम्रो सावित भएको छ । सन् २०२१ मा सेयर बजार कता जाला ? बढ्ने आधार के ? हेरौं के भन्छन् लगानीकर्ता :

२०२१ मा अझै सेयर बजार माथि जान्छ, यी हुन् आधार 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको स्थिति छ । यो अवस्था अझै लामो समयसम्म कायम हुने आँकलन भएको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले सेयर बजारका लगानीकर्तालाई सहज तरिकाले कर्जा प्रवाह गर्दै आएका छन् । यसले सेयर बजारलाई अझै सकारात्मक गतिमा अगाडि बढ्न सहयोग पुर्याउने लगानीकर्ताको अपेक्षा छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सन् २०२१ मा सेयर बजार बढ्ने प्रसस्त आधारहरु रहेको बताउँछन् । मुख्य आधार भनेको कर्जाको ब्याजदर घट्दो क्रममा रहनु उनको भनाई छ । उनले भने, ‘अहिले अधिक तरलताको अवस्था  छ । त्यसैले बैंकको ब्याजदर घट्दो थप क्रममा रहेको छ । यसले अझै बजार माथि लैजान सहयोग पुर्याउछ ।’ ब्रोकर कमिसन घटेकाले पनि यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने उनको धारणा छ । तथापि, लगानीकर्ताको माग अनुसार ब्रोकर कमिसन नघटेको उनले बताए ।

पछिल्लो समय अर्थमन्त्री विष्णुप्रसाद पौडेल सेयर बजारमैत्री बनिदिँदा लगानीकर्ताको मनोबल उच्च भएको उनले बताए । नियामक निकाय नेपाल राष्ट्र बैंक, नेप्से, सेबोनले बजार सुधारका लागि काम गरिरहेकाले पनि त्यसको सकारात्मक प्रभाव सन् २०२१ मा पर्ने उनको धारणा छ ।

अहिले अन्य क्षेत्रको लगानीको स्रोत पनि सेयर बजारमा आएकाले बजार अझै बढ्ने उनको दाबी छ । अनलाइन कारोबार प्रणालीले पनि सेयर करोबार रकमका साथै परिसूचक बढाउन सहयोग पुर्याएको छ । यद्दपि, बजार सुधारका लागि नियामकले अझै धेरै काम गर्न बाँकी रहेको प्रति उनले सचेत गराएका छन् ।

यता, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि २०२१ मा सेयर बजार बढ्ने प्रसस्त आधारहरु रहेको बताउँछिन् । बजारमा प्रयाप्त मात्रामा तरलता रहेकाले बैंक ब्याजदर घट्दो क्रममा रहनु पुँजी बजारका लागि सकारात्मक भएको उनले बताइन् । ब्रोकर कमिसन घट्नु, मार्जिन कारोबारको सीमा बढ्नुले अगामी वर्ष पुँजी बजारका लागि थप राम्रो आधार हुने उनको धारणा छ ।

नयाँ वर्षमा नियामकले गर्नुपर्ने काम 

पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउने, नयाँ स्टक एक्सचेन्ज सञ्चालन, कमोडिटी एक्चेन्ज कम्पनीलाई लाइसेन्स दिने, बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरहरुको क्षमता विस्तारका लागि थप काम गर्न दिने, उपत्यका बाहिर सहज ढंगले ब्रोकरहरुलाई शाखा विस्तार गर्न दिने लगायतका महत्वपूर्ण काम गर्नुपर्नेछ । यसैगरी, ब्रोकरहरुले डिलरसीप, पोर्टफोलियो व्यवस्थापन, एड्भाइजरी लगायतका सेवा मागिरहेका छन् ।
नागरिक स्टक डिलरले पनि जतिसक्दो छिटो काम सुरु गर्नुपर्नेछ । यी कार्यहरु द्रुत गतिमा अघि बढ्न सकेमा सन् २०२१ मा नेपाली पुँजी बजारले थप फड्को मार्ने देखिन्छ । पुँजी बजारका लागि सन् २०२१ एतिहासिक वर्ष साबित हुने धेरैको विश्लेषण रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!